परिवारलाई थुनेर नगरपालिकामै डकैती, प्रहरीलाई चुनौती
![परिवारलाई थुनेर नगरपालिकामै डकैती, प्रहरीलाई चुनौती](https://annapurnapost.prixacdn.net/media/albums/Loot_20180909125953_EYGYXWZyPX.jpg)
राजविराज : प्रहरीले चाडपर्वका बेला विशेष योजनाका साथ जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरिरहेकै बेला आइतबार हतियारधारी समूहले डकैती गरेका छन् ।
नकाव लगाएर पाँच–सातजनाको समूहमा आएका हतियारधारीले खड्क नगरपालिका–७ कल्याणपुर बस्ने सुरतलाल साहको परिवारलाई नियन्त्रणमा लिई लुटपाट गरेको सप्तरी प्रहरीले जनाएको छ ।
लुटपाटका क्रममा डाँकाहरुले साह र उनका छोरा पुरुषोत्तम साहलाई कुटपिट गरी घाइते बनाएका छन् । उनीहरु बन्दुक पडकाउँदै फरार भएको प्रहरी निरीक्षक कमलमणि भट्टराईले बताए ।
डाँकाहरुले साहको घरबाट तीन तोला सुनको गहना, साढे एक किलो चाँदीका गहना र नगद १० हजार गरी करिब दुई लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेको साहले बताए ।
लुटपाटमा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक भट्टराईले बताए । दशैं नजिकिएसँगै लुटपाट र चोरीको घटना तीव्र भएको छ । चोर र लुटेरा समूहबाट नगद, गरगहना, मोटरसाइकल, भैंसी, खसीलगायतको चोरी र लुटपाटमा बृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)