सामुदायिक विद्यालयबारे चिन्ता
भक्तपुर : २०७२ सालको भूकम्पमा धेरै क्षति भोगेका सामुदायिक विद्यालय अझै सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
पुनर्निर्माण छिटो सम्पन्न गर्ने नाममा लापरवाहीपूर्ण ढंगले विद्यालय बनेको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् । विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरद्वारा आयोजित स्थानीय तहमा उत्थानशीलताका लागि लगानी विषयक अन्तरसंवादका सहभागीले विद्यालय सुरक्षित नभएसम्म हाम्रो नयाँ पुस्ता असुरक्षित हुनेमा जोड दिएका छन् ।
भूकम्पले ढलेका सबै विद्यालय पुनर्निर्माण हुन नसकेको अवस्थामा करोडौं रुपैयाँ खर्चेर बनाइएका नयाँ संरचनासमेत भूकम्प प्रतिरोधी नहुनु दुर्भाग्य भएको उनीहरुको भनाइ थियो । कार्यक्रममा इकाईका प्रमुख हरि दाहालले स्थानीय तह एवं समुदायले अपनत्व नलिएसम्म पुनर्निर्माण भूकम्प प्रतिरोधी नहुने बिचार राखे ।
‘भूकम्पले ढलेका सबै विद्यालय बन्न सकेका छैनन्’, दाहालले भने, ‘बनिरहेका भवनलाई पनि छिटो सकाउने नाउँमा कमजोर बनाउने काम भइरहेको छ ।’ उनले छिटो पुनर्निर्माण गर्ने भन्दा पनि बलियो एवं भूकम्प प्रतिरोधी हुनुपर्नेमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
२०७२ साल वैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पले यहाँका ६२ वटा सामुदायिक विद्यालयमा बढी क्षति पुगेको थियो । यी विद्यालयमध्ये ३० वटा विद्यालयमा पुनर्निर्माण जस्ता कुनै पनि कार्य हुन सकेको छैन । पुनर्निर्माण भइरहेका ३२ विद्यालयमध्ये करिब एक दर्जनमात्रै सम्पन्न भएको इकाईले जनाएको छ ।