स्वधर्मको जगेर्ना गरौं
जब सत्कर्मबाट विमुख भइन्छ, तब भ्रमको जालोले सत्य र निष्ठाको मार्ग छोपिदिन्छ। भ्रमबाट मुक्त भएपछि मात्र मानिसको नियत स्वच्छ एवं सफा रहन्छ। बूढापाकाले धेरै अनुभव बटुलेर अर्ती दिने गर्छन्, ‘स्वधर्म नछाड्नु, सत्कर्म गर्नु।’ हाम्रो संस्कृति वा सनातन धर्ममा कुनै त्रुटि भए त्यसमा परिमार्जन हुनुपर्छ। यसको अर्थ मूल सभ्यता नै त्याग्नुपर्छ भन्ने हँदैन। हिन्दुहरूले दसैं हर्षाेउल्लासका साथ मनाउने प्रचलन परापूर्वदेखि रहेको छ। अधर्मी, पापीको पराजय र असत्यमाथि सत्यको विजय यही वास्तविकतालाई आत्मसात गर्ने मूल सन्देश हाम्रा चाडपर्वहरूले दिएका छन्।
पूर्वीय वैदिक मान्यताअनुसार जुनसुकै क्षेत्रबाट समाज र राष्ट्रका लागि योगदान गरेको छ भने उनीहरूलाई समाजको नजरमा अग्रभागमा राखिनुपर्छ। त्यहींबाट उच्चस्तरको व्यक्तित्व निर्माण हुने हुँदा राजनीतिले उनीहरूको भूमिका खोजको हुन्छ। यहाँ त्यसैलाई विकृत तुल्याउन लागेकाले यसो हुन सकिरहेको छैन। सत्कर्म अँगाली सत्मार्गतर्फ अग्रसर हुँदा साम्प्रदायिक एवं ब्राह्मणवादको पगरी आइलाग्छ। आधुनिक युगको दोबाटोमा आइपुग्दा भ्रमको जालोले छोप्ने प्रयत्न अझ हुँदैछ। संसारले मानिसको क्षमता र विद्वतालाई उपयोग गरी निर्माणकार्यमा अब्बल दर्जा हासिल गरेको छ। यहाँ भने हाम्रा ऐतिहासिक धरोहर दिनानुदिन नष्ट पारिन्छ। जातीय क्षेत्रीय विभेद कोरिएको छ। त्यो पनि टाठाबाठाले उकासेको भरमा।
नेपाल प्राचीनकालदेखि वैदिक सनातन धर्म र संस्कृतिको मान्यता स्थापित भएको मुलुक हो। यहाँ गोपाल, लिच्छवी, मल्ल, किराँतवंशी आदिले शासन सत्ता सम्हाल्दै आए। आर्य-अनार्य, चुच्चे, नेप्टे जसको सत्तामा हैकम हुँदा पनि जातीय क्षेत्रीय कटुता कहिल्यै भएन। हिन्दु संस्कृतिमा बाहिरियाले आक्रमण गर्दा सबै नेपाली एक ढिक्का भई सामना गरेको उदाहरण इतिहासले सिद्ध गरेको छ। यिनै प्रमाणित तत्थबाट प्रभावित भएर नै क्रिस्चियन धर्मगुरुहरूले पनि हिन्दु धर्मलाई करोडौं वर्ष पुरानो धर्मका रूपमा स्विकारेका छन्।
निहित स्वार्थका लागि समाज दूषित बनाइने प्रयास विगतमा समेत केही स्वार्थी व्यक्ति र समूहबाट नभएको होइन। भ्रमको जालो च्यातेर अघि बढ्ने नेपाली अठोटले इतिहासको गर्भमा तिनीहरू विलिन हुन पुगे। शासक अहंकारी भयो भने जनचेतना अझ मुखरित हुन्छ। मुर्खले ज्ञानीलाई सधैं बसमा राख्न सक्दैन। जनता ज्ञानी हुन्छन्। प्रसिद्ध दार्शनिक क्योटोले भनेका छन्, ‘मूर्खले ज्ञानीबाट जति सिक्छन, त्योभन्दा अधिक ज्ञानीले मूर्खबाट सिक्ने अवसर प्राप्त गर्छन्।’ तसर्थ लोकतन्त्र प्राप्तिपश्चात् धेरै गुमाउनुपरे पनि केही राम्रो पक्ष आर्जन गर्न मुलुक सफल भएको छ। नागरिकले मूर्खहरूको व्यवहारबाट अनुभव बटुलेका छन्। धेरै बुझ्ने सिक्ने अवसर पाएका छन्। झूट र असत्य दिनानुदिन दुर्वल हुँदैछ। सत्यको दियो टाढा भए पनि झल्मलाएको अनुभूत हुँदैछ।
हठी चरित्र र अधर्मको बाटो समाउनाले राजसंस्था चाइँचुइँसम्म नभई कतिबेला हावाले उडायो पत्तै भएन। मिथ्यामा रमाएर लोकतन्त्रको महिमा गाउँदागाउँदै कांग्रेस पार्टी पनि रित्तिएको भेउ पाइएन। अहिलेको सत्तासीनहरूमा फेरि चर्काे उद्दण्डता व्याप्त छ। यही चरित्र र व्यवहारले उनीहरूको पनि दुर्दिन सुरु भएको हो कि ? भन्न कर लाग्छ।
जसरी धर्म र संस्कृतिप्रति जनताको मोह र सामीप्य हुन्छ, त्यसरी नै राजनीतिले जनआकर्षण गर्न सक्यो भने विकास र समृद्धिको ढोका स्वतः खुल्न जान्छ। राजनीति सत्ता मात्र होइन, सेवामा समर्पित हुनुपर्छ। सत्ता सर्वाेपरि नभएर सिद्धान्त आदर्श एवं सोअनुसारको व्यवहार देखाउन सक्नुपर्छ। संविधानमा लेख्दैमा लोकतान्त्रिक भयो भन्न मिल्दैन। व्यवहारले पुष्टि हुनुपर्छ। जननिर्वाचित शासक पनि निरंकुश भएका कयौं उदाहरण विश्व राजनीतिले भोगिसकेको छ। अस्ट्रेलियाको संविधानमा त्यति अधिकार लेखिएको छैन, जति नेपालको संविधानमा मौलिक अधिकारको व्यवस्था छ। यथार्थमा अस्ट्रेलियाका जनताले उपभोग गरेको अधिकार अबको पचास वर्षमा पनि नेपालीले प्राप्त गर्न सक्ने अवस्था देखिँदैन। त्यसैले लेख्दैमा र बोल्दैमा सर्वगुणसम्पन्न भन्नु अर्काे भ्रमयुक्त टिप्पणी हुनेछ।
हामीले मानिआएका चाडपर्व हाम्रा आदर्श हुन्। यसले मानिसमा उत्साह भरेको हुन्छ। खराब र असलको पहिचान छुट्ट्याइदिन्छ। महान सुयोग्य र कर्मशील बन्ने इच्छा राख्यौं भने सफलता अवश्य भेटिनेछ। प्रयत्न जारी राख्नुपर्छ। उन्नतिको मार्गमा बाधक बन्ने हालको पद्धतिलाई हाम्रो मौलिक पद्धतिमा रूपान्तरण गर्न सक्दा मात्र जनताले खोजेको लोकतन्त्रले पूर्णता पाउनेछ। जब मानवको सृष्टि भयो, त्यहाँ भाषाको उत्पत्ति भयो। क्रमशः ज्ञान सीपको विकास हुन थाल्यो। धर्मको उदय भयो। राम्रो-नराम्रो छुट्ट्याउने सामथ्र्य प्राप्त भयो। सभ्यताको स्वरूप पनि देखा पर्यो। त्यही बेलादेखि हिमालयको काखमा अवस्थित ऋषिमुनीहरूको तपोभूमि यस माटोको चिनारी भएको हो। हामीले अपनाएको धर्म र संस्कृति सबैभन्दा प्राचीन सभ्यता भएको प्रमाण वेदमा समेत उल्लेख छ।
अहंकारीहरू सत्ता र शक्तिको मदमा आफूलाई समेत बिर्सने गर्छन्। ऋग्वेदले भनेको छ, ‘पाएको अवसर गुमाउने र कुकर्ममा लाग्नेलाई ऐश्वर्य प्राप्त हुँदैन।’ रावण, कंस, जरासन्ध, शिशुपाल, दुर्योधन आदिले शासन सत्ताको अवसरलाई दुरुपयोग गरे। त्यसैले उनीहरू नास पनि भए। धर्मको अर्थ अनुशासनमा रहेर कर्तव्य पालन गर्नु भन्ने हो। कर्तव्यबाट च्युत हुनेले धर्मको रक्षा गर्न सक्दैन। यो नास हुने मानव शरीरको लोभले आसक्ति उत्पन्न हुन्छ। कहिल्यै नास नहुने आत्मालाई बुझ्ने सामान्य चेष्टासम्म गरिँदैन। यही दृष्टि दोषले गर्दा सत्यमाथि असत्यले रजाइँ गर्छ।
अहिले नेपाली समाजमा देखिएको विकृति यस्तै अहंकारयुक्त दृष्टिदोषको उपज हो। हाम्रो संस्कृतिले यिनै विकृति र विसंगतिविरुद्ध उभिन सिकाएको छ। विजयादशमीको महान् पर्वलाई पाप र अधर्मको पराजय, असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ। मूल सभ्यता र संस्कृतिको जगेर्ना गर्दै यो राष्ट्रलाई अस्थिर राख्न चाहनेको पर्दा उघार्नु जरुरी छ।
शासनसत्ता सञ्चालन गर्नेहरू विवेकशून्य भइदिँदा नागरिकले कष्ट बेहोर्नुपरेको छ। अबका दिनमा अन्तरमनको चक्षु खोल्ने काम गरौं। आफ्ना र पराय चिन्न सकौं। धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा कटिबद्ध बनौं। भ्रमको जालो तोडेर सत्कर्मतर्फ उन्मुख हुँदै जाऔं। नवदुर्गा भवानीले हामी सबैमा सद्बुद्धि प्रदान गरून्।