सरकारले अर्को वर्षदेखि जनअपेक्षाअनुरुप काम गर्नेछ : मन्त्री अर्याल
स्याङ्जा : भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संघीयता कार्यान्वयनसँगैे अधिकार व्यवस्थापनमा जटिलता देखिएको बताइन् ।
पुतलीबजार नगरपालिकाद्धारा शनिबार आयोजित दसैं, तिहार, छठ र नेपाल सम्वत्को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले स्थानीय तह, प्रदेश र संघमा एकल र संयुक्त अधिकार व्यवस्थापन कस्तो रहनेमा जटिलता देखिएको बताएकी हुन् ।
मन्त्री अर्यालले स्थानीय तह सबैभन्दा बलियो बन्ने पनि बताइन् । ‘बर्तमान अवस्थामा संघ सबैभन्दा बलियो देखिएता पनि संघियताको कार्यान्वयनसँगै संघ भन्दा प्रदेश र प्रदेश भन्दा स्थानीय तह बलियो हुनेछ ।’
तीन तहका सरकार व्यवस्थापनमा जुटेका कारण यस वर्ष जनअपेक्षा अनुरुपका काम नदेखिएको बताउँदै आउँदो वर्षदेखि जनअपेक्षा अनुरुप र चुनावका बेला घोषणा गरिएका विकास निर्माणले तिव्रता पाउनेमा मन्त्री अर्यालले जोड दिइन् ।
साथै समृद्ध मुलुक खुसी नेपाली बन्नका लागि प्रतिपक्षको पनि सकारात्मक र सृजनात्मक सहयोग चाहिने अर्यालको भनाइ थियो ।