नेपालीको चाडमा 'कुटनीतिक शुभकामना'
काठमाडौं : गतवर्ष अमेरिकी राजदूत अलैना बी टेप्लीट्जले निवासमा दसैंको टीका लगाइन्। उनले दूतावासको फेसबुक पेजमा जमरा र दसैंको टीका लगाएको तस्बिर सार्वजनिक गरिन्। रातो टीका र पहेलो जमराको लगाएको उनको तस्बिर अझै ताजा छ। केही दिनअघि सामाजिक सञ्जालले उनको त्यो दृष्य स्मरण गरायो। अहिले उनी आफ्नो नयाँ जिम्मेवारीका लागि नेपालबाट फर्किसकेकी छन्।
नेपाली कर्मचारीसहित अमेरिकी राजदूतले आफ्ना शुभचिन्तकसँग शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा रमाएकी थिइन। यो वर्ष पनि दूतावासलाई दसैंले छोइसकेको छ। दूतावासमा विविध कार्यक्रम भइरहेका छन्। उनले मात्र होइन यसअघिका अमेरिकी राजदूतले पनि नेपाली चाडपर्वमा शुभकामना छुटाउँदैनथे। शुभकामना आदनप्रदान गर्थे।
अमेरिकी दूतवासमा मात्र होइन काठमाडौंमा रहेका अन्य मुलुकका दूतावासले पनि नेपाली चाडपर्वलाई नजिकबाट नियाल्ने तथा कतिपयले आफ्नो मुलुकका कार्यकारीको सन्देश समेत उपलब्ध गराउने गर्छन्। केही वर्षयता देखि अमेरिकीले नेपाली नयाँ वर्ष र अन्य ठूला चाडपर्वमा शुभकामना दिने गरेका छन्। राजदरबारको उपस्थिति रहँदासम्म यस्तो कार्यक्रम आदनप्रदान दरबारमाझ हुने गरेको परराष्ट्र अधिकारी स्मरण गर्छन्। विदेशीका सन्देश दरबारले बाहिर ल्याए मात्र पत्रिकामा आउथ्यो। तर अहिले प्रविधिका कारण तुरून्तै सार्वजनिक हुने गरेका छन्।
विशेष गरी सम्बन्धित मुलुकले नै सामाजिक सञ्जालको उपयोग गर्दै तत्काल बाहिर ल्याउने गरेको छ। अमेरिकीसँगै भारतीय, बेलायती, चिनियाँ, पाकिस्तानी, रसियन, फ्रेन्चलगायतले पनि दूतवासमा शुभकामना आदनप्रदान गर्ने गरेका छन्। भारतीय, चिनियाँ, रसियन, फ्रान्सेली, पाकिस्तान, कतार र बेलायती दूतावासले नेपालीको चाडलाई कुनै न कुनै रूपमा स्मरण गरिरहेका हुन्छन। तीमध्ये अधिकांशले स्तरअनुरुपको ह्विस्की, वाइन, मिठाइ र नट्स समेत निकटस्थ तथा राजनीतिक नेतृत्वलाई दिने गरेका छन्। आर्कषक प्याकिङमा शुभकामना कार्डसहित त्यस्तो उपहार पठाउने प्रचलन छ। मुस्लिम धर्मावलम्बी मुलुकले नट्स र मिठाइ, पश्चिमा मुलुक र भारतीयले ह्विस्की वितरण गर्ने गरेका छन्।
परराष्ट्र मन्त्रालयका कन्सुलर विभागका एक अधिकारीले भने, ‘नेपालस्थित कूटनीतिक नियोगले आफ्ना शुभचिन्तकलाई दसैंमा उपहारका लागि उपलब्ध गराउन भन्दै विविध ब्राण्डका ह्विस्की, वाइनको माग बढाउने गर्छन्।’ दूतावासहरूले जथाभावी बेच विखनसमेत गर्न थालेपछि सरकारले कोटा नै तोकेको थियो। तर चाडपर्वको समयमा एक सय भन्दा बढी गुणा कोटा बढाएर यस्ता मदिरा मगाउने गरिएको छ। अधिकांश मदिरा बाँड्ने वा दूतावासका पार्टीमा उपयोग गरिएको छ। तथ्यांक अनुसार सबैभन्दा बढी भारतीय र त्यसपछि रसियनले ह्विस्की बाँड्ने गरेको छ। त्यसपछि चिनियाँ अनि अन्य दूतवास पनि क्रमैसँग आउँछन्। पछिल्लो समय पाकिस्तानी, कतारीले उपहार उपलब्ध गराउन थालेका छन्। उनीहरूले मिठाइ र नट्स उपलब्ध गराउँछन्।
संसद् सचिवालयमा उपहार लिएर पुगेकाले एक दूतावासका कर्मचारीले भने, ‘हामीले दसैंमा मित्रहरूलाई स्मरण गर्ने गरेका छौं।’ भारतीय र रसियन नम्बर प्लेट भएका गाडीमा उनीहरू उत्रिएर उक्त उपहार सम्बन्धित ब्यक्तिकोमा पुगेका थिए। यस्तै कतिपयले भेटेर वा दूतावासमा बोलाएर यस्तो उपहार दिने गरेका छन्। तर, यो परम्परामा कमी आउँदै दूतावास परिसरमै दसैं मनाउने चलन बढेको छ। प्रि दसैंका रूपमा दसैं आउनु अघि नै रमाइलो गर्ने गरेका छन्।
सूचना प्रविधिसँगै शैलीमा परिवर्तन आएको छ। चाडपर्व सधैं झैं आफ्नै तिथिमा हुन्छ। तर, सूचना प्रविधिको बढ्दो उपयोगले त्यसमा फरक पन ल्याएको छ। विदेश या नेपाल जहाँ रहौं सबैले दसैंलाई स्मरण गर्छन्। सबै जातिको आआफ्नै धर्म र चाडपर्व रहे पनि दसैंलाई सबै उत्तिकै सम्मान गर्छन्। प्रविधिले मानव जीवनमा ल्याएको उथलपुथलको प्रभाव यस्ता चाडपर्वमा झल्किन्छ। ठूला चाडपर्वमा हातले लेखेको पोस्टकार्ड दिने चलन थियो। दरबारमा त नेपाली कागजमा निभ भाँचेको कलमले लेखेर छापाका अक्षर बनाएर शुभकामना पठाउने चलन थियो। दरबारबाट पनि त्यस्तै शुभकामना आउने गरेको स्मरण दूतावास अधिकारीहरू गर्छन्।
नेपालस्थित कूटनीतिक नियोगका अधिकारीले दसैं तथा नयाँ वर्षमा भेटेर, पोस्टकार्ड तथा फूलको गुच्छा साटासाट गर्ने चलनमा पनि सूचनाप्रविधिले बदली दिएको छ। यसमा आएको परिवर्तन बारे दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा.निश्चलनाथ पाण्डे भन्छन्, ‘प्रविधिले परिवर्तन ल्याएको छ। तर पनि नेपाली संस्कृतिलाई सबैले मन पराएर यसमा उनीहरू रम्नु सांस्कृतिक कूटनीति पनि हो।’
यसलाई उनले सफ्ट पावरको रुपमा बुझ्न सकिने बताए। परिर्वतन कति छिट्टै आयो ! दशै शुभकमना भेटेर होइन अहिले मोवाइलको म्यासेजमा होइन फेसबुकको म्यसेन्जर, ट्विटरको इनबक्स, इन्स्टाग्रामको वाल, फेसबुक वाल र ह्वाट्सअप, इमो, विच्याटलगायतमा आउँछ। भेट्ने, गला जोड्ने, पोस्टकार्ड र फूलको गुच्छा दिने र आत्मियता साट्नेहरू शिथिल हुँदै गएको अवस्थामा विदेशीले गर्ने प्रशंसा र शुभकामनाले नेपाली संस्कृति कति धनी रहेछ भन्ने देखाउँछ। भेटेर शुभकामना साटने गफिने चलन पुरानो र भद्दा भन्न थालिएको छ। केहीले त फोन नै गरेर भन्न थालेका छन्, ‘मलाई त फेसबुक, ट्विटर, म्यसेजबाट होइन सिधा फोन नै गरेर भएपनि आत्मियता साटौं झंैलाग्छ।’
त्यस्ता भन्नेहरू पनि अहिले प्रविधिमा निपूर्ण भइसकेका छन्। झण्डै दुई सातादेखि दसैंका शुभकामना झल्कने स्टाट्सले फेसबुक प्रयोगकर्ताको वाल भरिइसकेको छ। म्यासेज बक्समा शुभकामनाको भिडियो पनि उत्तिकै आउन थालेका छन्।
मुलुकका कार्यकारी प्रमुख, मन्त्री उच्च ओहोदाको कर्मचारी, कूटनीतिक नियोगका प्रमुख सबैले नयाँ प्रविधिको उपयोग गर्न थालेका छन्। दलका पुराना नेताहरूले पनि ट्विटर र फेसबुकबाट बधाइ शुभकामना दिन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, कमल थापा, नारायणकाजी श्रेष्ठ, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुननरसिंह केसीलगायतले सामाजिक सञ्जालमा त्यस्तो सन्देश दिइसकेका छन्। ‘बडा दसैंको पावन अवसरमा समस्त नेपालीमा मंगलमय शुभकामना। ह्याप्पी विजयादशमी’, हरेकको वालमा देखिएका छन्।