करातेमा भुलेका वसन्त
काठमाडौं : वसन्तराज वाइबा (३४) लाई देख्नेबित्तिकै लाग्दैन, उनी धेरै व्यवसायमा संलग्न छन् भनेर। शिष्ट व्यवहार, हँसिलो मुहारका वसन्तले सानै उमेरमा धेरै पेसामा हात मात्र हालेका छैनन्, सबै क्षेत्रमा सफलता पनि हासिल गरेका छन्। करातेका प्रशिक्षक तथा राष्ट्रिय रेफ्री वसन्तले अन्य विभिन्न पेसा र व्यवसायमा पनि हात हालेका छन्।
उनको पारिवारिक व्यवसाय ‘आयात निर्यात’ हो। वाइबा ट्रेडर्समार्फत नेपालमा उत्पादित सामग्री चीन निकासी गर्ने र त्यहाँका सामग्री नेपाल भिœयाउने उनीहरूको पारिवारिक व्यवसाय रहँदै आएको छ। यसरी दुई देशबीच सामान निकासी तथा ढुवानीका लागि वसन्तले आफ्नै कन्टेनर पनि सञ्चालन गर्दै आएका छन्। आफ्नै गाडी भयो भने व्यवसाय गर्न सहज हुने देखेर वसन्तले कन्टेनरको व्यवसायलाई पनि अगाडि बढाउँदै आएका छन्। तर २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी नाकाबाट हुँदै आएको चिनियाँ सामग्रीको व्यवसाय ठप्प भएपछि भने कन्टेनरले वीरगन्जबाट सामाना ढुवानी गर्दै आएको वसन्त बताउँछन्।
यसैगरी वसन्तले थालेको अर्को व्यवसाय हो, हाउजिङ। उनले समर्पण ग्रुपमार्फत हाउजिङ व्यवसाय सञ्चालन गरेका छन्। उनको यही कम्पनीले सहकारी संस्था पनि सञ्चालन गरिरहेको छ। यसैगरी उनले ट्राभल एजेन्सी पनि सञ्चालन गर्दै आएका छन्। यी थुप्रै व्यवसाय सञ्चालन गर्दै आए पनि वसन्त आफूलाई मुख्यतः कराते प्रशिक्षक तथा रेफ्री भन्न रुचाउँछन्।
यसरी विभिन्न व्यवसायमा संलग्न रहँदै आएका वसन्त करातेप्रतिको लगाव र राष्ट्रप्रतिको दायित्वले गर्दा खेलकुद क्षेत्रबाट टाढा हुन नसकेको बताउँछन्। ‘सानैदेखि करातेमा लागियो। अब जति गरे पनि यो क्षेत्रबाट टाढा हुन सक्तिनँ’, वसन्त भन्छन्, ‘मेरो अर्को व्यवसाय नभएको भए टिक्न गाह्रो हुन्थ्यो होला। अरू व्यवसाय पनि गरिरहेकाले अहिलेसम्म खेलकुद क्षेत्रमा टिक्न सकेको छु।’
वसन्तराज वाइबाको जन्म २०४१ सालमा सिन्धुलीको भद्रकाली गाविस–९ मा भए पनि उनले पाँच वर्षको उमेरमै गाउँ छाडे। बुवा मेमबहादुरले छोरालाई राम्रो शिक्षा दिन भन्दै काठमाडौं ल्याए। यस काममा आमा सुनमाया गोले वाइबाले पनि साथ दिइन्। उनी कोटेश्वरमा डेरामा बसेर भीएस निकेतनमा पढ्न थाले। उनी विद्यालय भर्ना हुँदा भीएस निकेतनमा कुनै पनि अतिरिक्त क्रियाकलाप हुँदैन थियो। वसन्त ३ कक्षामा पढ्दै गर्दा विद्यालयमा अतिरिक्त क्रियाकलाप पनि राख्ने चर्चा सुरु भयो।
वसन्तलाई कराते निकै मन पथ्र्यो। उनले कोटेश्वरमा कराते खेलेको देखेका थिए। उनी कहिलेकाहीँ आफ्नो गृहकार्य छोडेर नै कराते खेलेको हेर्न जान्थे। त्यही भएर विद्यालयका सबै साथीलाई वसन्तले अतिरिक्त क्रियाकलापका रूपमा कराते खेललाई नै रोज्न भने। विद्यालयमा कुन खेल राख्ने भन्ने सवालमा सबै विद्यार्थीसँग राय लिइयो। वसन्तकै लहलहैमा लागेर धेरै जनाले कराते रोजे। त्यसपछि विद्यालयले पनि अतिरिक्त क्रियाकलापमा बाध्य भएर त्यही खेल राख्यो। वसन्त त्यति खेर तीन कक्षा पढ्थे। उनले विद्यालयमा दीपक लामासँग कराते सिक्न थाले। लामाले एक वर्ष सिकाएपछि रमेश क्षत्री प्रशिक्षक भएर आए। उनले करिब दुई वर्ष प्रशिक्षण दिएपछि फेरि प्रशिक्षक फेरिए।
रमेश क्षत्रीपछि ओमकृष्ण प्रसाई नयाँ प्रशिक्षक भएर विद्यालयमा आए। प्रसाईले कराते सिकाउने काम मात्र गरेनन्, उनकै पहलमा विद्यालयले कराते प्रतियोगिता आयोजनासमेत गर्यो। वसन्तले आफ्नै विद्यालयले आयोजना गरेको लगातार तीनवटा प्रतियोगिता खेले। उनले ती प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य पदक जिते। त्यसपछि उनले विद्यालयस्तरीय थुप्रै प्रतियोगितामा सहभागिता जनाए र पदक पनि जिते। एसएलसी उत्तीर्ण भएपछि वसन्त हिमालयन ह्वाइट हाउस कलेजमा भर्ना भए। ह्वाइट हाउसमा करातेको प्रशिक्षणको व्यवस्था नभएकाले उनी बिहान भीएस निकेतनमै गएर प्रशिक्षण लिन्थे र त्यहीँबाट कलेज जान्थे। ब्ल्याक बेल्टभन्दा अगाडिका सबै ग्रेडिङ नेपालका करातेका संस्थापक थानेश्वर राईले लिएका थिए। गे्रडिङपछि राईले निकै राम्रो गर्यौं भनेर हौसला दिएको वसन्त सम्झन्छन्।
विद्यालयपछि उनले डोजोमा कराते सिक्न थाले। त्यही क्रममा पाँचौं पानाथोलन इन्टरनेसनल कराते च्याम्पियनसिपमा सहभागी भए। काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा भारत र नेपालका खेलाडी सहभागी उक्त प्रतियोगितामा उनले स्वर्ण पदक जिते, जुन उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो।
सन् २००६ मा दक्षिण अफ्रिकाको केपटाउनमा आयोजना भएको गुडविल वल्र्ड कराते च्याम्पियनसिपमा पनि वसन्तले स्वर्ण पदक जिते। उनले धेरै राष्ट्रिय प्रतियोगिता भने खेल्न पाएनन्। ‘त्यतिखेर प्रतियोगिता नै कमै मात्र हुन्थ्यो’, चौथो डान ब्ल्याकबेल्ट वसन्त भन्छन्, ‘त्यही कारण कमै मात्र प्रतियोगितामा सहभागी हुने मौका पाइयो। तर जति प्रतियोगिता हुन्थे सकेसम्म सबै प्रतियोगितामा भने सहभागी भएको छु। जिल्ला र क्षेत्रदेखि राष्ट्रिय प्रतियोगिता खेलेको छु।’
वसन्तले सुरुमा सेल्फ डिफेन्सका लागि कराते रोजेका थिए। उनले कराते सिक्दा परिवारबाट कहिल्यै पनि असहयोग भएन। बुवा मेमबहादुर र आमा सुनमायाले सदैव सहयोग गरे। बिदाको समय उनीहरू छोरालाई लिएर आफै प्रशिक्षणस्थल पुग्थे र छोराको खेल हेरेर सँगै घर फर्कन्थे। ‘मलाई बुवाआमाले नै ट्रेनिङमा लैजाने गर्नुहुन्थ्यो। उहाँहरू ट्रेनिङ नसकुन्जेल त्यहीँ बसेर मेरो खेल हेर्नुहुन्थ्यो’, वसन्त विगत सम्झन्छन्। पहिले सितेरियो कराते खेलेका वसन्तको पाइला गोजुरियोतर्फ मोडियो।
वसन्तले आफूले खेल्दाखेल्दै विभिन्न विद्यालय र डोजोमा पनि कराते सिकाउन सुरु गरे। उनी प्रशिक्षणका साथै केही प्रतियोगितामा रेफ्री पनि गर्थे। सन् २००० देखि उनले रेफ्री करिअर सुरु गरे। त्यही वर्ष सेमिनारमा सहभागी भएपछि उनले रेफ्री सुरु गरेका हुन्। खेल्दाखेल्दै किन रेफ्री बन्नुभयो भन्ने प्रश्नमा आफू खेलाडी हुँदा भेदभाव र पक्षपात हुने पाएकाले निष्पक्ष निर्णय दिन आफूले रेफ्री पेसा रोजेको वसन्त बताउँछन्। ‘आफूलाई परेको मार अरू खेलाडीले भोग्नु नपरोस् र निष्पक्ष निर्णय होस् भनेर मैले रेफ्री बन्ने निर्णय गरेको हुँ’, वसन्त भन्छन्।
उनले राष्ट्रिय निर्णायक भएर छैटौं र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरे। उनी दुई वर्षअघि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितमा करातेका मुख्य निर्णायक थिए। उनले सन् २००० देखि रेफ्रीका साथै प्रशिक्षण पनि सुरु गरे। कोटेश्वरको नवरत्न स्कुलबाट प्रशिक्षण सुरु गरेका उनी अक्सिडेन्टन पब्लिक स्कुल, कोलम्बस एकेडेमी, भानुभक्त स्कुल, चक्रपथ डोजो र धापाखेलको सिभिल होम्समा कराते सिकाउने गर्छन्।
वसन्त आफूले जानेका कुरा अरूलाई पनि किन नसिकाउने भनेर अन्य व्यापार व्यवसायसँगै करातेलाई पनि अगाडि बढाइरहेका छन्। ‘सानोमा अरूले खेलेको देखेर करातेमा लागियो। अब यसलाई छोड्छुभन्दा पनि छोड्न सकिँदैन। करातेको नशा लागिसक्यो’, गोजुररियो कराते संघका केन्द्रीय सदस्यसमेत रहेका वसन्त भन्छन्। उनी आफूले सकुन्जेल करातेबाट कहिल्यै टाढा हुन नसक्ने बताउँछन्।