देखासिखी होइन, स्वेच्छाको बनोस् दसैं

देखासिखी होइन, स्वेच्छाको बनोस् दसैं

विजयादशमी, दुर्गापूजा, नवरात्रि, नवरथा आदि नामले सम्बोधन गरिने दसैं पर्व बर्सेनि ढोल बजाएर आउँछ र ऋण बोकाएर जान्छ भनिँदै आइएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यो पर्व राष्ट्रिय पर्वका रूपमा मानिँदै आइएको छ। रामले दुर्गाको उपासना गरी रावणमाथि विजय प्राप्त गरेको आख्यानलाई आधार बनाएर हेर्दा हिन्दु समाजमा यसको प्रचलन र महत्व ऐतिहासिक छ। असत्यमाथि सत्यको विजयस्वरूप यो चाड मनाइनुले दसैंलाई विशेष महत्वको पर्वका रूपमा लिइने गरिएको हुनुपर्छ।

हिन्दुधर्म र मान्यतामा आधारित धेरै पर्व नेपाली समाजमा मनाइन्छ र पनि दसैंको महत्व बढी नै हुनुमा बालकदेखि वृद्धवृद्धासम्मलाई आआफ्नो भूमिका र आवश्यकतामा समेटेको हुन्छ। बालबालिका राम्रो लाउने र मीठो खाने अवसर मानेर दसैंमा रमाउँछन्। वयस्क वर्षभरिको कामको थकान मेटाउने, पारिवारिक घुमघाममा निस्कने, पारिवारिक जमघट गर्ने, आफूलाई खुसी तुल्याउने कुरामा सहभागी हुने तथा आफन्त भेटघाट र टीका–आशीर्वाद ग्रहणलगायतका क्रियाकलापमा आफूलाई प्रफुल्ल महसुस गर्ने अवसरका रूपमा लिने गरिन्छ। दसैंमा नवदुर्गाको पूजा गरिने र असत्यमाथिको विजयमा नारी शक्तिको महत्वलाई दर्शाइनुले धेरै हदसम्म नारीलाई पनि प्रेरणा प्रदान गरेको छ।

अर्कोतिर, दसैंको अवसरमा सम्भ्रान्तदेखि विपन्न वर्गसम्ममा एकै प्रकारको खुसी समेट्न खोजिएको हुन्छ। सम्पूर्ण पीडा एवं कष्ट बिर्संदै प्रफुल्ल भएर सुखानुभूति गर्न र भ्रातृत्व प्रगाढ गर्न सहयोगी भएको पनि मानिन्छ तर यो सुख, समानता, भ्रातृत्व, आत्मीयता र प्रफुल्लताले परम्परागत मान्यता मात्र पाइरहेको छ या जबर्जस्ती खुसी भइदिनुपरेको छ, अरूलाई देखाउनका लागि पनि पर्वमा खर्च गर्नैपरेको छ त्यो सबैको आआफ्नो परिस्थिति र सहजतामा भरपर्ने कुरा हो। त्यसै पनि हामी नेपालीको अनुशरण गर्ने बानी र आफ्नो स्वभावमा जिउन छोडेर देखाउनकै निम्ति भए पनि ऋण काढेर पर्व मनाउने प्रचलन कायमै रहेको अनुभूति गर्न सकिन्छ। त्यसो नहुँदो हो त ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भन्ने भनाइ नेपाली समाजमा चरितार्थ हुने थिएन।

विशेषगरी खानपानमा रमाउनु, लबाइमा नयाँपन दिनु, छुट्टीको सदुपयोग गर्नु र आफन्त, मान्यजनको आशीर्वाद लिने पर्वका रूपमा दसैंले महत्व दर्शाएको हुन्छ। एकातिर दसैं सुरु हुन पाएको छैन बजारमा खाद्य सामग्रीदेखि लिएर लत्ताकपडा सबै चिजको भाउ बढेको छ भने अर्कोतिर देखासिकीकै भरमा हामीलाई कोहीभन्दा कोही कम हुन मन लागेको हुँदैन। ऋण काढेर भए पनि मनाउँला भन्ने धारणा र वर्ष दिनको पर्व हो अरूले के भन्लान् भन्ने धारणाले आफ्नो हैसियत र आफ्नो खुसी के हो मानिसले छुट्ट्याउन सकेका छैनन्। मान्यजनको आशीर्वाद लिन धेरै खर्च र तडकभड्कको जरुरी छैन। लगाउने कुरामा पहिलेजस्तो दसैं कुर्नुपर्ने आवश्यकता आजको समयमा छैन। नयाँ फेसनको अनुशरण गर्नैपर्ने बाध्यात्मक अवस्था नहुनुपर्ने हो।

पर्वका नाममा बढ्दै गएका खानपानका संस्कार, तडकभडक र देखासिकीलाई नअँगाली स्वेच्छाले पर्व मनाउनु नै उचित हुन्छ।

बाँकी रह्यो खानपानको, आफ्नो स्वास्थ्य ख्याल गरेर खानुपर्ने हुनाले दसैं भन्नासाथ धेरै परिकार, धेरै मांसाहार हुनैपर्छ भन्ने जरुरी छैन। नियमित रूपमा जे खाँदै आएको छ त्यसैले पनि दसैं पर्वलाई उत्सवमय बनाउन सकिन्छ। मानिस खान नपाएर होइन, खान नजानेर रोगी बन्दै गएको छ। मानिसलाई सबै कुरा थाहा छ तर खाने कला, खाने मात्रा, खान हुने र खान नहुने चिज, फाइदा गर्ने र बेफाइदा गर्ने चिज, स्वास्थ्यका लागि या स्वादका लागि खाने थाहा पाएको देखिँदैन। भान्सामा धेरै परिकार त्यसमा पनि दसैंका नाममा बढ्दो मांसाहारको परिकारले सम्भ्रान्त र सम्पन्नताको परिचय दिँदैन। जसको भान्सामा सादा, स्वस्थ र लाभदायक परिकार पाकेको छ, ऊ नै सभ्य भनेर जान्नुपर्छ।

उत्सव भित्रैदेखि हुनुपर्छ, बाहिरी क्रियाकलापले मात्र व्यक्तिको भित्री उत्सव, आनन्द र खुसी निर्धारण गर्दैन। उत्सव भीडभाड र तडकभडकले हुन सक्दैन। ओशो भन्नुहुन्छ, ‘स्वयंमा सम्मिलित हुनु उत्सव हो। स्वयंमा रमाउनु उत्सव हो। खानपान, तडकभडक र परम्परामा मात्र व्यक्ति रमाउन सक्दैन। आफ्नो भावदशा, चित्तदशा शान्त र शुद्ध रहेको अवस्थामा उत्सवको अनुभूति हुन्छ। भीडभाड, बजार, किनमेल, बाहिरी रौनकले मानिस खुसी हुने भए आज सबको मुहारमा प्रसन्नता देख्न सकिन्थ्यो। मानिस भीडको पछि लाग्न छोडेको छैन र आफ्नो आवश्यकता र आफ्नो खुसी के हो जान्न खोजेको पनि छैन।

पर्व र उत्सवले जीवन जिउने तरिका बताउँछन्। कुनै एउटा पर्वमा ऋणधन गरेर उत्सव र खुसी मनाउनु अनि बाँकी दिन दुःख, तनाव र भागदौडमा त्यो जीवनको उद्देश्य होइन। सबैमा सुन्दरता देख्नु, सबैलाई प्रसन्न देख्न चाहनु र सबैप्रति प्रेम भावना जागृत हुने व्यक्तिको जीवन सधैं पर्वमय बन्दछ। चेतना जागृत हुनु, हरेक कर्ममा सजगता कायम रहनु, दिव्यताको मदमस्तीमा जीवन जिउनु र जीवनलाई समग्रताका साथ जिउने कला जान्ने व्यक्तिले जीवनलाई नै पर्व बनाएको हुन्छ।

प्रेम नै उत्सव र उत्सव नै प्रेम बनाउने कला जान्नु महत्वपूर्ण हो। आफ्नो स्थितिमा अडिग रहन सक्नु र आफ्नो स्वभावको पहिचान गर्न जान्नु महत्वपूर्ण सिकाइ हो। मरुभूमिमा पनि सुन्दरता हुन्छ देख्न जान्यो भने त्यसैले आफूसँग जे छ त्यसमा खुसी हुन सक्नुपर्छ। आकांक्षा र देखासिकीले आफ्नै मनभित्र द्वन्द्व उत्पन्न गराउँछ। जब मनमा द्वन्द्व उत्पन्न हुन्छ बाहिर जति सुखी र खुसी देखाउन खोजे पनि भित्रबाट निरस, खाली खोक्रो र अशान्त प्रतीत हुन थाल्छ।

आफू जस्तो छ त्यस्तै रहन जान्नु, अरूजस्तो बन्ने र हुने चेष्टा नगर्नु नै खुसी हुन जान्ने कला हो। आफैंले आफैंलाई प्रेम गर्नु, सम्मान गर्नु र आफू हुनुमा गर्व गर्नु, आफूले पाएको कुरामा सन्तोष लिनु नै आनन्दित हुने कला हो। प्रेमले हर्षविभोर भए पनि ठीक, गहभरि आँसु भए पनि ठीक, भित्रभित्रै आल्हादित भए पनि ठीक, मन प्रसन्न र चंगा भए पनि ठीक। हृदय कुन भाव दशामा चलिरहेछ त्यसलाई देख्नुपर्छ। दोस्रोले के गर्‍यो त्यो जानेर आजसम्म कसैलाई लाभ पुगेको छैन। दोस्रोको बारेमा जति चिन्ता र जानकारी छ, त्यसको एकतिहाइ मात्र पनि आफ्नो बारेमा जान्न सके कहिल्यै प्रतिस्पर्धाको जीवन जिउनु पर्दैन।

विज्ञान र प्रविधिको विकासले हामीलाई धेरै कुरा सिकाएको छ तर मानिसको बुद्धि र विवेकबाट खास चिजचाहिँ खोसेर लगेको हो कि भन्ने भान हुन्छ त्यो हो– मनुष्योचित खानपान, शिष्टता, प्राकृतिक गुण र इमानदारी। पर्वका नाममा बढ्दै गएका खानपानका संस्कार, तडकभडक र देखासिकीलाई नअँगाली स्वेच्छाले पर्व मनाउनु नै उचित हुन्छ। दसैं ढोल बजाउँदै आए पनि हामीले ऋण नबोकाई बिदाइ गर्न सकौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.