नेपाली फुटबलमा एट्लेटिकोको सहयोग
काठमाडौं: स्पेनको चर्चित क्लब एट्लेटिको म्याड्रिडले नेपालको फुटबल विकासमा सहयोग गर्ने भएको छ। फाउन्डेसन स्थापना गरेर विश्वभर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको एट्लेटिको म्याड्रिडले चन्द्रागिरि नगरपालिका नैकापमा रहेको वेस्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्न लागेको हो।
एट्लेटिको म्याड्रिडका इन्टरनेसनल एक्सपान्सन एन्ड एकेडेमी म्यानेजर फर्नान्डो लोपेज र गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा बीबी ट्रस्टका अध्यक्ष भवन भट्टबीच सहयोगसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ। सहमतिअनुसार एट्लेटिकोले बीबी ट्रस्टमार्फत वेस्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्नेछ।
सम्झौतापत्र आदानप्रदान कार्यक्रममा दुवै क्लबको लोगो अंकित जर्सीसमेत सार्वजनिक गरिएको थियो। भट्टले यो सम्झौताले नेपाली फुटबलमा नयाँ आयाम थप्न सफल हुने विश्वास व्यक्त गरे। एट्लेटिको म्याड्रिडका इन्टरनेसनल एक्सपान्सन एन्ड एकेडेमी म्यानेजर फर्नान्डो लोपेजले क्लबले अहिले सुरुआती सहयोग मात्र गर्न लागेको र आगामी दिनमा यसको दायरा अझ फराकिलो हुने बताए।
सम्झौता अघि फनान्डो, एनआरएनए अध्यक्ष भवन भट्टसहितको टोलीले नयाँ नैकापमा अवस्थित फुटबल मैदानको निरीक्षणसमेत गरेका थिए। टोलीलाई क्लबका अध्यक्ष सुन्दर थापालगायतका पदाधिकारीले भव्य स्वागत गरेका थिए।
एट्लेटिको म्याड्रिड फाउन्डेसनका अध्यक्ष पाब्लो लागोसँग एनआरएनएका अध्यक्ष भट्टसहितको टोलीले भेटेपछि नेपालमा सहयोग गर्ने अभियान सुरु भएको थियो। यसका लागि क्लबले आफ्नो कुल बजेटको एक प्रतिशत रकम छुट्ट्याउने गरेको छ। अहिले पोर्चुग ल, निकारागुआ, मोरक्को, भारत र हाइटीलगायत ११ राष्ट्रमा सामाजिक विद्यालयमा क्लबले सहयोग गरिरहेको छ। नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानमा सक्रिय रूपमा लागिपरेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले भने सुरुआतमा क्लबलाई खेलसामग्री र पोषण सहयोग हुने र पछि सहयोग बृद्धि हँुदै जाने बताए। उनका अनुसार सुरुआतमा ८० जना खेलाडीका लागि खेलकुद सामग्रीहरू समेत प्रदान गर्ने तय भइसकेको छ।
अध्यक्ष भवन भट्टसहित एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएनए अनररी परिषद् सदस्य गोविन्द सुवेदीलगायतको टोलीले गैरआवासीय नेपाली संघ र एट्लेटिको म्याड्रिडबीच सम्झौता गर्ने प्रयास गरेका थिए। तर, नेपाल बाहिर बस्ने नेपालीहरूको संस्था भन्ने अर्थका रूपमा हेरिएपछि एनआरएनएसँग सम्झौता गर्न क्लब तयार भएन र त्यसपछि राजधानीकै क्लब खोजिएको थियो। त्यसपछि बीबी ट्रस्टबाट प्रक्रिया अघि बढ्यो र यही ट्रस्टमार्फत वेस्ट काठमाडौं फुटबल क्लबले निवेदन दिएपछि सहमति जुटेको थियो।
स्पेनिस क्लबहरूले विश्वका बिभिन्न मुलुकहरूमा आफ्ना फाउन्डेसनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरूलाई अवसर पनि दिएका छन्। त्यसैले क्षमतावान् नेपाली खेलाडीका लागि ठूलो अवसरका रूपमा हेरिएको छ।