५० क्षमताको जीर्ण कारागारमा १ सय ३३ जना !
स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि बन्दीहरुलाई बस्ने र सुत्ने ठाउँको अभाव भएको छ ।
५० जना मात्रै बस्न र सुत्न मिल्ने जीर्ण अवस्थाको कारागार भवनमा १ सय ३३ कैदीबन्दी राखिएपछि बन्दीहरुले आफूहरुलाई सुत्ने र बस्ने स्थानको अभाव भएको गुनासो गरेका छन् । वर्षातको बेला त पानी चुहिएर बन्दीहरु एउटै कोठामा ओत लाग्नुपरेको गुनासो उनीहरुको छ ।
केही वर्षअघि ३५ जना बन्दी क्षमतालाई बढाएर ५० जना अटाउनसक्ने क्षमता पु¥याइएको थियो । सोही भवनमा अहिले १ सय ३३ जना कैदीबन्दी राखिएपछि बन्दीहरुले गुनासो गर्न थालेका हुन् ।
३५ पुरुष र १५ महिला क्षमता रहेको कारागारमा हाल ६ महिला सहित १ सय २७ पुरुष छन् । विभिन्न अभियोगका आधारमा ७८ पुरुष, ५ महिला गरी ८३ कैदी तथा ४९ पुरुष, १ महिला गरी ५० थुनुवा यहाँ राखिएको हो । ४० वर्ष पुरानो जीर्ण कारागार भवनलाई २०७२ सालको भूकम्पले समेत क्षति पुर्याएको थियो ।