विद्युत् चुहावट गर्ने कारबाहीमा
भक्तपुर : विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रले अढाई महिनामै विद्युत चुहावटमा संलग्न एक सय १७ जनालाई कारबाही गरेको छ। कारबाहीपछि ४० लाख रुपैयाँ जरिवाना असुल गरिएको छ। चालु आर्थिक वर्षको असोजसम्ममा यो जरिवाना गरिएको हो।
केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ चुहावट गर्ने तीन सय ६८ जनालाई कारबाही गरिएको जानकारी दिए। उनीहरूबाट एक करोड सात लाख रुपैयाँ जरिवाना असुल गरिएको छ। ‘आर्थिक वर्ष २०७४/७५ मा विद्युत् चुहावट गर्ने तीन सय ६८ जनालाई कारबाही गरेका थियौं’, उनले भने, ‘तर चालु आर्थिक वर्षका साढे दुई महिनामै एक सय १७ जना कारबाहीमा परेका छन्।’
केन्द्रले दैनिक दुई समूह बनाएर विद्युत् चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको छ। चुहावट नियन्त्रण अभियानको निरन्तरताकै कारण विद्युत् चोरी गर्ने ग्राहकको संख्या पहिचान बढेको केन्द्र प्रमुख श्रेष्ठको दाबी गर्छन्।
चुहावट १८.५९ प्रतिशत
चुहावट नियन्त्रण अभियानको निरन्तरताकै कारण भक्तपुरमा विद्युत् चुहावटमा उल्लेखनीय कमी आएको छ। चार वर्षअघिसम्म केन्द्रको विद्युत् चुहावट करिब ६३ प्रतिशत थियो। भूकम्पलगत्तै विद्युत् चुहावट नियन्त्रण अभियान अघि बढाएपछि ४१.३ प्रतिशतमा झार्न सफल भएको थियो। त्यसलगत्तै आव २०७२/७३ मा ३७.०३ प्रतिशतमा झरेको विद्युत् चुहावट आव २०७३/७४ मा २८.०८ प्रतिशतमा कमी आएको केन्द्रको तथ्यांकले देखाएको छ।
गएको आर्थिक वर्ष २०७४/७५ मा भने विद्युत् चुहावट १८.५९ प्रतिशतमा झरेको केन्द्र प्रमुख श्रेष्ठले दाबी गरे। ‘आर्थिक वर्ष २०७४/७५ को पुस महिनामा सबैभन्दा बढी २६.९१ प्रतिशत चुहावट भएको थियो’, उनले भने, ‘त्यस्तै कातिक महिनामा १५.१६ प्रतिशतमा झरेको थियो। तर, समग्र १२ महिनाको चुहावट भने १८.५९ प्रतिशत रह्यो।’
उनका अनुसार चालु आर्थिक वर्षको साउनमा भने ११.५५ प्रतिशतमात्रै विद्युत् चुहावट भएको छ। यस्तै भदौमा १५.५९ प्रतिशत पुगेको उनले बताए।
१० प्रतिशतमा झार्ने लक्ष्य
केन्द्र प्रमुख श्रेष्ठले भक्तपुरको विद्युत् चुहावट १० प्रतिशतमा झार्ने लक्ष्य रहेको जानकारी दिए। ‘यही रफ्तारको सफलताले विद्युत् चुहावट १० प्रतिशतमा झार्न सफल हुन्छौं’, उनले भने, ‘यसले हिजो विद्युत् चोर भनेर भक्तपुरवासीलाई लाग्ने आरोप पनि गलत सावित हुनेछ।’
प्राविधिक चुहावट नियन्त्रण जारी
उनले विद्युत् प्रसारणलाइन लामो हुँदा हुने प्राविधिक चुहावट नियन्त्रण गर्न पनि केन्द्र लागि परेको सुनाए। केन्द ्रअन्तर्गत भक्तपुरदेखि नगरकोटसम्मको प्रसारणलाइन सबैभन्दा लामो छ। भक्तपुरबाट दुवाकोट, झौखेल, चाँगुनारायण, छालिङ हुँदै नगरकोट पुगेको प्रसारणलाइन करिब ३७ किलोमिटर लामो छ। यही प्रसारण लाइनबाट बिजुली गएका क्षेत्रमा बढी विद्युत् चुहावट भइरहेको केन्द्रको तथ्यांकले देखाउँछ।
उक्त प्रसारणलाइन टुक्राएर भक्तपुरबाट सीधै नगरकोट पुग्ने व्यवस्था गर्न लागिएको केन्द्रले जनाएको छ। यस्तै नांगो तारलाई विस्थापित गर्दै एबीसी केबल तार जडान गर्ने कार्य पनि अघि बढाउँदै आएको केन्द्र प्रमुख श्रेष्ठ बताउँछन्। उनका अनुसार केन्द्रअन्तर्गत करिब ४० किलोमिटर नांगा तारबाट विद्युत् वितरण हुँदै आएको छ।
विद्युतमा बढीमा आठ प्रतिशतसम्म प्राविधिक चुहावट हुने मानिन्छ। प्राविधिक चुहावट गणना नगरिए भक्तपुरको चुहावट अहिले नै १० प्रतिशत हाराहारीमा घटेको केन्द्र प्रमुख श्रेष्ठ दाबी गर्छन्।