सराय नाचको वाख्यै वाख्यै

सराय नाचको वाख्यै वाख्यै

बुटवल: बडा दसैंको अवसरमा पहाडी जिल्लामा हुने प्रचलित सराय नाच सहरमा समेत हुन थालेको छ। गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठानमा प्रसिद्ध सराय नाच रूपन्देहीमा समेत हुँदै आएको छ। टीकाकै दिनदेखि पहाडी जिल्लाका शक्तिपीठ तथा कोटहरूमा सराय नाचिन्छ।

गुल्मी, अर्घाखाँचीबाट बसाइँ सरेर तराई झरेकाहरूले संस्कृतिको जगेर्नाका लागि सहरमा समेत सराय नाच नाच्ने गरेका छन्। बुटवलको जितगढीमा चार वर्षअघिदेखि सुरु भएको सराय नाचलाई यो वर्ष पनि निरन्तरता दिइएको हो। बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराय नाच नचाउने गरेपछि नै यसको सुरुआत भएको बताइन्छ। विजयोत्सवका रूपमा सराय नाच सुरु भएको र वर्षौंपछि समेत प्रचलनमा रहेको संस्कृतिविद्हरू बताउँछन्।

‘यो एक विजयोत्सव जस्तै नै हो, गाउँका कोट, डाँडाहरूमा नाच्ने गरिन्छ,’ संस्कृतिविद् डा. रामप्रसाद घिमिरे भन्छन्, ‘बाइसेचौबिसे राज्यकै समयदेखि यो अहिलेसम्म चलिरहेको छ।’ सरायले विजय र खुसीयालीको सन्देशसँगै मित्रता कायम गर्ने उनको भनाइ छ।

देवीको पूजा गरिने कोटहरूमा राखिने हातहतियारहरू प्रदर्शन गर्दै यो नाच नाचिन्छ। हातमा तरबार, खुँडा बोकेकाहरू एकअर्काको ढाड जोडाउँदै नाच्छन्। पहाडे बस्तीहरूमा प्रचलित यो नाच पूर्वी पहाड र तराई क्षेत्रमा भने नौलो मानिन्छ। सुरुका वर्षहरूमा पुरुषहरू मात्रै सरायमा सहभागी हुने भए पनि अहिले महिलासमेत नाच्ने गरेका छन्। पञ्चैबाजाको तालमा नाचिने यस नाचमा ‘वाख्यै वाख्यै हो’ उच्चारण गरिने गरिएको छ।

‘राजनीतिमा जस्तै संस्कृतिमा समेत समावेशी सुरु भएको छ, पहिलापहिला महिलाहरू बसेर हेर्थे अहिले आफैं तरबार बोकेर नाच्छन्,’ उनले भने। सराय कुनै जाति विशेष नहुने उनले बताए।

अर्घाखाँचीको अर्घा सराय नाचका लागि बढी प्रसिद्ध रहेको छ। गुल्मीको इम्मासहितका हरेक कोटहरूमा दसैंैदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ। सराय नाचले एकापसमा मित्रतासमेत कायम गर्छ। लोप हुन लागेको संस्कृति बचाउनका लागि बुटवलमा दसैंपछि दुई पटक सराय हुने गरेको छ। दसैंको दोस्रो दिन जितगढी र कोजाग्रत पूर्णिमाको दिन देवीनगरमा सराय नाच हुँदै आएको छ।

सराय नाच्दा जुधाइने खड्कले कलासँगै शक्ति प्रदर्शनको झल्को दिने लेखक विश्लेषक केबी मसाल बताउछन्। ‘धारिलो खुँडा नचाउन कौशलता चाहिन्छ, यो कौशलताका लागि शक्ति र आँटसमेत आवश्यक छ,’ उनले भने। गुल्मी, अर्घाखाँचीबाट सुरु भएको यो सराय नाच पछिल्लो समय कपिलवस्तु, दाङ जिल्लामा समेत हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.