धार्मिक सहिष्णुता खोज्दै
सन् १९६९ मा पाल्पाको तानसेनमा जन्मिएका डी राम पाल्पाली पेन्टिङ क्षेत्रमा सक्रिय छन्। ‘इस्टलेसन नेसनल अवार्ड एकेडेमी अफ फाइन आर्ट–२००८’, ‘क्याम्लिन आर्ट अवार्ड, इन्डिया– २००७’ जस्ता अवार्ड हात पार्न सफल उनले अहिलेसम्म चार पटक एकल प्रदर्शनी गरिसकेका छन्। आफैंले बनाएको मनपर्ने पेन्टिङमाथि पाल्पालीको अनुभूति।
केही समयदेखि ‘रिलिजियस’ पेन्टिङमा काम गरिरहका छन्, डी राम पाल्पाली। अर्थात्, धार्मिक बिम्बहरूलाई क्यानभासमा उतारिरहेका छन्। धर्मप्रति आस्था भएकाले यस्ता पेन्टिङमा आफ्नो लगाव रहेको बताउँछन्, उनी। ‘अहिले सिरिजमा रिलिजियस पेन्टिङ बनाइरहेको छु,’ उनले भने, ‘अहिलेसम्म एक सय ५० वटा जति बनाएँ हुँला।’
उनले बनाएको माथिको पेन्टिङ पनि सेरिजमध्येकै एक हो। जुन उनी आफैंलाई एकदमै मन पर्छ। यो पेन्टिङमा हिन्दु र बौद्ध धर्मका बिम्बहरूलाई देखाइएको छ।
पेन्टिङमा सेतो र नीलो रङ अत्यधिक देखिन्छ। ‘यी दुवै रङ शान्तिका प्रतीक हुन्,’ उनले भने। धार्मिक क्षेत्र शान्त हुन्छ भनेर देखाउन यी दुई रङको प्रयोग गरेको बताउँछन् उनी। यसलाई उनी हिन्दु धर्मसँग जोड्छन्। भन्छन्, ‘हिन्दु धर्मावलम्बीहरूले गेरुवा रङ बढी चलाउँछन्। त्यसैलाई यहाँ चित्रित गरेको हो।’
पेन्टिङमा मन्दिर, स्तुपा, घण्टी, पाटीपौवा आदि छन्। यी धार्मिक संकेतहरूलाई क्यानभासमा संयोजन गर्नुको अर्थ छ। स्तूपा बीचमा पर्नेगरी ‘स्क्वायर’ देख्न सकिन्छ। त्यो स्क्वायरले स्तूपाको दुवै साइडमा रहेको दुई मन्दिरलाई छोएको छ। त्यो स्वायरमार्फत एउटै रङ मन्दिर र स्तूपासम्म ल्याइएको छ। सेतो रङले दुवै बिम्बलाई जोड्न मद्दत गरेको देखिन्छ। ‘यसको अर्थ हिन्दु र बुद्धिष्टबीच धेरै कुरामा समानता र सहिष्णुता छ भन्ने हो,’ उनले भने, ‘हाम्रा धेरै व्यवहार र संस्कृति मिल्छ भनेर देखाउन खोजेको हुँ।’
पेन्टिङमा देखाइएको घण्टीको पनि कम महत्व छैन। यसको अर्थ ‘आस्थाप्रति आह्वान गरिएको हो,’ भन्छन् उनी। पेन्टिङको देब्रेतिर एउटा घरजस्तै बिम्ब देखिन्छ। घरमा रातो र हल्का नीलो रङको प्रयोग गरिएको छ। खासमा यो पाटी हो। मन्दिरहरूमा पुग्दा यस्ता पाटीपौवा देख्न पाइन्छ। बेलुकीको समयमा पाटीको दृश्य देखाइएको छ, पेन्टिङमा। घाम डुब्न लागेको छ। पेन्टरले पहेँलो रङमार्फत बेलुकीको दृश्यलाई उतार्ने प्रयास गरेका छन्।
पेन्टिङमा ल्याएका धार्मिक बिम्बहरू कुनै पनि पूर्ण देखिँदैनन्। मन्दिरको पूर्ण भाग छैन। स्तूपाको पूर्ण भाग छैन। पाटी पूर्ण छैन। सबै आधा–आधा छन्। किन अपूरा ? ‘यो संसार नै पूर्ण छैन, बिम्बहरूलाई चाही किन पूर्ण बनाउने ? अर्कातिर, यसलाई पेन्टरको ‘टेक्निक’ पनि मान्न सकिन्छ। संकेत आए त भइहाल्यो नि !’ पाल्पाली भन्छन्।
पेन्टिङमा ‘जेस्चर’हरू प्नि प्रशस्तै छन्। अर्थात्, शरीरमा निस्केको ‘घमौरा’जस्तै क्यानभासमा पनि केही चिज उठेका छन्। ‘बालुवाको प्रयोग गरेर उठाइएको हो,’ उनले भने। क्यानभासमा रङ मात्र प्रयोग गर्ने हो भने त्यो फोटोजस्तै देखिने र त्यो त्यति आकर्षक नबन्ने बताउँछन् उनी। २०१५ मा तयार पारिएको यो पेन्टिङमा थिनरको पनि प्रयोग गरिएको छ।
यस्तो रिलिजियस पेन्टिङ बनाउन बढी समय लाग्ने बताउँछन् उनी। माथिकै पेन्टिङ बनाउन पनि उनलाई झन्डै डेढ हप्ता लाग्यो। रङ पोत्न, कस्तो पेन्टिङ बनाउने भनेर सोच्न नै समय लाग्यो उनलाई। आइडियामा बढी काम गर्नु परेको अनुभव सुनाउँछन् उनी। भन्छन्, ‘दिमागमा एउटा स्केच आउँछ। त्यसलाई सीधै क्यानभासमा उतार्छु। र, रङहरूले ढाक्दै जान्छु।’ कुन चिजहरूलाई कुन ठाउँमा फिट गर्न भनेर सोच्न पनि निकै समय लाग्ने गर्छ। रङ संयोजन गर्न झनै धेरै समय लाग्छ।
माथिको पेन्टिङमा सबैभन्दा धेरै सेतो रङ पोतिएको छ। सेतो कलरले दृश्यहरूलाई उकास्न पनि मद्दत गरेको छ। पेन्टिङमा कुनै पनि रङले अरू रङलाई डिस्टर्ब गर्नु हुँदैन। माथिको पेन्टिङमा यति धेरै सेतो रङको प्रयोग गरिए पनि सेतो रङमा मात्र तपाईंका आँखा बस्दैन। किन ? किनकि यहाँ रङको संयोजन संवेदनशील ढंगले गरिएको छ। माथिको पेन्टिङमा नीलो, रातो, सेतो वा अरू कुनै कलरमा मात्र आँखा अडिदैन। कुनै एउटा रङले डिस्टर्ब गर्दैन।