खःमेय् जात्राको सकस

खःमेय् जात्राको सकस

भक्तपुर: ‘जहाँतहीँ हस्तक्षेप, जात्रा हो कि मान्छेको भीड ? जात्रा त नाममात्रै बाँकी छ,’ भक्तपुर नगरपालिका— ९ नवदुर्गास्थानस्थित नवदुर्गा द्योछेंमा गएको महानवमीको साँझ स्थानीय लतंभक्त सुवाल (५७) एक्लै यस्तै फटफटाइरहेका थिए।

नवदुर्गा द्योछेंबाट खःमेय् बाहिर निकाल्ने प्रतीक्षामा रहेका सयौं भक्तजनबीच रहेका सुवाल भन्दै थिए, ‘खःमेय् जात्रा पहिलेजस्तो रहेन। पहिले टाढैबाट खःमेय् हेर्न पाइन्थ्यो। अहिले मान्छे नै मान्छेमात्र। खःमेय् हेर्न त के देख्नसमेत पाइँदैन।’ जात्रालाई मौलिक रूपमै मनाउनुपर्ने भन्दै उनले मानिसको जथाभावी हस्तक्षेप रोक्न आग्रह गरे।

स्थानीय नेपालभाषाको खःमेय् निख्खर कालो राँगो हो। विजया दशमीको महानवमीको दिन भक्तपुरमा नवदुर्गा द्योछेंबाट निख्खर कालो राँगोलाई दौडाएर जात्रा गरिन्छ। सोही जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ।

सोही जात्रा हेर्न महानवमीको दिन नवदुर्गा द्योछें परिसरमा सयौं भक्तजन पुगेका थिए। भक्तजनहरूको भीडमा हरियो टिसर्ट लगाएका स्वयम्सेवकहरू पनि हातमा हात मिलाएर साङ्लो बनाई कसैलाई पनि छिर्न दिएका थिएनन्। बच्चा होस्, महिला या युवा। अझ ज्येष्ठ नागरिकले त प्रवेश पाउने कुरै थिएन।

तर लतंभक्त आफैं युवा छँदा धेरैपटक खःमेय्को डोरी समातेर पछिपछि दौडिएका छन्। उनी आफैंले धेरैपटक नवदुर्गा द्योछेंभित्रैदेखि खःमेय्लाई बाहिर निकालेका छन्। तर गएको महानवमीको दिन उनै लतंभक्तले खःमेय् छुन त के हेर्नसमेत पाएनन्।

खःमेय् जात्रा व्यवस्थापन गर्न बनाइएको समितिबाट खटिने स्वयम्सेवकहरूले उनलाई साङ्लोभित्र प्रवेशै दिएनन्। अन्य धेरै भक्तजनले समेत चित्त बुझ्ने गरी खःमेय् हेर्न पाएनन्। त्यसैले लतंभक्तले जस्तै अधिकांश भक्तजन भन्दै थिए, ‘पहिले जस्तो रहेन खःमेय् जात्रा।’

महिषासुरको प्रतीक

महिषासुर राक्षसको रूपमा भक्तपुरमा खःमेय् जात्रा मनाइँदै आएको छ। मध्य मल्लकालमा यस जात्राले बढी महत्व पाएको संस्कृतिकर्मीहरू बताउँछन्।

उनीहरूका अनुसार जात्राको राँगो निख्खर कालो, मोटोघाटो र जीउमा कुनै घाउ तथा चोटपटक नलागेको हुनुपर्छ। यस्ता गुण भएको राँगो श्रावण शुक्ल चतुर्दशी एवं गाथामंगलको दिन नवदुर्गा द्योछेंस्थित खःमेय् बाँध्ने किलोमा डोरी बाँधिन्छ। यहीँ दिन नवदुर्गा द्योछेंमा महादेवको उत्पत्ति हुने विश्वास रहँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।

‘खःमेय् बाँध्ने किलोमा डोरी बाँधिएपछि खःमेय्को लागि उपयुक्त राँगोको खोजी हुन्छ’, उनी भन्छन्, ‘राँगो भेटिएपछि नवदुर्गा द्योछेंकी नकिंले लसकुस (स्वागत) गर्दै उक्त किलो डोरीले बाँधिन्छ।’ उनका अनुसार यसरी द्योछें भित्र्याइएको खःमेय्लाई नकीँले नै रेखदेख गर्छिन्। यस क्रममा खःमेय्लाई दिनहुँ तोरीको तेल डल्ने गरिन्छ। मीठो परिकारदेखि जाँडरक्सीसमेत खुवाइन्छ। जसले गर्दा खःमेय् मोटोघाटो हुनुका साथै उग्र स्वाभावको बन्दै आउँछ।

महानवमीको दिन जात्रा गरिँदा सयौं भक्तजनको भीड छिचोलेर खःमेय्लाई करिब दुई किलोमिटर दौडाएर भक्तपुर नपा— ९ स्थित ब्रह्मायणी मन्दिर पुर्याइन्छ। खःमेयलाई नवदुर्गा द्योछेंबाट गछें, साकोलान, सलाँ गणेश, तचपाल, तौला तुन्ही, तौलाछें, च्याम्हासिंह, देगइना हुँदै ब्रह्मायणी मन्दिर दौडाइन्छ।

खःमेय् दौडाउने जात्राको क्रममा हनुमन्ते खोलामाथि बनेको पुलबाट नलगी सीधै खोलाबाट लगिन्छ। यसबेला भक्तजनहरूले राँगोमाथि पानी छ्यापाछ्याप गर्छन्। जुन दृश्य हेर्नलायक हुन्छ। यस कार्यलाई खःमेय्लाई चोख्याउने भनिने संस्कृतिकर्मी धौभडेल बताउँछन्।

ब्रह्मायणी मन्दिर पुर्याइएको खःमेय्लाई मासाहुती यज्ञको आयोजना गरी वध गरिन्छ। भक्तपुर तलेजुका रकमी खड्गीहरूले खःमेय्को रगत नवदुर्गा देवगणले लाउने मुकुन्डोमा चढाउँछन्। यसरी नवदुर्गा देवगणलाई तृप्त गरेपछि बाँकी रगत माटोको भाँडोमा जम्मा गरिन्छ। यसलाई भैलकोंचा भनिन्छ। जुन भैलकोंचा नवदुर्गा द्योछेंमा लगेर राखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.