काठमाडौंमा विद्युतीय बस सञ्चालन (फोटो फिचर )
काठमाडौं : साझा यातायातले मंगलबारदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक साझा यातयातले चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो।
ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बसको उद्घाटन गरे। बस सञ्चालनमा ललितपुर महानगरपालिकाको पनि सहकार्य रहेको साझा यातायात सञ्चालक समिति सदस्य भुषण तुलधारले बताए। बस सेवा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०३० भित्र इन्धनवाला सवारी विस्थापित गरी विद्युतीय सवारीसाधन सञ्चालन गरेर वातावरणमैत्री मुलुक निर्माण गर्ने बताए। इन्धनमा परनिर्भर हुनुपर्ने नेपालजस्तो मुलुकमा विद्युतीय गाडी आवश्यक रहेको ओलीले बताए।
साझाले पहिलो चरणमा पाँचवटा बस सञ्चालनमा ल्याउने तयारी थालेको साझा यातयात सञ्चालक समिति सदस्य तुलधारले बताए। दुईवटा बस सोमबारदेखि संचालनमा आएका छन् भने बाँकी तीनवटा ल्याउने क्रममा रहेको उनले जानकारी दिए।
बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले सन् २०३० भित्र इन्धनबाट चल्ने सवारीसाधनलाई विस्तापित गरी विद्युतीय बस प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ। चीन र भारतले तोकिएकै समयभित्र विद्युतीय सवारी प्रयोग गर्ने निर्णय गरेसँगै नेपाल सरकारले पनि विद्युतीय सवारी प्रयोग गर्ने घोषणा गरेको थियो।
नेपालमा हाल इन्धनबाट गुड्ने सवारीसाधनको संख्या ३० लाख नाघेको छ। जसमा १२ लाख उपत्यकाभित्रै गुड्ने गरेको यातयात व्यवस्था विभागको तथ्याङक छ। इन्धनबाट चल्ने गाडीबाट निष्कने साना कणको धूलो (पिएम २.५ भन्दा सानो ) ले वायुमण्डल प्रदूषित बनाएको विज्ञहरुको भनाइ छ । प्रदूषणमध्ये सबैभन्दा धेरै ३८ प्रतिशत वायु प्रदूषण रहेको छ, यसको मुख्य कारण इन्धनबाट उब्जिएको धूलो नै रहेको अध्यनले देखाएको छ।
एसियाली विकास बैंकको सहयोगमा ल्याइएको बस साझा यातयातको व्यवस्थापनमा सञ्चालन हुनेछ। बस चालकसहित २० सिट क्षमताको छ। बसमा यात्रुलाई उभिएर यात्रा गर्नेका लागि ह्याङगरको सुविधा छ। साथै सुरक्षाका लागि सीसी क्यामरा समेत जडान गरिएका छन्।
वायु प्रदूषण न्युनिकरण गर्न मात्र नभएर विद्युतीय बस सेवा सस्तो, सुलभ र भरपर्दो हुने भएकाले बसको संख्या थप्दै जाने सञ्चालक कम्पनीको जनाएको छ। ठूलो विद्युतीय बस उत्पादन गरी चीनलगायत विश्वका ५० बढी देशमा सञ्चालन गरि सकेको बीवाईडी कम्पनीले नेपालमा समेत बस सेवा विस्तारमा सहयोग गर्ने भएको छ। कम्पनीले दुई वर्ष भित्रमा नेपालभर ५० ओटा चार्जिङ स्टेसन बनाउने घोषणा गरेको छ।
९.५ मीटरदेखि १२ मीटरसम्म लामो रहेका यि बस भित्री सहरमा समेत गुड्न सक्ने छ। खरिद महंगो भएपनि सञ्चालन खर्च सस्तो र दीगो हुने भएकाले इन्धनका गाडी भन्दा विद्युतीय गाडी सस्तो हुने सञ्चालक कम्पनीको दावी छ।
यातयात व्यवस्था विभागले हालसम्म वेला कम्पनीको ग्लोरिया, पोल्स, एस्प्रो, डुरो, स्मल स्प्रोटिभ मोडलको स्कुटर र कारमा भारतको रेवा, कोरियाको किया सोउल, चीनको बिवाइडी ई-सिक्स, इओएनइ फोर मोडलको साना गाडीलाई उपत्यकामा गुड्ने अनुमती दिएको छ। कार र स्कुटर गरी करिब तीन सय विद्युतीय सवारी गुड्दै आएको विभागले जनाएको छ।