संघीय शासनबाट देश पछि हट्दैन : मुख्यमन्त्री गुरुङ
स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मुलुकमा संघीय शासन बदलेर अन्य कुनै शासन प्रणाली नआउने बताएका छन् ।
हरिनास गाउँपालिका–२ स्थित महिमा माध्यमिक विद्यालयमा आयोजित श्रीमद्भागवत धनधानाञ्चल महायज्ञको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले मुलुक संघीय शासन प्रणालीमा अघि बढिसकेको बताउँदै अव पछि नहट्नेमा जोड दिए ।
सहर र गाउँ बीच विकासको खाडल र जातजाती र वर्गबीच बिभेद मेटाउन र समाजवादतर्फ जान पनि संघीयता आवश्यक रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।आमाको गर्भमा रहेका शिशुसँग यो व्यवस्थालाई तुलना गर्दै उनले भने, ‘केही बच्चा बिरामी जन्मन सक्छन्, त्यस्ता बच्चालाई असल र पोषणयुक्त हुर्काइले राम्रो बनाउन सकिन्छ ।’
साथै मन्त्री गुरुङले ००७ सालदेखि विदेशीसँग मागेरै चलेको देश अब मागेर नचल्ने बताए । यसका लागि उनले व्यवसायीलाई अवसर प्रदान गर्दै कर उठाउनुपर्नेमा जोड दिएका थिए ।