कांग्रेस विधानको मस्यौदा लेखिँदै

कांग्रेस विधानको मस्यौदा लेखिँदै

काठमाडौं : कांग्रेसको विधान–मस्यौदा समितिले पार्टी विधानको अन्तिम मस्यौदा लेख्ने काम सुरु गरेको छ। प्रदेश स्तरीय भेलाबाट सुझाव संकलन गरेका समितिले फूलपातीसम्म बैठक गरेर संकलित सुझाव कसरी समेट्ने भन्ने टुंग्याएका थिए। समितिले सुझाव टुंग्याएपछि केही सदस्यलाई प्रारम्भिक मस्यौदामा त्यसलाई समेटेर अन्तिम मस्यौदा लेख्न खटाइएको छ। समिति सदस्यहरू रमेश लेखक, आनन्दप्रसाद ढुंगाना र दिलेन्द्रप्रसाद बडू समिति संयोजक पूर्णबहादुर खडकाको संयोजनमा अन्तिम मस्यौदा लेख्न व्यस्त छन्। उनीहरूले यसै साताभित्र अन्तिम मस्यौदा तयार पार्ने समितिले जनाएको छ।

समिति संयोजक खड्काले भने, ‘हामीले फूलपातीसम्म एक चरणको काम सकेका थियौं।’ टीकालगत्तै अन्तिम मस्यौदा लेखनको काम सुरु गरिएको पनि उनले जानकारी दिए। समिति सदस्य ढुगांनाले फूलपातीसम्म समितिको बैठकले गरेका कामका आधारमा अन्तिम मस्यौदाको खाका बनाउन थालिएको बताए। केही प्रमुख बुँदामा समितिले पार्टीका शीर्ष नेताबीच सहमति गरी मस्यौदाको अन्तिम टुंगो लगाउने तयारी गरेको छ।

समिति सदस्य नवीन्द्रराज जोशीका अनुसार सुझाव संकलन र यसअघि पेस गरिएको प्रारम्भिक प्रतिवेदनमाथि समितिले फूलपातीसम्म बुँदागत रूपमै केलाएर छलफल गरेको थियो। जोशीले भने, ‘हामीले द्रुत गतिमा काम गरेका थियौं।’ यसअघि समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा सभापतिको अधिकार बलियो बनाउन लागेको भन्दै पार्टी शीर्ष तहबाटै असन्तुष्टि आएको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले दसैंअघि सभापतिइतर सबै नेता बोलाएरै त्यसबारे छलफलसमेत गरेका थिए। समिति सदस्य प्रदीप पौडेलका अनुसार समितिमा आएका सुझावसमेत महत्वपूर्ण भएकाले अहिले त्यसलाई कसरी समेट्ने भन्नेमै समिति केन्द्रित भएको बताए। उनले भने, ‘५० देखि ६० प्रतिशत सुझाव अन्तिम मस्यौदामा समेटिने सम्भावना छ, केही प्रमुख विषय शीर्ष नेताहरू बसी टुंग्याउनुपर्ने देखिएको छ, दसैं बिदापछि गर्ने कुरा थियो, त्यो पनि हुन्छ।’

समितिले कठिन मानेको महाधिवेशन प्रतिनिधि चयनदेखि केही महत्वपूर्ण विषय टुंगो लगाइसकेको छ। प्रादेशिक संरचनामा निर्वाचन क्षेत्रसमेत बनिसक्दा कांग्रेसलाई महाधिवेशन प्रतिनिधि चयन कसरी गर्ने भन्नेमा सकस थियो। समितिले प्रदेश, स्थानीय तहलगायत महत्वपूर्ण समितिबारे समेत टुंगो लगाइसकेको नेताहरूले बताएका छन्। आठ तहको पार्टी संरचनामा जान लागेको कांग्रेसले कुन तहलाई कति अधिकार दिने समेत टुंग्याएको छ।

पार्टीको संरचनामा संघीय प्रणाली अपनाउन लागेको कांग्रेसले प्रादेशिक र स्थानीय तहको संरचनालाई बलियो बनाउने कसरतमा छ। साथै जिल्ला तहको संरचना पनि प्रभावकारी बनाइने नेताहरूले जनाएका छन्। हालै सात प्रदेशमा भएको विधानमाथिको छलफलका सहभागी स्थानीय नेताहरूले केन्द्रीय कार्यसमितिदेखि नै स्थानीय तह प्रभावकारी बनाउन सुझाएका थिए। समिति सदस्य ढुगांनाका अनुसार समितिले यसबारे गहन गृहकार्य गरेको बताए। उनले भने, ‘हामीले प्रदेश र स्थानीय तहलाई बलियो बनाउन लागेका छौं।’

साथै कांग्रेसले क्षेत्रीयदेखि माथि सबै तहका समितिका निर्वाचनको टिकट बाँड्ने व्यवस्था गर्न लागेको छ। विधान समितिले कुन समितिले कुन तहको टिकट बाँडनेसम्मको खुलाउन लागेको ढुंगानाले बताए। समितिले सदस्यताबारे पनि टुंगो लगाएको छ। प्रारम्भिक मस्यौदामा चार प्रकारको सदस्यताको व्यवस्था गर्न समितिले सिफारिस गरेको थियो।

कांग्रेसको चियापान कात्तिक १६ मा 
कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ती जारी गर्दै ७ कात्तिकका लागि तय गरिएको कार्यक्रम सारिएको जनाएका छन्।

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण पूर्वनिर्धारित कार्यक्रम पर सारिएको कांग्रेसले जनाएको छ। कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको थियो। चियापान कार्यक्रम कात्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा आयोजना हुनेछ। जिल्ला तहमा पनि यस्तै कार्यक्रम गर्न कांग्रेसले सर्कुलर गरेको छ।

कांग्रेस संस्थापक नेता वीपी कोइरालाले विसं. २०३३ मा भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएपछि वडादसैंको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम आयोजना सुरु गरेका थिए। वीपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले यो परम्परालाई निरन्तरता दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.