कैलालीको कुसुमघाटको सिंगै गाउँ लालपूर्जाबिहीन

कैलालीको कुसुमघाटको सिंगै गाउँ लालपूर्जाबिहीन

टीकापुर : कैलालीको सीमावर्ती भजनी नगरपालिका- ३ को कुसुमघाट गाउँ दशकौंदेखि लालपूर्जाबिहीन छ।भारतसँग जोडिएको कुसुमघाट गाउँको जग्गा हालसम्म पनि नापी नहुँदा सिंगै गाउँ लालपूर्जाबिहीन भएको हो। 

स्थानीयका अनुसार २०२४ सालबाट बसोबास हुँदै आएको उक्त गाउँको झण्डै ५ सय बढी विघा जग्गा लालपूर्जाबिहीन छ। द्वन्द्वकाल भन्दा पहिले निकै बाक्लो बस्ती रहेको उक्त गाउँमा लालपूर्जा नभएकै कारण त्यहाँका बासिन्दा अन्यत्र विस्थापित हुँदै आएका छन्। 

हाल उक्त गाउँमा १ सय ९ घरपरिवार बसोबास गर्दै आएको स्थानीय दुर्गा माध्यमिक विद्यालयका शिक्षक रमेश बोहराले बताए। 'पूरै गाउँ नै लालपूर्जाबिहीन छ, शिक्षक बोहराले भने, 'जसका कारण केही वर्षअघिसम्म बाक्लो बस्ती रहेको यो गाउँमा हाल १ सय ९ परिवार मात्रै बसोबास गर्दै आइरहेका छन्।'

 
नेपाल र भारतको दशगजा क्षेत्रसँगै जोडिएको उक्त गाउँमा एक पटक आएको नापी सर्भे टोलीले प्रति व्यक्तिका नाममा एक विघा जग्गा मात्र दर्ता गर्न सकिने बताएपछि स्थानीयले विरोध गर्दा उक्त जग्गा नापी हुन सकेको थिएन। 

मोहना नदी भन्दा पारीको भारतीयभूमिसँगै जोडिएको क्षेत्रमा बसोबास गर्दै आएका कुसुमघाटबासी भारतीय डाँकाको आक्रमणबाट बच्न २०२४ सालमा जंगल फाँडेर बसोबास सुरु गरेको स्थानीय हर्क साउँदले बताए। 

'हाम्रा पूर्खाहरुले २०२४ सालमा जंगल फाँडेर यो बस्ती बसाएका हुन्, साउँदले भने, 'पहिले मोहनापारी बसोबास थियो, भारतीय डाँकाको समूहले लुटपाट गर्न थालेपछि यो गाउँमा बसोबास सुरु भयो।'

पटक-पटक जग्गा नापीका लागि स्थानीयले पहल गर्दै आइरहेको भए पनि नापी हुन नसक्दा कुसुमघाटबासी लालपूर्जाबिहीन हुनु परेको हो।  गाउँका एकजनासँग पनि लालपूर्जा भएको जग्गा छैन। जग्गा भएर पनि लालपूर्जा नहुँदा उनीहरुले जग्गाको कारोबार गर्न पाउँदैनन्। घरपरिवार अंशवण्डा हुँदा समेत कानुनी रुपमा जग्गाको अंशवण्डा हुँदैन। लालपूर्जा नहुँदा गाउँलेले जग्गाको खरिद बिक्री समेत गर्न पाएका छैनन्। 

'वर्षौंदेखि बसोबास गरेको जग्गा छोड्न पनि सकिँदैन, लालपूर्जा पनि छैन, साउँदले भने, 'जसले गर्दा हामीलाई जग्गाको खरिदबिक्री गर्न र अंशवण्डा गर्न समस्या भइरहेको छ। कुसुमघाट भारतीय बजार तिकुनियाँसँग जोडिएको सीमा नाका हो। द्वन्द्वअघि उक्त गाउँमा सुनाहाफाँटा छोटी भन्सार कार्यालय रहेको थियो। 

कैलालीको मध्यवर्ती क्षेत्रबाट निकै चल्तीको नाका मानिने कुसुमघाटमा एउटा सरकारी विद्यालय रहेको छ। त्यहाँका बासिन्दाका लागि बाटोहरु निर्माण गरिएका छन्। सीमा क्षेत्रमै जोडिएको बस्ती नै लालपूर्जाबिहीन हुँदा भने गाउँलेले भारतीय नागरिकबाट समेत विभिन्न समयमा दुःख पाउँदै आएका छन्।

भारतीय सुरक्षा बल एसएसबीले समेत बेला बेला त्यहाँको बस्ती उठाउने प्रयास गरिरहेको हुन्छ। स्थानीय पदम बोहराले कुसुमघाटको बस्ती नभए नेपालको सीमा नै सुरक्षित नहुने बताए।  
'पटक-पटक भारतीय सुरक्षा निकायले सीमा स्तम्भ सार्ने गरेको छ, हाम्रा घरहरु भत्काउने धम्की दिइरहेको छ, बोहराले भने, 'हामी देशको सीमा रक्षक भएर बसिरहेका छौं, हाम्रै जग्गाको लालपूर्जा छैन।'

स्थानीय गाउँले सरकारले जग्गाको लालपूर्जाका लागि चासो नदेखाएको आरोप लगाउँदै आएका छन्। भजनी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विक्रम चौधरीले भने कुसुमघाटको जग्गा नापी सर्भेका लागि प्रक्रियामा रहेको बताए। उनले नापी विभागसँग नगरपालिकामार्फत् समन्वय गरेर छिट्टै नापी गराउने तयारी भइरहेको बताए।
 
'हामी नापी विभागसँग सम्पर्कमा रहेका छौं, अब केही समय लाग्ला तर उक्त जग्गाको नापीका लागि हामी पहल गर्दैछौं, अध्यक्ष चौधरीले भने, 'त्यो गाउँमा लालपूर्जा नहुँदा स्थानीयबासीले निकै समस्या भोग्नु परेको छ।'

लामो समयदेखि भोगचलन गर्दै आइरहेको जग्गाको लालपूर्जा सास्ती खेप्दै आइरहेका कुसुमघाटबासीले लालपूर्जा पाउनुपर्ने माग गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.