जुम्लाका बुढा च्याम्पियन
भैरहवा: विश्व पोलियो दिवसका अवसरमा भैरहवाका रोटरी इन्टरनेसनल क्लबहरूले आयोजना गरेको १२ किलोमिटर दूरीको दौड जुम्लाका दुर्गाबहादुर पुन बुढाले जितेका छन्। उनले निर्धारित दूरी ३४ मिनेटमा पार गर्दै उपाधि चुमेका हुन्। प्रतियोगितामा राजविराजका अजितकुमार यादव दोस्रो भए। उनी पहिलो हुने बुढासँग केवल नौ सेकेन्डले पछि परेका थिए। उनले निर्धारित दूरी पार गर्न ३४ मिनेट नौ सेकेन्ड समय खर्चिए।
प्रतियोगितामा बागलुङका तीर्थ पुन तेस्रो भएको जानकारी रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले दिए। पुनले निर्धारित दूरी पूरा गर्न ३४ मिनेट ४२ सेकेन्ड लगाए। राष्ट्रिय स्तरका धावकको समेत सहभागिता रहेको उक्त दौडमा एक सय १८ जना खेलाडी सहभागी थिए। पहिलो हुने बुढाले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसैगरी दोस्रो भएका यादवले २१ हजार र तेस्रो भएका पुनले ११ हजार रुपैयाँ पुरस्कार हात पारे। दौडमा १०औं स्थानसम्म आउने धावक र महिला धावकलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको दौड बर्मेली टोल, नयाँसडक, जनकपथ, वसन्तपुर बाइपास, सशस्त्र क्याम्प डन्डा, आँखा अस्पताल, देवकोटाचोक, बैंकरोड, मिलनचोक हुँदै विद्रोही चोकमा पुगेर सकिएको थियो।
दौडमा धावकलाई हौसला प्रदान गर्न दक्षिण एसियाकै कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर पनि सहभागी भएका थिए। विश्वमा पोलियो नियन्त्रण गर्न अहम भूमिका निर्वाह गर्दै आएको रोटरी इन्टरनेसनल र त्यसका शाखाहरूले प्रत्येक वर्ष विश्व पोलियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउँदै आएका छन्।
विश्वलाई पोलियो मुक्त घोषणा गरिए पनि हालै पाकिस्तान, अफगानिस्तान, नाइजेरियामा लगायतका देशमा पोलियो देखिएको भन्दै त्यसलाई अन्य मुलुकमा फैलन नदिन जनचेतनामूलक म्याराथन आयोजना गरिएको जानकारी रोटरी क्लब अफ भैरहवाका अध्यक्ष सञ्जीव शर्मा रेग्मीले दिए।