बार्सिलोना र लिभरपुलको सजिलो जित

बार्सिलोना र लिभरपुलको सजिलो जित

बार्सिलोना : युरोपियन च्याम्पियन्स लिग फुटबलको बिहीबार बिहान खेलिएको खेलमा स्पेनिस ‘पावर हाउस’ बार्सिलोना र इङ्लिस क्लब लिभरपुलले आआफ्ना प्रतिद्वन्द्वीमाथि सजिलो जित हात पारेका छन्। आफ्ना स्टार खेलाडी लियोनल मेसी बिना नै मैदानमा ओर्लिएको बार्सिलोनाले बलियो इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानलाई २—० गोलले हरायो। लिभरपुलले भने सर्बियन क्लब एफके कर्भेना भेजदालाई ४—० गोलले पाखा लगायो। बार्सिलोना र लिभरपुल दुवैले घरेलु मैदानमा जित हात पारेका हुन्।

समूह ‘बी’ अन्तर्गतको खेलको ३२औं मिनेटमा राफिन्हाले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए। ८३औं मिनेटमा जोर्डी अल्बाले अर्को गोल थप्दै टोलीलाई सजिलो जित दिलाए। बार्सिलोनाले आफ्नो समूहमा हालसम्म खेलेका तीनवटै खेल जितेको छ। गत शनिबार खेलिएको खेलका क्रममा हात भाँचिएका कारण बार्सिलोनाका चर्चित खेलाडी मेसी मैदानमा ओर्लिएका थिएनन्।

सोही समूहको अर्को खेलमा डच क्लब पीएसभी आइनहोभेनले घरेलु मैदानमा बलियो इङ्लिस प्रतिद्वन्द्वी टोट्टनहामलाई २—२ गोलको बराबरीमा रोक्यो। खेल सुरु भएको ३०औं मिनेटमै हिर्भिङ लोजानोले भीएसभीका लागि पहिलो गोल गरेका थिए। त्यसको नौ मिनेटपछि नै टोट्टनहामका लुकास मोउराले जवाफी गोल गरे। ५५औं मिनेटमा टोट्टनहामका लागि ह्यारी केनले दोस्रो गोल गरे।

यसैगरी ७९औं मिनेटमा आफ्ना अनुभवी खेलाडी ह्युगो लोरिस सीधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोट्टनहाम १० खेलाडीमा समेटिन पुग्यो। त्यसैको फाइदा उठाउँदै निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि पीएसभीका लुक डे जोङले बराबरीमा गोल फर्काएका थिए। तीनवटै खेलमा विजयी भएको बार्सिलोना नौ अंकसहित पहिलो स्थानमा छ। ६ अंकसहित इन्टर मिलान दोस्रो, एक अंकसहित टोट्टनहाम तेस्रो र एक अंकसहित पीएसभी चौथो स्थानमा छन्।

समूह ‘सी’ अन्तर्गतको खेलमा लिभरपुलका लागि २०औं मिनेटमा रोबर्टो फर्मिनोले पहिलो गोल गरेका थिए। पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि मोहमद सलाहले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए। ५१औं मिनेटमा सलाहले नै पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल थपे भने ८०औं मिनेटमा साडियो मानेले चौथो गोल गरेका थिए। त्यसअघि ७६औं मिनेटमा उनी पेनाल्टी प्रहारमा गोल गर्नबाट चुकेका थिए।

सोही समूहको अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) घरेलु मैदानमै इटालियन प्रतिद्वन्द्वी नापोलीसँग २—२ गोलको बराबरीमा रोकियो। खेल सुरु भएको २९औं मिनेटमा नापोलीका लागि लोरेन्जो इनसाइनले पहिलो गोल गरे। ६१औं मिनेटमा नापोलीका मारियो रुईबाट आत्मघाती गोल भएपछि खेल १—१ को बराबरीमा पुगेको थियो।

यसैगरी ७७औं मिनेटमा ड्रिज मेर्टन्सले पुनः नापोलीलाई २—१ को अग्रता दिलाए। खेलको अन्तिम समयमा अनुभवी खेलाडी एन्जल डी मारियाले पुनः जवाफी गोल फर्काउँदै पीएसजीलाई सम्भावित हारबाट जोगाएका थिए। सहभागी चारवटै टोलीले तीन÷तीन खेल खेलिसक्दा लिभरपुल ६ अंकसहित पहिलो, नापोली पाँच अंकसहित दोस्रो, पीएसजी चार अंकसहित तेस्रो र भेजदा एक अंकसहित चौथो स्थानमा छन्।

समूह ‘ए’ अन्तर्गतको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले घरेलु मैदानमा बलियो स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई ४—० गोलले हरायो भने फ्रान्सेली क्लब मोनाकोले बेल्जियमको क्लब ब्रुगलाई उसैको मैदानमा १—१ गोलको बराबरीमा रोक्यो। उक्त समूहमा तीनवटै खेल जितेको बोरुसिया डर्टमन्ड नौ अंकसहित पहिलो, एट्लेटिको म्याड्रिड ६ अंकसहित दोस्रो, मोनाको एक अंकसहित तेस्रो र क्लब ब्रुग एक अंकसहित चौथो स्थानमा छन्।

यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा पोर्चुगलको एफसी पोर्टोले रुसको लोकोमोतिभ मस्कोलाई उसैको मैदानमा ३—१ गोलले हरायो भने टर्कीको गालातसारे आफ्नै मैदानमा जर्मन क्लब साल्केसँग गोलरहित बराबरीमा रोकियो। उक्त समूहमा चारवटै टोलीले तीन÷तीन खेल खेलिसक्दा सात अंकसहित पोर्टो पहिलो, पाँच अंकसहित साल्के दोस्रो, चार अंकसहित गालातसारे तेस्रो र हालसम्म खाता खोल्न नसकेको लोकोमोतिभ चौथो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.