सुपरहिट दी कार्टुन्ज क्रु
सामाखुसी, कपुरधारा नजिकै रातो घरमा ‘दी कार्टुन्ज क्रु’ को डान्स स्टुडियो छ। मध्यान्नतिर सरोज अधिकारी (२४) स्टुडियो आइपुगे। केही मिनेटको अन्तरालमा ग्रुपका अन्य साथीहरु पनि आए। सँधै फन्नी मुड। केही न केही उट्पट्याङ गरिरहने। त्यसमाथि ननस्टप बोल्ने बानी। एकअर्काको मजाक उडाउँदै हाँसखेल गर्ने।
यो ग्रुपमा बिबोइङ गर्न सबै माहिर छन्। त्यसमाथि आस्मा विश्वकर्मा (२२) छ जनाको ग्रुपमा एक मात्र केटी छिन्। पहिलो चोटी आस्माको डान्स देखेर केटाहरु नै छक्क परेका थिए। उनीहरु भन्न बाध्य भए, ‘यो केटी त हामी भन्दा खत्रा डान्स गर्दी रैछे।’
आस्मालाई सानैदेखि डान्समा रुचि रहेछ। तर घरबाट सपोर्ट थिएन। डान्सकै कारण स्कूल पढ्दा तीन वर्ष लगातार गाली मात्र खाएको उनलाई याद छ। ‘एकदिन आमाले डान्स प्राक्टिस गर्ने ठाउँबाट कुट्दै घर लग्नु भयो,’ आस्मा भन्छिन्, ‘त्यतिबेला मेरो एसएलसी चलिरहेको थियो। नपढेको भनेर कुट्नु स्वाभाविक थियो।’ अहिले भने परिवारको माया र साथ दुवै पाएको उनी बताउँछन्।
सरोजको कहानी पनि उस्तै छ। त्यसमाथि उनको घरको आर्थिक अवस्था कमजोर थियो। ‘सानोमा टिभी हेर्न छिमेकीको घर जानु पथ्र्याे’, उनी भन्छन्। माइकल ज्याक्सनको मृत्युपछि डान्समा रुचि दिन थालेको सरोज बताउँछन्, ‘एक डान्सरको मृत्युले संसार हल्लाएको देखेर म चकित थिएँ’, उनी भन्छन्, ‘त्यसपछि मैले उनका सबै भिडियो थुपै्र पटक हेरेँ।’
दी कार्टुन्ज क्रु ग्रुपमा बिबोइङ गर्न सबै माहिर छन्। ‘पानी पर्यो बोल’को म्युजिक भिडियोबाट एकाएक यो ग्रुप हाइलाइटमा आएको हो।
कक्षा ६ मा पढ्दै गर्दा पत्रिका बेच्दै हिँड्ने सरोज स्नातक पढ्दै गर्दा रेन्टुरेन्टमा वेटरको काम गर्थे। अरु साथीहरु पनि भेट भएपछि दिनमा वेटर र रातमा त्यहीँको पार्टी प्यालेसमा डान्स गरे। भन्छन्, ‘आर्थिक अभावका कारण मैले पढाइ पुरा गरिन। जहाँ पैसा आउँथ्यो त्यतै मात्र दौडिएँ।’ सरोज अहिले दी कार्टुन्ज क्रुका चियरपर्सन हुन्। म्युजिक भिडियोको कन्सेप्टदेखि कोरियोग्राफी प्रायः उनैले हेर्छन्।
गु्रपका अन्य सदस्यमा लाख्पा डि. लामा (२२), राम घले (२३), सुबिन चौहान (२२),साजन चौहान (२३) र सुवास मगर (२३) को पनि आस्माको जस्तै कहानी छ।
सुबिनलाई त झन् पढाइप्रति रुचि नै थिएन रे। आमाको पैसा चोर्दै डान्स सिक्न गएको सम्झँदै उनी भन्छन्, घरबाट पानी लिन जान्छु भन्दै ग्यालिन बोक्थेँ र डान्स स्टुडियोतिर घण्टौं हराउथेँ। साजन चौहान सुबिनका दाइ हुन्। उनी पहिले त फुटबलमा रुचि राख्थे। पछि भाईकै कारण उनलाई डान्समा रुचि बढ्यो।
गु्रपका अर्का डान्सर सुवास तीन वर्ष मलेसिया बसे। त्यहाँबाट फर्केर डान्स नै गर्न थाले। उनी हाँस्दै भन्छन्, ‘सुरु सुरुमा त तीन हजारको चाइनिज मोबाइलमा गीत घन्काउँदै नाच्थेँ।’ त्यस्तै डान्स सिक्ने क्रममा लाख्पाले मोर्डन डान्स गर्थे र राम हिपहप।
०००
डान्स ग्रुपहरु प्रायः इन्टरनेसल कम्पिटिसनमा जान खोज्छन्। तर कार्टुन्ज क्रु त्यस्ता कम्पिटिसनमा भाग लिएर अझै बढी होपलेस भएको थियो। २०११ मा भएको ‘ब्याटल अफ दी इयर’ जितेपछि यो ग्रुप दोस्रो चरणमा भाग लिन इन्डिया पुगेको थियो। ‘त्यही समय हो यो डान्स गरेर केही हुन्न जस्तो लाग्यो हामीलाई, ’सरोज भन्छन्, ‘१३/१४ दिनसम्म एक छाके भएर बस्यौं।’
कम्पिटिसनका दिन डान्स गर्दा शरीरमा इनर्जी नपुगेर सबै कामिरहे, त्यो रात सबै रोए। जिन्दगीमा कहिल्यै डान्स नगर्ने निर्णय समेत गरे। नेपाल फर्किएपछि धेरैले ग्रुप छाडे। त्यसपछि सरोज र पेम्बा लगायतका केही साथी मात्र बाँकी भए। आज यो ग्रुपको काम सबैले मन पराएका छन्। यतिसम्म कि म्युजिक भिडियो पनि कार्टुन्ज क्रु ले बनाएजस्तै बन्न थालेका छन्।
०००
डान्सलाई निरन्तरता दिँदै जाँदा अहिले कार्टुन्ज क्रु सफल डान्स गु्रप बनेको छ। यो गु्रपबाट इन्स्पाएर हुनेहरु पनि धेरै छन्। युथहरुमा अझै बढी क्रेज छ। दी कार्टुन्ज क्रुको ‘ड्रिम बीग’ यही स्लोगन नै काफी छ। परिस्तिथि चाहेजस्तो सुकै होस् सपना देख्न छाड्नु हुन्न। सायद यही उद्देश्य हुनु पर्छ यो ग्रुपको। एक म्युजिक भिडियोमा करोडौंको भ्यु। जुन गीतलाई छोयो, त्यो रातारात हिट। संघर्षका दिनहरु सम्झँदै उनीहरु भन्छन्, ‘धेरैलाई लाग्छ, हामी रातारात सफल भयौं तर हाम्रो लामो संघर्ष कसले पो देखेको छ र ? ’
यो ग्रुपका सबैजनाले डान्स गर्न थालेको औसतमा एक दशक भए पनि चर्चा पाउन थालेको मात्र ३ वर्ष भयो। ‘पानी प¥यो बोल’को म्युजिक भिडियोबाट एकाएक यो ग्रुप हाइलाइटमा आएको हो। त्यसपछि यो ग्रुपले डान्स गरेका ‘पारी त्यो डाँडामा’, ‘नाईं मलाई थाहा छैन’, ‘नीरा जहिले रिसाउने’, ‘सेल्फी हानौंला’ जस्ता थुप्रै म्युजिक भिडियो धेरैले मन पराए। सुरु सुरुमा कभर सङमा डान्स गर्दै आएपनि हाल आफ्नै नयाँ नयाँ म्युजिक भिडियो बनाउन दी कार्टुन्ज क्रु लाई भ्याइ नभ्याइ छ।