'सोसल मिडियाबारे स्कुलमै पढाउनुपर्छ'
अनिल घिमिरे (आकार अनिल) पेसाले आईटी विज्ञ हुन्। इन्टरनेट मार्केटिङ व्यवसायमा संलग्न छन्। २००७ सालदेखि नै उनले आकार पोस्ट डट कम नामक ब्लग सुरु गरेका थिए। काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इन्जिनियर पढेका उनी इन्टर्नसिपका लागि भारतको बैंगलोर पुगेका थिए। त्यतिबेला भर्खरै सामाजिक सञ्जाल सुरु भएको थियो। त्यहाँ पुगेपछि उनले यस विषयमा थप जान्ने मौका पाए। नेपालमा सोसल मिडियाको अवस्था, उपयोग, दुरुपयोग र ट्रेन्डबारे उनीसँग अजवी पौड्यालले गरेको कुराकानी:
सामाजिक सञ्जाल प्रयोगकर्ता बढ्दैछन्। यसको ट्रेन्ड कस्तो पाउनुहुन्छ?
नेपालमा करिब सन् २००४ सालदेखि सोसल मिडियाको प्रयोग गर्न थालिएको हो। २०१२ पछाडि यसको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा व्यापक वृद्धि भयो। २०१२ मा नेपालमा फेसबुकको प्रयोगकर्ता १० लाख थिए। अहिले यसको संख्या बढेर एक करोड पुगिसक्यो। सोसल मिडियाको प्रयोग गर्नु सकारात्मक कार्य हो। यसलाई चलाउन नजानेर मात्रै विभिन्न प्रकारका घटना घट्ने गरेका छन्। सदुपयोग गर्न जान्ने हो भने मानिसलाई यो अत्यन्त उपयोगी हुन्छ।
सोसल मिडियाको दुरुपयोगले अपराध बढ्यो भन्छन् नि!
त्यो पनि हो। तर, आपराधिक मानसिकता भएकाले जहिले पनि अपराध गरिरहेकै छन्। अरूलाई ठग्न, झुक्याउन र गलत तरिकाले पैसा आर्जन गर्न यसलाई सजिलो माध्यम बनाइयो। कतिले त फेक आईडीको सहायताले एक ठाउँमा बसेर अर्को ठाउँमा समेत अपराध गरिरहेका हुन्छन्। यसको समाधानका लागि प्रयोगकर्ता नै सजक र सचेत हुनुपर्छ।
हाम्रोमा इन्टरनेटको बारेमा सिकाइँदैन। प्रयोगकर्ता आफैंले सिक्दै जान्छन्। इन्टरनेटका बारेमा सिकाउँदै जानुपर्ने रहेछ, होइन?
हामीलाई जे कुरा पनि नियम बनाएर मात्र सिकाइने गरिन्छ। फेसबुकमा कसैलाई अश्लील गाली ग¥यो भने ‘तँलाई दण्ड हुन्छ है’ भनेर सिकाइन्छ। तर, ‘अपराध गर्नु हँदैन’ भनेर नैतिक नियम कतै सिकाइँदैन। समाजमा पोजेटिभ कुराभन्दा नेगेटिभ कुरा चाँडै फैलिन्छ। यो गलत प्राक्टिस हो। स्कुल लेभलको पाठ्यक्रममै सोसल मिडियाबारे सिकाउनुपर्छ।
हाम्रोमा त इन्टरनेट भन्नासाथ दिमागमा फेसबुक आइहाल्छ। हाम्रो बुझाइमै किन गडबढी हुँदै आयो?
सत्य हो। हाम्रोमा धेरैले इन्टरनेट पनि मोबाइलबाट मात्रै चलाउँछन्। फेसबुक एपको बनोट नै मोबाइलमैत्री छ। गाउँघरमा पनि डाटा ‘अन’ गरेरै फेसबुक चलाउने संस्कृति बढेको छ। इन्टरनेटमा अन्य कुरा पनि चलाउन सकिन्छ भन्ने धेरैलाई थाहै छैन। अहिले ट्रेन्ड बदलिँदै छ। घरमै बसेर अनलाइनमै धेरै काम गर्ने युवाहरू अहिले छन्।