क्रिकेटका लागि स्कुले विद्यार्थी जुटे मुठ्ठी दान अभियानमा
महोत्तरी : क्रिकेट टुर्नामेन्ट गर्नका लागि महोत्तरीको बर्दिबास नगरपालिका- ३ बिजलपुराका युवाहरु मुठ्ठी दान अभियान संचालनमा जुटेका छन्। आफूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन स्कुले विद्यार्थी मुठ्ठी दान अभियानमा जुटेका हुन्। हिन्दुहरुको महान चार्ड दिपावली तथा छठ पर्वको उपलक्ष्यामा सात दिने क्रिकेट खेलको आयोजना हुने भएको छ।
स्थानीय सुखलाल महतो अध्यक्षतामा क्रिकेट खेल संचालन समिति गठन गरेर गाउँले युवाको क्रिकेटप्रतिको रुची आत्मसाथ गरेर बर्दिबास नगरपालिका स्तरीय खुल्ला क्रिकेट टुनामेन्ट 'बिजलपुरा कप- ०७५' संचालन गर्ने निर्णय गरेको छ।
'बिजलपुरामा तीनवटा क्रिकेट खल्ने युवाको टिम छ। तर, उनीहरुलाई खेल समाग्रीदेखि जर्सीको अभाव छ, तर, पनि उनीहरुले गाउँगाउँमा हुने क्रिकेट टुर्नामेन्टमा शिल्ड जितेको स्थानीय केन्द्रबहादुर आलेले जनाए।
प्रतिभालाई सम्मान गर्न र गाउँबाट समाज र राष्ट्रको पहिचान बनाउन खेल संचालन गर्ने निर्णय गरेपनि उनीहरुसँग आर्थिक अभाव छ। खेलमा आर्थिक सहयोग जुटाउन गाउँका स्थानीय नेपाली समाजमा लोकप्रिय मानिएको मुठ्ठी दान अभियानलाई प्रयोग गरेर क्रिकेट टुनामेन्टलाई सफल बनाउन लागेको मुठ्ठी दान संकलन समितिका अध्यक्ष भेषबहादुर मगरले बताए। 'गाउँका युवामा क्रिकेट प्रतिको लगावले नगरपालिका स्तरीय खेल आयोजना गर्ने निर्णयमा पुग्यौं, 'उनले भने,'कृषकको बसोबास बिजलपुरा छ । तर, नयाँ पुस्ताले क्रिकेट खेलेर हाम्रो गाउँमा नयाँ परिचय थपेको छ।'
एक सातासम्म चल्ने खेलमा कम्तिमा दुई लाख खर्च हुने आयोजकले जनाएको छ।खेल यहि कात्तिक ११ गतेबाट संचालन हुने क्रिकेट खेल आयोजक बिजलपुरा स्पोर्ट टिमका कपतान ज्ञानेन्द्र सिंहले जनाए।उनले खेलमा बर्दिबास नगरपालिका दुई दर्जन क्रिकेट टिमको सहभागिता रहने बताए।
खेल मैदान व्यवस्थान गर्न गाउँलेले पनि युवालाई सघाइ रहेका छन्। बर्दिबास नगरपालिका गाउँ टोलमा युवा लागूऔषधको दलदलमा फसिरहेको बेला एक जमात युवाहरु गाउँमा लुकेर बसेको प्रतिभालाई उजागर गर्न लागेको स्थानीय शिक्षक सञ्जित कुमार महतोले खुशी व्यक्त गरे।
चाडपर्वको समयमा घर आएको बेला गाउँका युवाले क्रिकेट खेल संचालनका लागि मुठ्ठी दान अभियना संचालन गरेको देख्दा खुसी लागेको बताए।उनले भने, 'गाउँमा सबैको मुखबाट क्रिकेट टुर्नामेन्ट हुँदैछ भन्ने सुन्दा मन फुरुङ्ग भयो।त्यसैलै खुशी भएर मुठ्ठी दान अभियानमा सघाइरहेको छु।'