लुकी–लुकी जिम जान्थे मिलन

लुकी–लुकी जिम जान्थे मिलन

असोज २० गते काठमाडौँमा भएको १५ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा मिलन सिजापती विजेता भए। शहीद धर्मभक्त माथेमाको स्मृतिमा ३३ वर्षयता सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो। जुन काठमाडौँको ज्याठास्थित व्यायाम मन्दिर क्लबले आयोजना गर्दै आइरहेको छ। 

२५ वर्षयता शारीरिक सुगठन खेलमा लागिपरेका छन्, ४२ वर्षीय मिलन। ‘यहाँसम्म आइपुग्न २५ वर्ष लागे,’ उनी भन्छन्। प्रतिकूल शारीरिक अवस्था हुँदाहुँदै पनि लुकी–लुकी शारीरिक सुगठन सिकेको उनी बताउँछन्।

‘१२ वर्षको हुँदा मलाई टाइफाइड भयो,’ उनी सम्झिन्छन्, ‘हेलचक्य्राइँ गरेँ। टाइफाइड बिग्रिएपछि प्यारालाइसिस भयो।’ हातखुट्टा नचलेपछि उनी लामो समय बेडमै सीमित भए। ‘जीवनको मुश्किल समयमा परिवार र आफन्तको साथ पाएँ,’ उनी भन्छन्, ‘उहाँहरूले ‘भविष्यमा यसको के होला ?’ भन्नुहुन्थ्यो। उहाँहरूको माया मलाई दया लाग्न थाल्यो। दयाले पीडा दिन्थ्यो। त्यही बेला केही गर्छु भन्ने अठोट लिएँ।’

 
निरन्तरको उपचारपछि मिलन बिस्तारै हिँड्न सक्ने भए। तर, डाक्टरको सुझाव थियो– ‘कुनै पनि भारी चिज नउचाल्नू। आगोको नजिक नजानू।’ प्यारालाइसिस हुँदा बेडमा गरेको अठोटले उनलाई झकझकाइरहन्थ्यो। उनलाई शारीरिक सुगठन खेल मन पर्थ्यो। त्यही खेलमार्फत केही गर्ने सोच बनाए। तर, परिवारले मानेन।

‘शारीरिक अवस्था प्रतिकूल छ, कसरी खेल्छौ,’ भन्नुहुन्थ्यो। कुने पनि कुराको पर्वाह नगरी उनी लागे जिमतिर। डाक्टरले भारी सामान नउचाल्नु भने पनि जिममा उनी ठूलठूला डम्बल उठाउन थाले। खेलबाट उनले प्यारालाइसिस समस्यालाई मात्रै जितेका छैनन्, शारीरिक सुगठन खेलमा च्याम्पियन बनेर आफ्नो सपना पूरा गरेका छन्। 

धर्मश्रीमा नियमित सहभागी हुने मिलन आफ्नो तौल समूहमा पहिलो–दोस्रो भइरहन्थे। सबै तौल समूहका विजेताबीच हुने धर्मश्रीको उपाधि भने उनले हात पार्न सकेका थिएनन्।  ‘यस पटक जित्छु भन्ने विश्वासका साथ प्रतियोगितामा सहभागी भएको थिएँ,’ उनी भन्छन्। 

आफ्नो सफलतामा घरपरिवार र साथीभाइको सहयोग र हौसला महŒवपूर्ण रहेको मिलन बताउँछन्। ‘सुरुवातमा केही अप्ठ्यारो होला कि भनेर मात्रै परिवारले शारीरिक सुगठन खेल्न अनुमति थिएन,’ उनी भन्छन्, ‘पछि मलाई सहयोग गर्नुभयो। परिवार र साथीभाइको साथ र सहयोग नरहेको भए यहाँसम्म आइपुग्ने थिइनँ।’ 

तीन दशकदेखि धर्मश्री 

नेपाली प्रजातन्त्र आन्दोलनमा फाँसीको सजाए पाएर शहीद बनेकामध्ये धर्मभक्त शारीरिक सुगठनका खेलाडी थिए। भारतको बनारसबाट नेपाल आउनुअघि उनी शारीरिक सुगठनमा बनारस च्याम्पियन बनेका थिए। नेपालमा आएर पनि उनले शारीरिक सुगठन खेले।

नेपाली समाजमा पु¥याएको योगदानसँगै शारीरिक सुगठन खेलसँग सम्बन्धित रहेकाले व्यायाम मन्दिरले सन् २०४२ सालबाट धर्मभक्तको स्मृतिमा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। ‘हामीले अहिलेसम्म यसलाई निरन्तरता दिएका छौँ,’ व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले भने, ‘भविष्यमा पनि यसर निरन्तरता पाओस् भन्ने हाम्रो चाहना हो।’ अहिलेसम्म धर्मश्रीले ११ विजेता पाएको छ।

सुरुवाती दुई संस्करणमा तौल समूहमा मात्रै प्रतिस्पर्धा गराएर विजेता छानिने गरिए पनि २०५० सालबाट भने सबै तौल समूहका विजेता खेलाडीबीच प्रतिस्पर्धा गराएर धर्मश्रीको विजेता चुनिँदै आएको छ। 

धर्मश्री विजेताहरू 

१. रविनचन्द शाक्य (२०५०)
२. सागर ताम्राकार (२०५२)
३. लालबहादुर गुरुङ (२०५३)
४. जीवन गिरी (२०५५)
५. नरेश महर्जन (२०५७ र २०५९)
६. हरि श्रेष्ठ (२०५८)
७. सानु गुरुङ (२०६४ र २०६५)
८. लोकेन्द्र परियार (२०६८)
९. महेश्वर महर्जन (२०७१)
१०. अर्जुन वर्णवाल (२०७३)
११. मिलन सिजापती (२०७५)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.