अकस्मात मृत्युले ‘स्वाइन फ्लू’ को त्रास

अकस्मात मृत्युले ‘स्वाइन फ्लू’ को त्रास

राजविराज : कञ्चनरुप नगरपालिकामा ज्वरो तथा शंकास्पद रोगबाट गएको दुई दिनमा दुई जनाको मृत्यु भएपछि स्थानीयवासीमा पुनः ‘स्वाइन फ्लू’ को त्रास फैलिएको छ।

कञ्चनरुप ५ का १३ वर्षीय कृष्ण सदाको गत बुधबार र वडा नम्बर ७ का ६ वर्षीय कृषजंग कटुवालको मंगलबार ज्वरो तथा शंकास्पद रोगले मृत्यु भएपछि नगरवासीमा त्रास फैलिएको हो। 

बालकको अकस्मात मृत्युपछि नगरवासी त्रसित बनेसँगै उनीहरु पढ्ने कञ्चनरुप ७ को भृकुटी माविमा विद्यार्थीको संख्या घटेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिए।

अकस्मात मृत्युको कारण ‘स्वाइन फ्लू’, ‘हङकङ फ्लू’ वा अन्य कारण हो भन्न सक्ने अवस्था नरहेको चिकित्सकले बताएका छन्। रोगको सम्बन्धमा अनुसन्धान भइरहेको उनीहरुको भनाइ छ। 

ज्वरो, वान्ता, टाउको दुख्ने र रगत उल्टी भएर मृत्यु भएपछि आवश्यक खोज अनुसन्धान गरी थप मृत्यु रोक्न आवश्यक व्यवस्था मिलाउन नगरपालिकाले प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय, महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीसँग आग्रह गरेको कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविनराज ढकालले जानकारी दिए। 

यसअघि भदौ महिनामा कञ्चनरूप ७ का १४ वर्षीय दिवस बस्नेत, वडा नम्बर ३ का १४ वर्षीय किशोर राम र वडा नम्बर ९ का १४ वर्षीय आमोदकुमार रामको अकस्मात मृत्यु भएको हो। 

उनीहरुको मृत्युसँगै ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको रगत र र्याल परीक्षण गरिएको थियो। 

लगत्तै ज्वरो तथा रुघाखोकीले कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया भालसर सरदारको उपचारका क्रममा भदौ २७ गते मृत्यु हुनुका साथै वडा नम्बर ७ का हरिलाल साहमा स्वाइन फ्लूको संक्रमण देखिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो। 

भदौ २४ गतेदेखि तीन दिनसम्म सञ्चालित स्वास्थ्य शिविरमा एक हजार एक सय २२ ले स्वास्थ्य परिक्षण गराएकोमा २४ जनाको रगत र र्याल काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा साहमा ‘एचवानएनवान’ को संक्रमण तथा कञ्चनरुपका अन्य चार तथा हनुमाननगरका ६ जनामा ‘एचथ्रिएनटु’ संक्रमण फेला परेको जनाइएको थियो।
संक्रमण र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको भन्दै कञ्चनरुप नगरपालिकाले महामारीग्रस्त क्षेत्र घोषणा गरेको छ। 

 भारतको झारखण्डस्थित बाबाधामबाट फर्किएकामा संक्रमण देखिएको भन्दै बाबाधाम जानेलाई स्वास्थ्य सल्लाह दिन र फर्किनेको परीक्षण गरेर मात्र जिल्ला प्रवेश गराउन भारतीय नाकाको दुई स्थानमा हेल्प डेस्क नै सञ्चालन गरिएको थियो। जिल्ला दैवी प्रकोप उद्दार समितिको आकस्मिक बैठकले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको थियो। 

असोज ५ गते बेमौसमी रुघाखोकी र भाइरल ज्वरोबाट ज्यान गुमाएको भन्दै मृतक चारजनाका परिवारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राहतस्वरुप जनही दुई लाख प्रदान गर्नुका साथै प्रकोप नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको १५ लाखको चेक हस्तान्तरण गरेका थिए।

रुघा र ज्वरोकै कारण अकस्मात मृत्यु हुन थालेपछि सप्तरीमा त्रास फैलिएकाले यथाशक्य दक्ष चिकित्सकको टोली आउनु पर्ने भन्दै नगर प्रमुख मिश्रले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी २५ शैयाको अस्पताल स्थापना गर्नुपर्ने बताए।

अकस्मात मृत्युको खोज अनुसन्धान तथा आवश्यक व्यवस्था मिलाउन कञ्चनरुप नगरपालिकाले पठाएको पत्र। तस्बिर : अन्नपूर्ण 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.