एकल महिला बोकापालनमा आकर्षित, एउटै बेच्दा ५२ हजार

एकल महिला बोकापालनमा आकर्षित, एउटै बेच्दा ५२ हजार

डोटी : जोरायल गाउँपालिका–२ छतिवनकी किसान गंगादेवी ओलीले ‘प्रजनन् बोयर बोका पाल्न थालेको दुई वर्ष भयो ।

पछिल्लो सिजनमा उनले बोयर जातका बोका र पाठी बिक्री गरेरै दुई लाख १८ हजार आम्दानी गरिसकेकी छन् । वडा नम्बर २ छतिवनकी किसान भविसरा सारुले त नौ महिनामै ६६ किलो तौल भएको बोयर बोका उत्पादन गरी ५२ हजार आठ सयमा बिक्री गरिन् ।

छतिवनस्थित रुवस एकीकृत बाख्रापालन कृषक समुहमा सदस्य रहेकी किसान भविसरा सुधारिएको तरिकाबाट बोका पालन गर्दा राम्रै आम्दानी हुने बताउँछिन् ।गंगादेवी र भविसरा जस्ता लगनशील किसानलाई पछ्याउँदै डोटीमा अचेल एकल महिला किसानहरु पनि बोयर बोका पालनमा आकर्षित भएका छन् ।

आधुनिक तरिकाबाट बोका पालन गर्दा मनग्य आम्दानी हुने भएपछि उनीहरु बोयर बोका पालनमा आकर्षित भएका हुन् । पशु सेवा शाखाले यहाँका एकल महिला तथा विपन्न किसानलाई सहायता गरेसँगै उनीहरु आकर्षित भए । दुई वर्षअघि बोयर बोका उत्पादनमा सहायता गरेको पशु सेवा शाखाले यस पटक भने जोरायल गाउँपालिकाका एकल महिला र विपन्न किसानलाई प्रजनन् बोयर बोका उत्पादनमा सहायता गरेको हो ।

पशु सेवा शाखाले २० जनालाई नै दुई÷दुई वटा बाख्रा खरिदको लागि १५ हजारको दरले रकम बितरण गरेको थियो । सोही रकमबाट उनीहरुले बोका पालन सुरु गरेका हुन् । दुई वर्षअघि नै पशु सेवा शाखाको सहायतामा बोकापालन गर्ने किसानले यसबीचमा मनग्य आम्दानी गर्न थालेपछि एकल महिला तथा विपन्न किसानहरु बोका पालनलाई नै मुख्य पेशा बनाउने भनी लागेका हुन् ।

‘बोका उत्पादन भइसकेपछि बजारको खोजी गर्दै किसान आफैँ भौँतारिनु पर्दैन,’ पशु सेवा शाखाका प्रमुख मानबहादुर रानाले भने, ‘पशु सेवा साखाले नै खरिद गरिदिने भएकाले उहाँहरुलाई सहज हुन्छ ।’ रानाका अनुसार बोयर जातका बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएको क्षेत्र पनि सात नम्बर प्रदेशको पहाडी भेग नै हो । विभिन्न जिल्लामा यसको माग पनि अत्याधिक छ ।

यसबाहेक ५० वटा भन्दा बढीको संख्यामा बाख्रा पालन गर्ने किसानहरुमध्येबाट १० जना किसानलाई ५० हजारको दरले खोर सुधारको लागि रकम तथा एक÷एक बोका बितरण गरिएको छ ।

मनग्य आम्दानी
शाखाको सहायतामा बोका पालन सुरु गरेको रुवस एकीकृत बाख्रापालन कृषक समुहले गत आर्थिक वर्षमा मात्रै बोयर बोका बिक्री गरी ३० लाख रकम आम्दानी गरिसकेको छ ।

एउटै बोकाबाट दसौं हजार आम्दानी गर्न सकिने भएकाले किसानको आम्दानीको मुख्य स्रोतको लागि पनि बोयर बोका उत्पादन उपयुक्त पेशा हुने शाखाका अधिकारी सुझाउँछन् ।

पछिल्लो सिजनमा मात्रै डोटी जिल्लाबाटै दुई सय ५० भन्दा बढीको संख्यामा क्रस बोयर प्रजनन् बोकाहरु कैलाली, कञ्चनपुर, अछाम, दार्चुला र बैतडी जिल्लामा बितरण भइसकेको बताइएको छ ।

शाखा प्रमुख मानबहादुर रानाका अनुसार यसरी अन्य जिल्लाको लागि खरिद गर्दा डोटीका एक सय किसानहरुबाट यसै वर्ष ७५ लाख मुल्य बराबरका क्रस बोयर प्रजनन् बोकाहरु खरिद भएका छन् ।

बाख्रा पालक किसानहरुको उत्पादन र उत्पादकत्व बढाइ आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले जोरायल गाउँपालिकाका विभिन्न वडामा ‘मासुजन्य प्रजनन् समुह’ गठन गरी दुई वर्षअघिदेखि अष्ट्रेलियाबाट आयातित शुद्ध नश्लका बोयर जातका प्रजनन् बोकाहरु बितरण गरिएको थियो । सोही अनुरुप यसै वर्ष जोरायल गाउँपालिका–४ लक्ष्मीनगरस्थित थलीमा बाख्रा पालन केन्द्र समेत स्थापना गरिएको छ ।

कृषक पाठशाला
बाख्रापालन समुहहरुमा ‘बाख्रापालन कृषक पाठशाला’ समेत संचालन गरिएको छ । कृषक पाठशाला मार्फत १५ महिनासम्म बाख्रापालन कृषकहरुलाई उनिहरुकै घर तथा बाख्राको खोरमा बाख्रापालन सम्बन्धी एकीकृत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइन्छ ।

बाख्राको पर्यावरणीय प्रणाली विश्लेषण अध्ययन समेत गराइने बताइएको छ । जिल्लाका केही बाख्रापालन कृषक समुहहरुमालाई बोयर बाख्रा स्रोत केन्द्रको रुपमा समेत विकास गरिएको जिल्ला पशुसेवा कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.