राष्ट्रपतिको विदेश भ्रमण किन कतारबाट ?

राष्ट्रपतिको विदेश भ्रमण किन कतारबाट ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने विदेश भ्रमण तय भएको छ। दोस्रो पटक राष्ट्रपति भएपछि उनले विदेश भ्रमण कतारबाट गर्न लागेकी हुन्। उनी सोमबार सरकारी टोली र व्यापारीसहित कतार भ्रमणमा जाँदै छिन्। स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचनपछि पुनः राष्ट्रपति बनेकी उनले विदेश भ्रमण छिमेक छाडेर खाडी मुलुकबाट गर्नुलाई अर्थपूर्ण भनिएको छ।

उनी पहिलो कार्यकालमै कतार भ्रमण गर्ने तयारीमा थिइन्। तर, त्यहाँ साउदी अरबसहित केही मुलुकले नाकाबन्दी गरेपछि भ्रमण विवादमा पर्न सक्ने भन्दै रोकिएको थियो। कतारमा नाकाबन्दी १७ महिनासम्म पनि जारी छ। उनले अघिल्लो पटक नै युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमण गरेकी थिइन्। साउदीले लगाएको नाकाबन्दीमा साथ दिएको यूएईको भ्रमणका कारण कतार झस्किएकाले अहिले हतार–हतार त्यसतर्फ जान लागेको जानकारी अधिकारीले दिएका छन्।

कतारले आफूलाई थप सशक्त र उँचो बनाउन नाकाबन्दी सहयोगी भएको बताउँदै आएको छ। यद्यपि, उसले नातेदारहरू एकअर्का मुलुकमा रहेकाले भेटघाटमा परेको समस्याबारे संयुक्त राष्ट्रसंघमा मानवताको विषय उठाइसकेको छ। आगामी विश्वकप आफूले खेलाउने र त्यसका लागि सुरक्षाकर्मी चाहिने विषयमा कतारले नेपालसँग पहल गर्दै आएको छ। आफूलाई गरिएको नाकाबन्दीका विषयमा पनि नेपालजस्ता मुलुकको साथ खोज्दै आएको अवस्थामा राष्ट्रपति भण्डारीको कतार भ्रमण हुन लागेको हो।

राष्ट्रपतिको भ्रमण किन कतारबाट भन्ने जिज्ञासामा राष्ट्रपति कार्यालयले पहिले नै हुने भनिएको तर विविध कारणले हुन नसकेको जानकारी दिएको छ। राष्ट्रपतिको इच्छा र निमन्त्रणा मिलेर कतार भ्रमण हुन लागेको जनाइएको छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भ्रमणबारे अहिले नबोल्ने प्रतिक्रिया दिएका छन्। ‘कतार भ्रमण हुने सत्य हो’, उनले भने, ‘द्विपक्षीय सम्बन्ध विस्तार र मजबुत बनाउन नै राष्ट्रप्रमुखको भ्रमणको ध्येय हुन्छ।’

राष्ट्रपतिले अघिल्लो कार्यकालमा भारत, यूएई, श्रीलंका, थाइल्यान्ड र स्विटजरल्यान्डको भ्रमण गरेकी थिइन्। श्रीलंका भ्रमणमा जाने क्रममा उनले थाइल्यान्ड ट्रान्जिट पारेर तत्कालीन थाइराजा भुमिबोलको पार्थिव–शरीरमा पुष्पगुच्छा अर्पण गरेकी थिइन्। उनको पछिल्लो कार्यकालमा भारत वा चीनबाट विदेश भ्रमण आरम्भ हुने अड्कलबाजी चलेको थियो।

उनी कतारका अमिर सेख तामिम बिन हमाद अल थानीको निमन्त्रणमा त्यसतर्फ जाने भएपछि भ्रमणबारे सरकारभित्र र राजनीतिक दलमा बहस सुरु भएको छ। परराष्ट्रसचिव शंकरदास वैरागीले दुई दिनअघि भ्रमण तालिकाबारे ‘भन्नै पर्ने त्यस्तो भ्रमण नभएको’ बताएका थिए। त्यसको दुई दिनपछि परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सवारी मन्त्रीका रूपमा कतार जाँदै छन् भने परराष्ट्रसचिव वैरागी पनि त्यही टोलीमा छन्। सेरेमोनियल राष्ट्रपतिको भ्रमणमा यो प्रकारको सहभागिताबारे परराष्ट्रका अधिकारीमा असन्तुष्टि देखिएको छ। भ्रमणको तयारीका लागि कतार पुगेको ‘एड्भान्स’ टोलीले त्यहाँको सुरक्षा अवस्था र अन्य विविध पक्ष अवलोकन गर्ने जनाइएको छ।

खाडीका अमिरले निम्ता गर्ने भ्रमणमा सामेल हुन परराष्ट्रका अधिकारी लोभिने गरेका छन्। एक अधिकारीले भने, ‘त्यसको मुख्य कारण हो कतारका अमिरले व्यक्तिगत रूपमा उपलब्ध गराउने विशेष र महँगो उपहार।’ उपहार कूटनीतिमा नेपाल चुक्ने गरेको जनाइएको छ।

सरकारले ‘छिमेक पहिलो’ भन्ने नीति लिए पनि दुवै छिमेकीलाई बेवास्ता गर्दै यो प्रकारको भ्रमण हुन लागेको हो। भारत र चीनमध्ये एक मुलुकबाट द्विपक्षीय यात्रा थाल्ने बताइएको थियो। तर, राष्ट्रपति कतार भ्रमणलगत्तै तिहारपछि युरोप जान सक्ने परराष्ट्रका अधिकारीको भनाइ छ। त्यसबारे छलफल भइरहेको जनाइएको छ। सम्बन्धित राजदूत महाशाखाले काम गर्दै आए पनि युरोप भ्रमणबारे मिति तय भएको छैन।

कतार भ्रमणका लागि त्यहाँका सरकारको चासोभन्दा पनि बढी नेपाली म्यानपावर कम्पनीले सरकारसँग लबिङ गर्दै आएका थिए। राष्ट्रप्रमुखको भ्रमण नेपाली कामदार भएको मुलुकमा हुनु राम्रो हो तर भ्रमणको एजेन्डा अनि औचित्य स्पष्ट हुनुपर्ने सरोकारवाला बताउँछन्।

कतारले पनि पछिल्लो समय आफू नाकाबन्दीको मारमा परेको भन्दै त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको साथ खोजेको थियो। कतारले नेपालबाट अर्बौं रुपैयाँको तरकारी खरिद गर्न सक्ने बताए पनि नेपालले त्यसलाई प्राथमिकतामा राख्न सकेको छैन। नेपालले कतारको लगानीसमेत भिœयाउन सकेको छैन। कतार र नेपालको सम्बन्ध रोजगारीमा मात्र सीमित देखिएको छ। यसबाट माथि उठाउन यो भ्रमण गर्न लागिएको परराष्ट्रका अधिकारीको भनाइ छ।

राष्ट्रपतिले त्यहाँ रोयल ब्यांक्वेट र औपचारिक वार्ता गर्नेछिन्। राष्ट्रपतिले त्यहाँ नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। त्यससँगै नेपालमा लगानी प्रवद्र्धनबारे उनले धारणा राख्ने जनाइएको छ। उनले कतारको ‘फस्र्ट लेडी’सँग पनि छुट्टै भेटवार्ता गर्नेछिन्। भ्रमणको व्यवस्थापन कतारी पक्षले नै गरिदिन लागेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.