संकटमा साउदी सत्ता
तीन साताअघि पत्रकार जमाल खसोगी आफ्नो अघिल्लो विवाहको सम्बन्धविच्छेद प्रमाणित गरेको कागजात लिन टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावास गए। बाहिर उनकी प्रेमिका हेतिस सेन्गिज पर्खिरहेकी थिइन्। सेन्गिजसँग उनको ‘इन्गेजमेन्ट’ भइसकेको थियो।
त्यसअघि २८ सेप्टेम्बरमा पनि उनी सो कागजात लिन दूतावास पुगेका थिए। उनलाई अक्टोबर २ मा आउन भनिएको थियो। सेन्गिजसँग विवाह गर्नुपूर्व उनले पूर्वपत्नीसँग सम्बन्धविच्छेदको कागजात लिनु थियो। त्यसैले उनी महावाणिज्य दूतावास गएका थिए। सेन्गिजले दूतावासबाहिर घन्टौं उनको प्रतीक्षा गरिन् तर दूतावासबाट खसोगी फेरि कहिल्यै बाहिर निस्केनन्। त्यसपछि सेन्गिजले खसोगीलाई दूतावासभित्रै गायब पारिएको सूचना सार्वजनिक गरिन्।
उनी बेपत्ता भएपछि साउदी अरबमाथि शंका तेर्सियो, तर साउदीले आफूलाई खसोगीबारे कुनै जानकारी नभएको ढिपी कसिरह्यो। दुई सातासम्म साउदीले खसोगी जीवितै दूतावासबाट बाहिरिएको दाबी गरिरह्यो। तर टर्कीका अनुसन्धानकर्ताहरूले खसोगी दूतावासभित्रै मारिएको दाबी गरे।
उनीहरूले आफूसँग प्रमाण रहेको भन्दै हत्याको विवरण सञ्चारमाध्यममा सार्वजनिक गर्न थाले। त्यसपछि मात्रै साउदीले अक्टोबर १९ मा खसोगी महावाणिज्य दूतावासभित्रै मारिएको स्वीकार गर्यो। तथापि खसोगी ‘मुड्की हानाहान’ मा मारिएको साउदीले जनाएको थियो, जसलाई कसैले पनि पत्याएन। हत्यासम्बन्धी अनेकौं विवरण बाहिरिसकेपछि मात्रै अहिले साउदी अरब उनको योजनाबद्ध हत्या भएको स्वीकार्न बाध्य भएको छ।
को हुन् खसोगी?
साउदी अरबका प्रसिद्ध पत्रकारमध्ये एक थिए ५९ वर्षीय खसोगी। अमेरिकाको इन्डियाना स्टेट युनिभर्सिटीमा अध्ययनपश्चात् देश फर्केका खसोगीले सन् १९८० र ९० को दशकमा अलकायदाका संस्थापक ओसामा बिन लादेनसँग अनेकौंपटक अन्तर्वार्ता लिएका थिए।
दशकौंसम्म उनी साउदी राजपरिवारको निकटस्थ मानिन्थे। उनले साउदीको गुप्तचर प्रमुख राजकुमार तुर्की बिन फैजलको सल्लाहकारका रूपमा काम पनि गरेका थिए। पछिल्लो समय सुधारको पक्षमा वकालत गर्दै आएका खसोगीले केही मुद्दामा शाही शासनको विरोध गर्न थालेका थिए। त्यसैले उनलाई खतराको रूपमा हेरिन थालिएको थियो। खसोगीले आलोचनाको स्वतन्त्रता हुनुपर्ने आवाज उठाउँदै आएका थिए।
खसोगी सन् २०१७ मा साउदी अरब छोडेर अमेरिका गएका थिए। उनी वासिंटन पोस्टका लागि नियमित स्तम्भ लेख्थे र युवराजको आलोचना गर्थे। मारिनुभन्दा तीन दिनअघि मात्र खसोगीले बीबीसीलाई एक अन्तर्वार्ता दिएका थिए। उनी बेपत्ता भएपछि बीबीसीले सो अडियो रेकर्ड सार्वजनिक गरेको छ, जसमा खसोगीले आफू साउदी सत्ताको ‘विपक्षी होइन, एक लेखक मात्र भएको’ बताएका थिए। ‘म आफ्नो मनको कुरा लेख्न र भन्ने स्वतन्त्र वातावरण चाहन्छु’, उनले भनेका थिए।
कसरी भयो हत्या?
खसोगी हत्याबारे स्पष्ट विवरण अहिलेसम्म सार्वजनिक भइसकेको छैन। यसबारे जेजति जानकारी बाहिर आएका छन्, त्यो टर्कीका अनुसन्धानकर्ताहरूले उपलब्ध गराएका हुन्। जसअनुसार खसोगीको हत्या भएकै दिन साउदी गुप्तचर एजेन्टको एउटा समूह निजी जेटबाट इस्तानबुल पुगेको थियो। त्यो समूह दूतावासनजिकैको दुई होटेलमा बसेको थियो। सोही दिन केही समयपछि अर्को समूह त्यसैगरी इस्तानबुल पुगेको थियो।
सीसीटीभी फुटेजमा देखिएअनुसार अक्टोबर २ को मध्यान्हमा ती एजेन्ट दूतावासभित्र प्रवेश गरेका थिए। त्यसको एक घन्टापछि खसोगी त्यहाँ पुगेका थिए। त्यो समूहमा शाही गारद, अन्य सैनिक, गुप्तचर अधिकारी र एक पोस्टमार्टमविज्ञ पनि रहेको टर्कीले जनाएको छ। त्यसरी पहिचान गरिएकाहरू साउदी युवराज मोहम्मदबिन सलमान (एमबीएस) निकटका व्यक्ति भएको बताइएको छ।
टर्कीका अधिकारीहरूको दाबीअनुसार खसोगीलाई तिनै एजेन्टले दूतावासभित्र यातना दिएर हत्या गरेका हुन्। उनको शवलाई आराले काटेर टुक्राटुक्रा बनाई हटाइएको दाबी गरिएको छ। हत्याको अडियो प्रमाण आफूहरूसँग रहेको टर्कीका अधिकारीले बताएका छन्। यद्यपि सो प्रमाण अहिलेसम्म सार्वजनिक गरिएको छैन। उनको शवको अझैसम्म अत्तोपत्तो छैन।
यो हत्याबाट उम्किन साउदी सरकारलाई निकै मुस्किल परेको छ। खसोगी हत्याको बारेमा साउदीको बयान पटकपटक फेरिइसकेको छ। अहिले भने साउदी युवराज एमबीएसले यो हत्या ‘नृशंस’ भएको भन्दै आरोपबाट आफूलाई अलग्याउने प्रयास गरेका छन्।
साउदीले हत्यामा संलग्न भनिएका आफ्ना १८ नागरिकलाई पक्राउ गरेको छ भने युवराजले आफ्ना निकटस्थ दुई जर्नेललाई हटाएका छन्। टर्कीले इस्तानबुल महावाणिज्य दूतावासका ३८ कर्मचारीलाई सोधपुछ गरेको छ।
टर्कीस्थित साउदी दूतावासभित्रै पत्रकार जमाल खसोगीको हत्या भएपछि सुधारवादी छवि बनाएको साउदी सरकार संकटले घेरिएको छ।
सीआईए प्रमुख जिना हास्पेल अनुसन्धानमा सघाउने भन्दै टर्की पुगिन्। उनले राष्ट्रपति ट्रम्पलाई ‘ब्रिफ’ गरिसकेको बताइएको छ। खसोगीका जेठा छोरा सलाह खसोगी परिवारसहित अमेरिका पुगेका छन्। यसअघि राजा सलमान र युवराजले उनीसँग भेट गरेका थिए।
अप्ठेरोमा साउदी
पछिल्लो समय साउदी सत्ताका हर्ताकर्ता बनेका युवराज मोहम्मद बिन सलमानलाई पश्चिमा सञ्चारमाध्यममा सुधारवादी युवा नेतृत्वको रूपमा प्रस्तुत गरिएको थियो।
भ्रष्टाचारविरुद्ध कठोर र नारीप्रति उदार नीति अपनाएका ३३ वर्षीय यी युवराजले कतिपय मध्ययुगीन कानुन कायम रहेको साउदीलाई आधुनिकीकरण गर्ने विश्वास धेरैको थियो। त्यसैले पश्चिममा उनको समर्थन बढेको थियो र साउदीमा लगानी ओइरिएको थियो। एमबीएसले सुधारको नेतृत्व गरेको ठान्नेहरू पनि थिए। तथापि उनले आफ्ना विरोधीहरूको चर्को दमन गरेका थिए।
खसोगी हत्याले उनको सुधारवादी छविलाई छायाँमा पारिदिएको छ। हत्याको तरंग निकै परपरसम्म पुगेको छ। यसले साउदी सत्ताको नकाबलाई उधारेर महत्वकांक्षी युवराजलाई अप्ठेरोमा पारिदिएको छ। साउदी अरब अहिले कूटनीतिक संकटमा छ। टर्कीका अनुसन्धानकर्ताहरूले हत्या योजनामा एमबीएस स्वयं सहभागी भएको हुनसक्ने बताएका छन्।
खसोगीको हत्यालगत्तै एमबीएसको चर्को आलोचना सुरु भएको छ। हत्यापछि विश्व समुदायले साउदीको भत्र्सना गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘इतिहासमा सबैभन्दा खराब ढाकछोप’ को संज्ञा दिएका छन्। बेलायती प्रधानमन्त्री टेरिजा मेले यस मामिलाका शंकास्पद व्यक्तिको भिसा रद्द गर्ने बताएकी छन्। यद्यपि हालसम्म ठोस कदमचाहिँ जर्मनीले मात्र चालेको छ।
चान्सलर एञ्जेला मर्केलले साउदी अरबलाई बेच्ने सम्पूर्ण हतियार रोक्का गर्ने घोषणा गरेकी छन्। अमेरिका र बेलायत साउदीलाई सबैभन्दा धेरै हतियार बेच्ने राष्ट्र हुन्। त्यसैले यी देशमाथि दबाब पुगिरहेको छ। यद्यपि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले साउदी अरबसँगको सम्बन्ध ‘परिवर्तन नहुने’ बताएका छन्।
त्यति मात्र होइन, अमेरिकाको सहयोगमा साउदी गठबन्धनले यमनमाथि गरिरहेको सैन्य आक्रमण रोक्नुपर्ने आवाज पनि उठ्न थालेको छ। यमनमा चरम मानवीय संकट पैदा हुने गरी साउदी नेतृत्वको गठबन्धनले खाद्यान्न नाकाबन्दी लगाएर बम वर्षा गरिरहेको छ।
जसका कारण दसौं लाख बालबालिका कुपोषणको सिकार बनिरहेका छन्। अमेरिकाले बेचेको बम किनेर साउदी यमनमा खसाइरहेको छ, तर त्यसको विरोधमा पर्याप्त आवाज उठ्न सकेको थिएन। कतिपय सञ्चारमाध्यमले साउदी नेतृत्वको गठबन्धनलाई समर्थनसमेत गरेका थिए।
अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले साउदीलाई दिइँदै आएको सैन्य र गुप्तचर सहयोग बन्द गर्न आह्वान गरेका छन्। उनले यसबारे अमेरिकी कंग्रेसले तत्काल कदम चाल्नुपर्ने पनि बताएका छन्।
यो हत्याबाट साउदी अरबलाई ठूलो आर्थिक क्षति पनि पुगेको छ। युवराजले पाँच सय अर्ब डलरको लगानीमा एक सहर निर्माण गर्न लगानी सम्मेलन आयोजना गरेका थिए। यसै साता भएको सो सम्मेलनमा थुप्रै लगानीकर्ता सहभागी भएनन्।
अब के हुन्छ?
खसोगी हत्याको आदेश कसले दिएको हो? यो प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण बनेको छ। दुई साता लामो मौनतापछि मात्र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हत्यामा साउदी अरबलाई आरोपित गरे। एर्दोगानले अहिले साउदीसमक्ष यही प्रश्न तेस्र्याएका छन्। एर्दोगानले चाहेमा साउदीलाई निकै ठूलो क्षति पुर्याउन सक्छन्।
वास्तवमा खसोगी हत्याको साँचो अनुसन्धान हुन्छ कि हुँदैन भन्ने पनि अन्तर्राष्ट्रिय दबाबको मात्राले तय गर्छ। यसै पनि साउदीलाई बढी पेल्ने पक्षमा अमेरिका छैन। किनभने अरब विश्वमा साउदी नै अमेरिकाको सबैभन्दा भरपर्दो मित्र हो।
मानवअधिकारका मुद्दामा साउदी अरब बदनाम छ। लेबनानका प्रधानमन्त्रीलाई बन्धक बनाएर युवराज आफैंले आफ्नो चरित्र उदांगो बनाइसकेका छन्। यो हत्यामा मुछिए उनी थप मुस्किलमा पर्नेछन्। यसबाट अमेरिकी आशीर्वादमा अरब विश्वमा सुधारवादी नेताको छविमार्फत शासन चलाउने एमबीएसको सपनामा प्रश्नचिह्न लाग्नेछ।