नेपाल आइडल पूर्वविजेताले तताए माहोल

नेपाल आइडल पूर्वविजेताले तताए माहोल

काठमाडौं : अन्य दिनको भन्दा शुक्रबार नेपाल आइडलको २२औं भाग विशेष रह्यो । नेपाल आइडल सिजन–१ का विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रमको सुरुआतमा क्रिसल कँडेल र जस्मिन लिम्बूले सुमधुर आवाजमा ‘सुन... भनन’ बोलको गीत संयुक्त रूपमा गाएका थिए । उनीहरूको प्रस्तुतिको बीचमा टुप्लुक्क आइपुगे निशान भट्टराई । उनले जस्मिन र क्रिसललाई गीत गाउन साथ दिए । साथै आफूलाई नेपाल आइडलको मञ्चले संसारभर चिनाउने अवसर दिएकोमा नेपाल आइडलको प्रशंसा गरे । उनले अर्को गीत पनि गाएर जजको मन पुनः जिते । जजहरू इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा र न्ह्यु वज्राचार्यले मुक्तकण्ठले उनको प्रशंसा गरे ।

रमाइलो माहोलमा कार्यक्रम चलेको थियो । दोस्रो प्रस्तुतिका लागि मञ्चमा उपस्थित थिए, कञ्चनपुरका रवि ओड र पोखराका विक्रम बराल । ‘वारि जमुना पारि जमुना’ बोलको गीत उनीहरूले निकै भव्यताका साथ उठान गरेका थिए । दौरा सुरुवाल र ढाका टोपीमा सजिएका उनीहरूको प्रस्तुति दमदार थियो । त्यही बीचमा हल्का खोकी लागेको अभिनयसहित सुटुक्क आइपुगे प्रताप दास । दासले विक्रम र रविसँगै गीत गाएर कार्यक्रमको रौनक बढाए ।

नेपाल आइडलको सिजन–२ मा निकै अब्बल प्रतियोगी आएकोमा आफू खुसी भएको प्रतापले बताए । अहिलेका प्रतियोगीको क्षमताबारे बोल्न आफूमा कुनै शब्द नभएको बताउँदै उनले निकै विनम्रता दर्शाए । । सोही अवसरमा प्रतापले गायिका तथा नेपाल आइडलकी जज इन्दिरा जोशीसँग ‘मोटरसाइकलमा’ बोलको गीत गाउन भ्याए । उनीहरूको प्रस्तुतिमा दर्शक र जज निकै झुमिरहेका थिए । सबै उठेर ताली पिटिरहेका थिए । यस्तो लाग्थ्यो, कार्यक्रममा उपस्थित सबैजना गीत सुनेर आफ्ना सबै दुःख भुल्ने प्रयासमा छन् ।

‘जिन्दगी हाम्रो बगेको खोला फेरि भेट हाम्रो होला कि नहोला’ बोलको गीत गाउँदै मञ्चमा देखा परे, सुर्खेतका सुबिन सिंह र दोलखाका पवन गिरी । बिहीबारको कार्यक्रममा जजहरूको निकै तारिफ पाएका पवन र सुबिनको यो प्रस्तुति पनि निकै दमदार थियो । हातमा माइक समाएर गीत गाउँदै यही गुप्रमा मिसिए, नेपाल आइडल सिजन–१ का टाइटल विजेता बुद्ध लामा । उनको उपस्थितिले कार्यक्रमको माहोल झन् तातिँदै थियो । यसैगरी अस्मिता अधिकारी, अमित बराल, नीलिमा थापा र सुमित पाठकले पनि उत्कृष्ट प्रस्तुति दिए । उनीहरू कोहीभन्दा कोही कम थिएनन् । जोकोहीले सजिलै अनुमान लगाउन सक्थे, हरेक प्रतियोगी टाइटल विजेताका दाबेदार हुन् । उनीहरूलाई अब्बल गाउनु छ र जित्नु छ एउटा टाइटल अनि बनाउनु छ उत्कृष्ट परिचय ।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो । नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन् । कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन       श्रेष्ठ छन् ।

बाहिरिइन् जस्मिन

धरानकी जस्मिन लिम्बू शुक्रबार नेपाल आइडल–२ को टप टेनबाट बाहिरिएकी छन् । उनले अघिल्लो हप्ता वाइल्ड कार्डमार्फत कार्यक्रममा पुनः इन्ट्री पाएकी हुन् । बिहीबारको गाला राउन्डमा उनले ‘तिम्रो लागि सारा संसार भुलाइदिन्छु म’ बोलको गीत गाएकी थिइन् । गायकीमा अलिकति सुर नमिलेको आरोप खेपेकी उनले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न भने सकिनन् । शुक्रबारको इपिसोडमा पनि उनले क्रिसलसँगको संयुक्त प्रस्तुतिमा गायकीको तालमेल मिलाउन सकिनन् । वाइल्ड कार्डले कार्यक्रममा पुनः इन्ट्री पाएपछि उनले आफ्नो सपना पूरा गर्न फेरि अवसर पाएकाले निकै मेहनत गर्ने बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.