महिलाको रुचि गम्भीर भएर सुन्छु : प्रबल गुरुङ

महिलाको रुचि गम्भीर भएर सुन्छु : प्रबल गुरुङ

काठमाडौं : फेसन डिजाइनिङको दुनियाँमा विश्व कहलिएका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ यति बेला बिदा मनाउन घर आएका छन्। एक साताभन्दा लामो नेपाल बसाइका क्रममा उनी केही सार्वजनिक कार्यक्रममा सहभागी भए। उनले डिजाइन गरेका लुगा संसारका एकसेएक सेलिब्रिटीले लगाउँछन्।

अमेरिकी पूर्वराष्ट्रपतिकी श्रीमती मिसेल ओबामादेखि लेडी गागासम्म उनकै डिजाइनमा सजिन्छन्। जेनिफर लरेन्स, सेलेना गोमेज त उनको पहिरनका फ्यान नै हुन्। प्रवेशिका उत्तीर्ण गरिसकेपछि उनी साइन्स पढ्न सेन्ट जेभियर कलेजमा भर्ना भएका थिए तर उनी त्यसमा रमाउन सकेनन्।

कलेजमा पढ्दा उनी आफूलाई फरक र अनौपचारिक रूपमा सोच्थे। त्यसपछि उनी फेसन डिजाइनसम्बन्धी अध्ययन गर्न नयाँ दिल्लीको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा भर्ना भए। त्यसपछि अमेरिकासम्मको यात्रा तय गरेका उनी अमेरिका पुगेपछि निकै मेहनत गर्नु परेको घटना घरिघरि सुनाउँछन्। उनै प्रबल शुक्रबार पाटनमा आयोजित एक कार्यक्रममा पत्रकारसँग जीवन र जगत्का विभिन्न पक्षबारे गफिँदै दिए।

नेपालले विश्वभर पारम्परिक र सांस्कृतिक रूपमा पहिचान बनाएको बताउँदै उनले भने, ‘काठमाडौं उपत्यकाले हाम्रो इतिहास बोकेको छ। हाम्रो पूरै नेपाल एक आर्ट हो, हामीसँग देखाउनलाई थुप्रै कुरा छन्।’ नेपालको फेसनको विषयमा कुरा गर्दै प्रबलले भने, ‘क्वालिटी र कलाको कम्बिनेसन गर्नु आवश्यक छ। हामी छिमेकी राष्ट्रबाट बढी प्रभावित भएका छौं। हामी पूरै विश्वबाट प्रभावित हुनु आवश्यक छ।’ प्रत्येक काम गर्दा त्यसमा आत्मीयता जोडिएको हुनुपर्ने उनको भनाइ छ।

तपाईंका डिजाइन सेलिब्रिटी किन मन पराउँछन् ? उनले भने, ‘म उनीहरूलाई सकेसम्म राम्रो बनाउन चाहन्छु, भद्दा होइन। महिलाहरू एकदमै फरक शैलीको आर्टिस्टिक लुगा लगाउन मन पराउँछन् जस्तो मलाई लाग्दैन। जो एकदमै फरक शैलीका लुगा बनाउँछन्, उनीहरूलाई म सम्मान गर्छु तर म त्यस्तो लुगा बनाउँदिनँ।

म महिलाहरू पूर्ण रूपमा उनीजस्तै सुन्दर देखिने लुगा बनाउन मन पराउँछु, जसमा उनीहरू सबैभन्दा सुन्दर देखिऊन्। त्यो ड्रेस लगाउँदा उनीहरू आफूजस्तै देखिएको विश्वस्त होऊन्।’ उनले बलिउड डिभा दीपिका पादुकोणले आफ्नो डिजाइन लगाइसकेपछि दिएको प्रतिक्रिया सुनाउँदै भने, ‘दीपिकाले मलाई आर्टफिटका लागि धन्यवाद भन्दा त्यो उनको मनबाट निस्केको आवाज भएको मैले पाएँ।’

विशेषगरी पुरुष डिजाइनरले महिलाका लागि ड्रेस बनाउन त्यति सहज हुँदैन तर गुरुङ भन्छन्, ‘हरेक महिलाको चाहना फरक हुने भएकाले यो काम गाह्रो छ तर ती महिलाको रुचि र चाहना राम्रोसँग सुन्ने मेरो बानी छ। जब हामी महिलालाई सुन्न थाल्छौं, त्यसले काम गर्न निकै मद्दत मिल्छ।’

‘म अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै छु तर म आफ्नो काममा विश्वास गर्छु। र आफ्नै देश, यहाँका मानिसहरू, कहिलेकाहीँ किताब र मैले सुन्ने संगीत, हेर्ने फिल्मबाट प्रेरित हुन्छु। अन्तर्राष्ट्रिय फेसन जगत्मा विविधता र समावेशिता दुवै हुन्छ। म आफैं पनि यो कुरामा विश्वास गर्छु। फेसनको दुनियाँमा पनि समयअनुसार फरक किसिमका आइडिया मन पराउँछु।’

आफ्ना डिजाइनमा रातो रङको प्रयोग गर्दै आएका गुरुङले नेपालमा रातो रङ धेरैले मन पराउने भए पनि बाहिर त्यस्तो नभएको बताए। पश्चिमी देशमा रातो रङलाई नयाँ टेस्टका रूपमा हेर्छन्। उनले भने, ‘यो रङ मायाको प्रतीक पनि हो। यो रङप्रति मानिसको लगाव र कन्फिडेन्ट दुवै जोडिएको हुन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.