‘गुटले कांग्रेस कमजोर’
बुटवल : नेपाली कांग्रेसका संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले स्थायी गुटले पार्टीलाई कमजोर बनाएको बताएका छन्। संसारको कुनै पनि प्रजातान्त्रिक पार्टीमा नेपाली कांग्रेसमा जस्तो स्थायी गुट नहुने उनले उनको भनाइ छ।
रिपोटर्स क्लब प्रदेश ५ ले बुटवलमा गरेको कार्यक्रममा खाँडले भने, ‘कहाँबाट स्थायी गुट आयो जसले नेपाली कांग्रेसलाई कमजोर बनाएको छ।’ मुद्दामा आधारित गुट हुनुपर्नेमा त्यसो नभएको उनको भनाइ छ।
‘राजतन्त्र राख्ने कि नराख्ने, धर्म निरपेक्षता हुने नहुने अरु विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय इस्यूमा गुट हुन सक्छन्’ उनले भने, ‘एउटा इस्यु सकेर नयाँ मुद्दा आउँछ। नयाँ छलफल हुन्छ। यहाँ त स्थायी भयो, मुद्दाका आधारमा नभएर व्यक्तीको लागि गुटबन्दी भयो। यसो हुनु पार्टी र प्रजातन्त्रका लागि घातक छ।’ स्थायी गुटको समस्या हल गर्न पार्टी भित्र हुने हरेक चुनावमा एकल संक्रमणीय पद्धतीमा चुनाव हुनुपर्ने खाँडले बताए।
कांग्रेस नेता खाँडले १० वर्ष पछि संसारको कुनै पनि भूभागमा कम्युनिस्ट शासन रहन नसक्ने दाबी गरे। नयाँ पुस्ताको खुल्लापनको चहना तथा विज्ञान र प्रविधिको विकासले संसारमा कम्युनियस्ट शासन विस्तारै हराउँदै गएको उनको भनाइ छ।
सरकारले विकास निर्माणका सन्दर्भमा केही काम गर्न नसकेको खाँडको आरोप छ। संघ प्रदेश र स्थानीय तहबीचमा के गर्ने भन्ने खालको तालमेल हुन नसकेको उनले बताए।