नेपालमा रेडियोलोजी चिकित्सक अभाव
काठमाडौं : नेपालमा रेडियोलोजी चिकित्सकको संख्या बढाउनुपर्नेमा जोड दिइएको छ। नेपाल रेडियोलोजिस्ट एसोसियसनको आयोजनामा राजधानीमा शनिबार सम्पन्न दुईदिने तेस्रो राष्ट्रिय सम्मेलनका सहभागीले उक्त जोड दिएका हुन्।
नेपालमा आवश्यकमध्ये १० प्रतिशतमात्रै रेडियोलोजी चिकित्सक रहेका छन्। ९० प्रतिशत रेडियोलोजी चिकित्सकको अभाव रहेको एसोसियसनका अध्यक्ष प्रा. डा. स्वयम्प्रकाश पण्डितको भनाइ छ।
‘नेपालमा करिब तीनसय पचास रेडियोलोजी चिकित्सक छन्’, उनले भने, ‘यो नेपालको आवश्यकताको दस प्रतिशतमात्रै हो। नेपालमा अझै पाँच हजारको हाराहारीमा रेडियोलोजी चिकित्सह आवश्यक छन्।’
उनले नेपालमा अत्याधुनिक रेडियोलोजी उपकरणको अभाव रहेको समेत बताए। त्यसमाथि भएका सबै अत्याधुनिक उपकरण राजधानी र मुख्य सहरमा मात्रै केन्द्रित रहँदा ग्रामीण क्षेत्रमा बस्ने नेपाली रेडियोलोजी सेवाबाट बञ्चित हुँदै आएको उनको भनाइ थियो।
‘रेडियोलोजी चिकित्सक पनि दुर्गम क्षेत्रमा नजाने नयाँ रोग होइन’, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका प्रमुख कन्सल्टेन्ट रेडियालोजिस्ट प्रा. डा. पण्डितले भने, ‘ग्रामीण क्षेत्रमा रेडियोलोजिस्टको सरकारी दरबन्दीसमेत छैन। दरबन्दी नभएपछि चिकित्सक जाने कुरा भएन। त्यसमाथि उपकरण पनि छैनन्।’
विकसित देशहरुमा जस्तै नेपालमा पनि रेडियोलोजिस्ट चिकित्सकले सूक्ष्म सल्यक्रियामार्फत बिरामीको उपचार थालिसकेको राष्ट्रिय सम्मेलनको साइन्टिफिक कमिटीकी संयोजक प्रा.डा.बेनु लोहनीले बताइन्।
तर कम संख्यामा मात्रै यस्ता सूक्ष्म सल्यक्रिया गर्ने रेडियोलोजिस्ट चिकित्सकहरु रहेको उनको भनाइ थियो।
उनका अनुसार रेडियोलोजीका अत्याधुनिक उपकरणबाट मानिकास टाउकोदेखि खुट्टासम्मका सम्पूर्ण भागको उपचार सम्भव छ। सूक्ष्म सल्यक्रिया भनिने यस विधिबाट बिरामीलाई कम दुखाइ हुने र तुलनात्मक रुपमा कम खर्च उपचार गर्न सकिने उनी बताउँछिन्।
‘जस्तो टाउकोमा रगत जमेको छ भने टाउको खोलेर कठिन सल्यक्रिया गर्नुपर्दैन’, प्रा.डा. लोहनी भनिन्, ‘रेडियोलोजी उपकरणको सहायतामा रक्तनलीमार्फत विना टाउको नखोलीकनै उपचार गर्न सकिन्छ। यसबाट बिरामीलाई धेरै दुखाइ पनि हुँदैन। धेरैदिन अस्पताल पनि बस्नपरेन। खर्च पनि तुलनात्मक रुपमा कम हुन्छ।’
सम्मेलन उद्घाटन गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले चिकित्सकहरुलाई दुर्गम क्षेत्रमा समेत गएर स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे। उनले चिकित्सकहरुले आफ्नो पेसाप्रति इमानदारिता छोड्न नहुनेमा जोड दिए।
चिकित्सकले मुलुकी संहिताको विरोध गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘चिकित्सकले आफ्नो मर्यादा र कर्तव्य भुल्नुभएन। पेसाप्रति इमानदार भए कुनै कानुनले कारबाही गर्नसक्दैन। उल्टै कानुनले रक्षा गर्छ।’
कार्यक्रममा उनले नेपालका चारजना वरिष्ठ कन्सल्टेन्ट रेडियालोजिस्टहरु डा. मधुसुदनलाल मास्के, डा. वीरेन्द्रलाल जोशी, डा. नेत्रबहादुर अमात्य र डा. आनन्दप्रसाद श्रेष्ठलाई सम्मान गरेका थिए।
सम्मेलनमा नेपालसहित दस देशका दुई सय चालीस नयाँ तथा पुराना रेडियोलोजी चिकित्सकहरुको सहभागिता रहेको एसोसियसनले जनाएको छ। नेपालसँगै भारत, दक्षिण कोरिया, चीन, श्रीलंका, अष्ट्रियाका रेडियोलोजी चिकित्सकहरुले ३५ वटा कार्यपत्र प्रस्तुत गरेको एसोसियसनका अध्यक्ष प्रा.डा पण्डितले जानकारी दिए।