भाषा संग्रहालय बन्दै
काठमाडौं : नेपाल भाषामा धनी देश। यहाँ एक सय २३ भाषा बोलिन्छन्। त्यसमध्ये १९ भाषा मात्रै भाषाविज्ञानका हिसाबले सुरक्षित छन्। एक सय चार भाषा संकटमा छन्, २९ भाषा लोप हुँदै। भाषा आयोगले तिनै संकटोन्मुख र लोपोन्मुख भाषा जोगाउन भाषा संग्रहालय स्थापना गर्ने भएको छ।
आयोग अध्यक्ष डा.लवदेव अवस्थीका अनुसार तथ्यांक विभागको सहयोगमा आयोगले २९ लोपोन्मुख भाषामध्ये २१ वटाको वर्ण निर्धारण तथा शब्द संकलन, शब्दकोश निर्माण तथा इतिहास लेखन गरिसकेको छ। मेचे, राउटे, लाप्चा, हायू, सुरेल, किसान, दुरा, बोटे, ल्होमी, उराव, तिलुङ, कुमा, दराई, स्युवा, भोजपुरी, साम्पाङ, जेरुङ, जुम्ली खस, बेलहारे र राजवंशी भाषाको त्यस्तो अभिलेखीकरण भइसकेको हो। ती भाषाका व्याकरण पनि तयार गरिसकिएको आयोगले जनाएको छ।
संग्रहालय स्थापनापछि लोपोन्मुख भाषाका संरक्षण एवं अध्ययन अनुसन्धानमा सहयोग पुग्ने अध्यक्ष अवस्थीले बताए। ‘संकलित भाषिक सामग्री दिगो रूपमा संरक्षण हुने व्यवस्था गर्नुपर्छ। आयोगको आफ्नै भवन छैन’, अवस्थीले भने, ‘स्थायी ठाउँको व्यवस्था गर्न संस्कृति मन्त्रालयसँग अनुरोधसमेत गरिसकेका छौं। स्थायी भवन उपलब्ध भएपछि संग्रहालय स्थापना हुन्छ।’ प्रत्येक वर्र्ष भाषिक सामाग्रीको संकलन थप्दै जाने अवस्थीले बताए।
आयोगले कुलुङ, बाम्बुले, चाम्लिङ, बज्जिका मगही, जिरेल, गोपाली, सुनुवार, बराम, खाम मगर, काइके, राना थारू भाषाका सामग्री तयार पारेको छ। अवस्थीका अनुसार भाषिक लिखितका साथै श्रव्यदृश्य सामग्रीको संकलनपछि डिजिटलाइजेसन गरी संग्रहालयमा राखिने छ।
आयोग अघिल्लो वर्ष गठन भएको हो।
संविधानको धारा २८७ अनुसार सरकारी कामकाजको भाषाको सिफारिस, भाषाको संरक्षण सम्बद्र्धन र विकास, मातृभाषा विकासको स्तर मापन र शिक्षामा प्रयोगको सम्भाव्यतासम्बन्धी सिफारिस र भाषाहरूको अध्ययन अनुसन्धान र अनुगमन गर्ने यसको कार्यक्षेत्र हो। एक वर्ष पूरा भइसक्दा पनि सरकारले आयोगलाई पूर्णता दिन भने सकेको छैन।