धानको मूल्य तोकियो, बिक्री भएन
धनगढी : सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन्। विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो।
दसैंतिहार खर्च निकाल्न किसानले असोज पहिलो साताबाटै धान बेच्न थालिसकेका छन्। तोकिएको मूल्य कडाइका साथ कार्यान्वयन गराउन प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पनि त्यो कार्यान्वयनमा आएको छैन।
‘विगतमा ढिला गर्ने सरकारले यस वर्ष समयमै धानको मूल्य तोक्यो’, कैलारी गाउँपालिकाका किसान प्रदेशु चौधरीले भने, ‘मूल्य निर्धारण भएर के गर्नु, सरकारले धानको खरिद सुरु नगरेकाले गल्ला व्यापारीलाई उनीहरूले भनेको मूल्यमा बिक्री गर्नु परेको छ।’
विगतमा धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा कैलाली र कञ्चनपुरका किसानले लागत मूल्यसमेत पाउन नसकेको गुनासो गर्दै आएका थिए। यस वर्ष प्रदेश र स्थानीय सरकारलेसमेत किसानलाई सहज नगरिदिएको उनीहरूको गुनासो छ। सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रुपैयाँ तोकेको छ भने गत वर्ष त्यो मूल्य दुई हजार दुई सय थियो ।
विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो।
मध्यम धानको मूल्य दुई हजार चार सय ६० रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । गत वर्षभन्दा यो वर्षको मूल्यमा १२ पैसा मात्र बढी हो। तर किसानले बजारमा क्विन्टलको १९ सय रुपैयाँमा धान बिक्री गरिरहेका छन्।
खाद्य संस्थान र बीउबिजन कार्यालयले मात्रै सरकारले तोकेको मूल्यमा धान खरिद गर्छन्। उनीहरूले खरिद गर्ने परिमाण सीमित छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले यस वर्ष झन्डै एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख प्रेमनारायण भण्डारीले बताए। ‘विभागबाट धान खरिद गर्ने लक्ष्य नलिएसम्म खरिद गर्न मिल्दैन’, उनले भने।
विभागबाट लक्ष्य आउनेवित्तिकै खरिद प्रक्रिया सुरु हुने उनले जानकारी दिए। खाद्य संस्थानले जिल्लाको टीकापुर, भजनी, सुखड, जोशीपुर, मोहनपुर र धनगढीलगायत क्षेत्रमा खरिद केन्द्र अर्थात् काँटा राख्ने गरेको छ।
यसैको हाराहारीमा बीउबिजन कम्पनी लिमिटेडले खरिद गर्नेछ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले धान खरिदबिक्रीका लागि प्रदेश मन्त्रालयसँग छलफल भएको बताए। सरकारी निकायले ढिलो गरी धान खरिद गरेमा किसान घुमिफिरी व्यापारीकै चाहनाअनुसारको मूल्यमा बिक्री गर्न बाध्य हुने किसान बताउने गरेका छन् ।
‘किसान धान तयार हुनेवित्तिकै बिक्री गर्न खोज्छन्’, घोडाघोडी नगरपालिकाका किसान प्रेम डगौराले भने, ‘तर सरकार जहिले पनि ढिलो गरी धान खरिद गर्ने गर्छ।’ कैलालीको सीमापारी भारतमासमेत सोही गुणस्तरको धानको मूल्य मोटोको दुई हजार आठ सय प्रतिक्विन्टल तोकिएको छ ।
मध्यमको मूल्य तीन हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ । कैलालीमा मात्रै करिब तीन लाख मेट्रिक टन धान उत्पादन हुन्छ । कञ्चनपुरमा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन हुने कृषि कार्यलयको तथ्यांक छ । किसानले गल्ला व्यापारीलाई पोस्न सरकारले समयमा मूल्य नतोक्ने, मूल्य तोके पनि समयमा खरिद नगरेको आरोप लगाएका छन्।