खसोगीकी प्रेमिकाद्वारा ट्रम्पको निम्ता अस्वीकार
एजेन्सी : साउदी अरबद्वारा हत्या गरिएका पत्रकार जमाल खसोगीकी प्रेमिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्ता अस्वीकार गरेकी छन्। खसोगीको अक्टोरब २ का दिन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासभित्रै हत्या भएको थियो। उनकी प्रेमिका हेतिस सेन्गिजले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ट्रम्पको निम्ता अस्वीकार गरेकी हुन्।
‘म अमेरिका जान्छुजस्तो लाग्दैन,’ हाबेर तुर्क नामक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सेन्गिजले भनिन्, ‘म अमेरिका जान्छु कि जान्नँ भन्ने कुरा मेरो अन्तरात्मामा निर्भर छ।’
ट्रम्प प्रशासनले खसोगीको मुद्दामा कस्तो काम गर्छ, त्यसका आधारमा अमेरिका जानेनजाने तय गर्ने पनि उनले बताइन्।
तीन साताअघि पत्रकार खसोगी सेन्गिजलाई बाहिर पर्खाएर सम्बन्धविच्छेद प्रमाणित गरेको कागजात लिन टर्कीको इस्तानबुलस्थित महाबाणिज्यदूतावासमा गएका थिए। सेन्गिजसँग उनको ‘इन्गेजमेन्ट’ भइसकेको थियो। हाल साउदी अरबले उनको हत्या भएको स्वीकारेको छ।
खसोगी हत्यापछि साउदी सत्ता अप्ठेरोमा परेको छ। साउदीमाथि व्यापक अन्तर्राष्ट्रिय दबाब परेको छ। टर्कीले आरोपित १८ जनालाई आफ्नो देशमा सुपुर्दगी गर्न पनि साउदीलाई आग्रह गरेको छ। यद्यपि हालसम्म खसोगीको शव फेला परेको छैन। साथै सो हत्याको आदेश कसले दिएको थियो भन्ने पनि स्पष्ट भइसकेको छैन।