भारतमा 'मिटु’ अभियान
मुम्बई: महिलाको स्थिति दर्शाउने फिल्म ‘हाट द विकली बजार’मा अभिनेत्री दिव्या दत्ताको अहम् भूमिका छ। यो फिल्मले नारीको अस्तित्वको कुरा गर्छ र नारीको शक्तिको पहिचान गराउँछ। यही फिल्मको स्क्रिनिङको समयमा अभिनेत्री दत्ताले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘मलाई लाग्छ, महिलालाई कुनै पनि फिल्डमा सकेसम्म दबाउन खोजिन्छ। मौका मिल्नेबित्तिकै महिलालाई दुःख दिने काम गरिन्छ।’
अधिकांश महिलाले आफ्नो भनाइ राख्न असक्षम रहेको उनले बताइन्। दिव्या भन्छिन्, ‘खुलेर बोल्ने अभियान सुरु भएकोमा म खुसी छु। अब महिला एक्लै छैनन्, सबै उनीहरूको साथमा छन्।’ नयाँ चीज स्थापित हुन समय लाग्ने बताउँदै दिव्या भन्छिन्, ‘बन्दै गरेको नयाँ कानुनले मिटु अभियानलाई अवश्य पनि सहयोग पुग्नेछ।
दिव्याजस्तै ओम पुरीकी श्रीमती सीमा कपुरले पनि मिटु अभियानको स्वागत गरेकी छन्। सीमा भन्छिन्, ‘म यो अभियानको तारिफ गर्छु। आज महिला यही अभियानका कारण खुलेर बोल्न सक्ने भएका छन्।’ चार दशक अगाडिको कुरा सम्झँदै सीमाले भनिन्, ‘पहिलेको जमाना यस्तो थिएन। यौन उत्पीडन त हुन्थ्यो नै, खुलेर बोल्दा एक महिलाको पूरै जिन्दगी खराब हुने सम्भावना थियो।’ अत्याचारमा परेका महिलाले आज जसरी आवाज उठाइरहेका छन्, यो भावी पुस्ताका लागि पनि प्रेरणा भएको सीमाको भनाइ छ।
तनु श्री दत्ताले १० वर्षअगाडि आफूमाथि भएको यौन दुव्र्यवहारको विरोध जनाएसँगै भारतमा मिटु अभियानले गति लिइरहेको छ। पछिल्लो समय उनले फिल्म ‘नो हर्न प्लिज’को एक गीत सुटिङ हुँदा सिनियर अभिनेता नाना पाटेकरले आफूमाथि गरेको यौन दुव्र्यवहारविरुद्ध बोल्दै आएकी छन्।