रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित
काठमाडौँः क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिर ए मा युभेन्ट्सले अग्रता बढाउँदै लगेको छ । पहिलो हाफमा गोल खाएर पछि परेको युभेन्ट्सलाई जिताउन रोनाल्डोले दुवै गोल गरेका हुन् ।
इम्पोलीका लागि खेलको २८ औँ मिनेटमा फ्रान्ससेस्को क्यापुटोले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफमा पछि परेको युभेन्ट्सले दोस्रो हाफमा दुवै गोल गर्यो ।
उसका लागि खेलको ५४ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डाले पेनाल्टीबाट गोल गरे । बराबरी गरेको १८ मिनेटपछि रोनाल्डोले नै ब्लाइसे म्याटुडिको पासमा गोल गरेपछि युभेन्ट्सले २–१ को अग्रता लियो ।
युभेन्ट्सले यसलाई अन्तिमसम्म कायम राखेपछि पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै तीन अंक लिन सफल भयो । यो जितपछि युभेन्ट्स १० खेलबाट २८ अंकसहित लिगको पहिलो स्थानमा कायमै छ । उसलाई पछ्याइरहेको नापोलीले ९ खेलबाट २१ अंक जोडेको छ ।