मिसन स्कुल टु नेसन गेम प्रशिक्षण सुरु
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन स्कुल टु नेसन गेम कार्यक्रम शनिबारबाट सुरु गरेको छ । राखेप अन्तर्गतको खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा राष्ट्रपति रनिङ सिल्डको पछिल्ला तीन संस्करणमा पहिलो स्थान हात पार्ने चार खेलका खेलाडीका लागि १० दिने विशेष प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।
विद्यालयस्तरबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु र एथलेटिक्सका ९० खेलाडी सहभागी छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले कार्यक्रम उद्घाटन गरे । सदस्यसचिव विष्टले विद्यालय तहदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यल कार्यक्रम सुरु गरिएको बताए । उनले प्रशिक्षणमा सहभागी चारै खेलका एक महिला र एक पुरुष खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गर्ने बताए ।
प्रशिक्षणअन्तर्गत तेक्वान्दो र उसु राखेप कभर्डहलमा, कराते सातदोबाटो र एथलेटिक्स मूलपानीमा हुने छ । प्रशिक्षण कार्यक्रम कात्तिक १९ सम्म सञ्चालन हुनेछ ।
यसैगरी इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औं एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लक्षित गरी ‘सार्क टु ओलम्पिक’ कार्यक्रम पनि चाँडै सुरु गरिने भएको छ । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र ओलम्पिकलाई ध्यानमा राखेर विशेष कार्यक्रम सुरु गर्न लागिएको हो । यो कार्यक्रममा खेलाडीलाई विशेष सुविधा दिएर प्रशिक्षण सुरु गर्ने तयारी परिषद्को छ । राखेप सदस्यसचिव विष्टले उत्कृष्ट प्रशिक्षकको कडा निगरानीमा सन्तुलित डाइट दिएर वैज्ञानिक रूपमा ‘सार्क टु ओलम्पिक’ कार्यक्रममा सञ्चालन हुने जानकारी दिए ।