अब साइतमा मात्र विवाह

अब साइतमा मात्र विवाह

काठमाडौं: अबदेखि बेमौसमी महिनामा विवाह नहुने भएको छ। केही वर्षयता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन्। देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो।

‘भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने कार्यलाई नितान्त बन्द गर्ने विषयमा यो सम्मेलन मुलुकभरका सबै पण्डितलाई निर्देशन र आह्वान गर्दछ’, राजधानीमा दुई दिन चलेको सम्मेलनको अन्तिम दिन शनिबार १५ बुँदे घोषणापत्र जारी गर्दै घोषणापत्रका संयोजक एवं संस्कृतिविद् श्रीकृष्ण अधिकारीले भने।

सम्मेलनमा पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको थियो। उनले थपे, ‘अबदेखि यी महिनामा विवाह गर्ने काम बन्द गरौं, कसैले सोधेमा वा साइत निकाल्न भनेमा स्पष्ट रूपमा हुँदैन, गर्दैनौं भनिदिनोस्।’

राष्ट्रिय धर्मसभा नेपालले आयोजना गरेको सम्मेलनमा काठमाडौंका पण्डित देवीप्रसाद पाठकले कर्मकाण्डको एउटै किताब भए पनि काममा एकरूपता नहुँदा असल पण्डित पनि आलोचित हुनु परेको बताए। उनले भने,‘कुन गुरु साँचो हुन् भनेर छुट्याउन कठिन छ। अब सबैलाई परिचयपत्र र एउटै पोसाकको व्यवस्था गर्नुपर्छ, नभए जहिले पनि विवाह आशौचमा परेकाले पनि कर्मकाण्ड गर्ने प्रवृत्ति बढ्यो।’

धर्मसभाका अध्यक्ष डा. माधव भट्टराईले शास्त्रविपरीतका काम गर्नु पण्डितको धर्म नभएको बताए। उनले भने, ‘कर्मकाण्ड, ज्योतिष आदि क्षेत्रमा आइरहेका विकृति निराकरण गर्न एवं वैदिक सनातन धर्मसंस्कृतिका मूल्यमान्यतामाथि दिनप्रतिदिन बढ्दै गइरहेको छ। अतिक्रमणको प्रतिकार गर्दै त्यसले निम्त्याएका विकृति निवारण गर्न सबै पण्डित एकजुट भएका छौं।’

पण्डित हरिशरण उपाध्यायले केही पण्डितले अज्ञानले त केहीले थाहा पाउँदापाउँदै पनि शुक्रअन्ध हुँदा, आफैंलाई आशौच परेका बेला र साइत नहुँदानहुँदै साइत निकालेर विवाह लगायतका कर्मकाण्ड गरिरहेकोप्रति आपत्ति जनाए। उनले भने, ‘भागवतजस्तो पवित्र यज्ञ पनि अयोग्यले जथाभावी सञ्चालन गरी चन्दा संकलनको माध्यम बनाउनु पण्डितमाथिकै प्रहार हो।’

पूर्वाञ्चलको प्रतिनिधित्व गर्ने पण्डित लेखनाथ न्यौपानेले ज्ञान नहुने र लोभमा पर्ने पण्डितले विधिवत् कर्मकाण्ड र पुराण नगर्दा विकृति फैलिएको र यसले प्रकृति र ब्रह्माण्डमै नकारात्मक प्रभाव परिरहेको बताए।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले ज्योतिषीसमेत विवादित भएको भन्दै धर्मसंस्कृति जोगाउन नसके राष्ट्रियता खतरामा पर्ने चेतावनी दिए। उनले भने,‘पण्डितको महत्व विशेष छ, सफेद पहिरन र सात्विक भोजनबाट बिटुलिन हुँदैन।’

प्राडा देवमणि भट्टराईले पण्डितले लोभ र दबाबमा परेर १३ दिने काजकिरियालाई पाँचसात दिनमा झार्न नहुने बताए। पवित्र कार्य गराउने जिम्मेवारी पाएका पण्डितले नै समाजमा विकृति छर्ने काम गर्न नहुने सम्मेलनको निष्कर्ष थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.