बाजेको पालामा गडबडी, नातिको पालामा कारबाही
भक्तपुर : कहीँ तपाईंको घरमा पनि विद्युत् खपत कम भइरहेको त छैन ? घरमा टेलिभिजन, फ्रिज, कम्प्युटर, ल्यापटप, पंखा, हिटरजस्ता बढी विद्युत् खपत गर्ने विद्युतीय सामानको प्रयोग भइरहेको छ। तर मिटरमा विद्युत् खपत कम देखाइरहेको छ भने सचेत हुनुहोस्। बुझ्नुहोस्, घरमा विद्युत् लाइनमा गडबढी छ। तपाईंको घर बाजेको पालाको हो भने त त्यसमा ढुक्क हुनुहोस्, विद्युत् लाइनमा केही न केही गडबढी छ।
नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रको विद्युत् चुहावट अभियानका क्रममा धेरै घरमा थाहै नहुने गरी विद्युत् चुहावट भइरहेको फेला परेको हो। बाजेको पालामा अपनाइएको चोरीको विधि घरपरिवारले थाहा नपाउँदा अहिले नाति पुस्ता कारबाहीमा पर्नु पर्ने बाध्यता आएको छ। ‘बाजेको पालामा मिटर राखेर बत्ती बालियो’, भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठ भन्छन्, ‘बाजेकै पालामा चोरीको विधि अपनाइयो। घरपरिवारलाई थाहा दिइएन।
अहिले नातिको पुस्तामा चुहावट भइरहेको फेला पर्यो। चुहावट देखिएपछि कारबाही नगरी भएन।’ उनले बाजेको पालादेखि अहिलेसम्म न्यूनतममात्रै विद्युत् खपत भइरहँदा पनि घरका मान्छेले वास्ता नगर्दा यस्ता कारबाहीको संख्या बढेको सुनाए। केन्द्र आफैंले पनि पाँच/छ वर्षको विद्युत् खपत र घरको आकार हेरेर चुहावट चेकजाँच गर्दै आएको उनको भनाइ छ।
घर पाँच/छ तलाको भए पनि मिटरमा न्यूनतममात्रै खपत अंक देखाइरहेको श्रेष्ठको भनाइ छ। शंका लागेर यस्ता घरमा चेकजाँच गर्दा विद्युत् चुहावट भइरहेको धेरै घर भेटिएको उनले सुनाए। ‘विद्युत् चुहावट भइरहेको देखायो, घरका मान्छे नै अचम्म मान्छन्’, उनले थपे, ‘हामीले चोरेकै होइन। धरोधर्म हामीलाई थाहा नै छैन भन्छन्। कसरी विश्वास गर्ने ? घरमा बस्नेलाई विद्युत् चुहावट भइरहेको थाहा नहुने भन्ने हुँदैन।’
घरमा विद्युत्को प्रयोगको आधारमा के कति युनिट जान्छ भन्ने सर्वसाधारणलाई थाहा हुन्छ। ‘आजभोलि हरेक घरमा टीभी, फ्रिज, पंखा, हिटर, कम्प्युटर खाली हुँदैन। यस्तो अवस्थामा पनि न्यूनतममात्रै युनिट जाँदै जाँदैन’, उनी भन्छन्, ‘हामी कम विद्युत् गयो भनी मख्ख परेर बस्न गर्छौं।’
केन्द्रले चालू आर्थिक वर्षको असोजभित्र मात्रै एक सय १७ जनालाई विद्युत् चुहावटमा कारबाही गरिसकेको छ। जसबाट ४० लाख रुपैयाँ जरिवाना असुलउपर गराइएको छ। २०७४/७५ मा तीन सय ६८ जनालाई विद्युत् चुहावटमा कारबाही गरिएको थियो। गत वर्ष कारबाही गरिएकामध्ये आधा ग्राहक बाजेको पालामा गरिएको चोरीको भागीदार नाति पुस्ता रहेको केन्द्रका प्रमुख श्रेष्ठ बताउँछन्।
भूकम्पमा घर भत्किएर नयाँ मिटर जडान गर्ने क्रममा यस्ता चुहावट बढी देखिएको केन्द्रले जनाएको छ। पहिले घरभित्रैबाट तार लगेर मिटर जोडिएकाले मिटर नपुग्दै घरभित्रको तारमा ट्यापिङ गरेर विद्युत् चुहावट गरेको धेरै पाइएको केन्द्रको चुहावट नियन्त्रणमा खटिएका कर्मचारी बताउँछन्।