कांग्रेस महासमिति भृकुटीमण्डपमा

कांग्रेस महासमिति भृकुटीमण्डपमा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले महासमितिको भेला काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ। कांग्रेसले मंसिर ५-९ राजधानीमा महासमिति भेला गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

सभापति शेरबहादुर देउवासहितका पार्टी पदाधिकारी सहभागी बैठकले काठमाडौं, ललितपुर र भक्तपुरका सभापतिसँग छलफल गरी महासमिति भेला तयारीका लागि उपसमिति गठन गरेको छ। बैठकले महासमिति भेला काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले महासमितिको तयारीसँगै यही कात्तिक १६ गते हुने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमबारे छलफल गरेको छ। भेला तयारीका लागि गठित स्थानीय व्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठकसमेत बसेको कांग्रेसले जनाएको छ।

बैठकले महासमिति भेला एवं चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम व्यवस्थित र भव्य बनाउन तीनै जिल्लालाई व्यापक परिचालन गर्ने निर्णय गरेको मुख्यसचिव पौडेलले जानकारी दिए। महासमिति भेलाका लागि उपसमितिहरू गठन गर्न स्थानीय व्यवस्थापन समितिको अर्को बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

मंसिर ५ मा सुरु हुने महासमितिले कांग्रेसको नयाँ विधान पारित गर्ने तयारी छ। पार्टीको नयाँ विधान मस्यौदा समितिले लेखिरहेको छ। नयाँ विधान कस्तो बन्छ भन्नेमा अहिले कांग्रेसीले चासोपूर्वक हेरिरहेका छन्। नेताहरूले पनि नयाँ विधानलाई लिएर फरक फरक धारणा सार्वजनिक गर्दै आएका छन्। नेता प्रकाशमान सिंहले सामाखुशीमा आयोजित कार्यक्रममा नयाँ विधानले पार्टीलाई चलायमान बनाउन सक्नुपर्नेमा जोड दिए। ‘आफू बलियो बन्न सभापतिले पदाधिकारी मात्रै थप्ने हो भने नयाँ विधानको औचित्य हुँदैन’, उनले भने।

विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा पार्टी सभापतिलाई अझै बलियो बनाउने प्रावधानहरू राखेको भन्दै सभापतिइतर समूहका नेताहरूले आलोचना गरेका थिए।

समितिले प्रारम्भिक मस्यौदामाथि सातै प्रदेशका १२ ठाउँमा सुझाव संकलन गरेको थियो। मस्यौदा समिति संयोजक पूर्णबहादर खड्काको संयोजकत्वमा सदस्यहरू रमेश लेखक, आनन्दप्रसाद दुंगाना र दीलेन्द्रप्रसाद बडूले मस्यौदालेखन अन्तिम चरणमा पुर्‍याएका छन्। समितिले सोमबारसम्म अन्तिम मस्यौदा तयार पारिसक्ने जनाएको छ। समितिले अन्तिम मस्यौदा केन्द्रीय समिति बैठकमा पेस गर्नेछ। केन्द्रीय समितिले विधान पारित गरी महासमितिमा निर्णयार्थ पेस गर्नुपर्ने हुन्छ। महासमितिको दुर्ई तिहाइ बहुमतले पारित गरेपछि विधान लागू हुनेछ।

संघीय संरचनाअनुसार पार्टी संरचना पनि रूपान्तरण गर्न बनेको विधानले कांग्रेसको आन्तरिक संरचनामा व्यापक परिर्वतन ल्याउनेछ। विधानको प्रावधान तथा नेविसंघको विधानसम्बन्धमा शीर्ष नेताहरूबीच पछिल्लो समय बढ्दै गएको तिक्तताले केन्द्रीय समिति बैठक प्रभावित भइरहेको छ। सभापति देउवा र पदाधिकारीले १६ गतेको चियापान अगावै केन्द्रीय समिति बैठक डाक्ने नडाक्नेबारे छलफल गरिरहेका छन्।

‘कांग्रेस सुधार्नुको विकल्प छैन’

विराटनगर : कांग्रेस कार्यकर्ताले तल्लो तहबाटै विवाद मिलाएर अघि बढ्न नेतृत्वमाथि दबाब दिएका छन्।

कांग्रेस मोरङ क्षेत्र ५ ले शनिबार मोरङको धनपालथान दादरबैरियामा गरेको कार्यक्रमका सहभागीले पार्टी सुधारेर अघि बढ्नुको विकल्प नभएको बताए। उनीहरूले विधानसम्मत ढंगले नेतृत्व अघि नबढे पार्टी सुदृढ गर्न कठिन हुने स्पष्ट पारे। कांग्रेस नेता विजयकुमार गच्छदार प्रमुख अतिथि थिए। कार्यकर्ताले पार्टी एकताको अनुभूति दिलाउन र तलका गुट मिलाउन उनको ध्यानाकर्षण गराएका थिए। केन्द्रीय सदस्य अमृत अर्याल, सांसद डा.डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीलगायत नेताले सम्बोधन गरेका थिए।

ट्रेड युनियन कांग्रेसका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले कांग्रेस नयाँ विधानको प्रतीक्षामा रहेको बताए। पूर्वसांसद उषा सरदारले पार्टी एकताको चर्चा गर्दै अब तल्लो तहबाटै सबै पद मिलाएर अघि बढ्न सुझाव दिइन्। नेता गच्छदारले पार्टी अब एकढिक्का भई नयाँ सोचका साथ अघि बढ्ने बताए। ‘लोकतान्त्रिक गणतन्त्रको मूल मर्मत सम्बोधन हुने गरी विगतको साख बचाउँदै यात्रा गर्नुको विकल्प छैन’, उनले भने।

केन्द्रीय सदस्य अर्यालले संगठन सुदृढीकरण गर्न अब तल्लो तहसम्म अभियान नै चलाइने सुनाए। यसका लागि विधान मस्यौदा समितिले नयाँ संरचनाअनुसार नेतृत्व विकास गर्न काम गरिरहेको उनको भनाइ थियो।

स्थायी गुटले कांग्रेस कमजोर : खाँण

बुटवल: कांग्रेसका संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्थायी गुटका कारण पार्टी कमजोर भएको बताएका छन्। संसारको कुनै पनि प्रजातान्त्रिक पार्टीमा कांग्रेसमा जस्तो स्थायी गुट नहुने उनले दाबी गरे।

रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा गरेको कार्यक्रममा उनले भने, ‘कहाँबाट स्थायी गुट आयो जसले कांग्रेसलाई कमजोर बनाएको छ।’ मुद्दामा आधारित गुट हुनुपर्नेमा त्यसो नभएको उनको भनाइ छ।

‘राजतन्त्र राख्ने कि नराख्ने, धर्म निरपेक्षता हुने नहुने यस्ता अरु राष्ट्रिय अन्तर्राष्ट्रिय इस्युमा गुट हुन सक्छन्’, उनले भने, ‘एउटा इस्यु सकेर नयाँ मुद्दा आउँछ। नयाँ छलफल हुन्छ। यहाँ त स्थायी भयो, मुद्दाका आधारमा नभएर व्यक्तिका लागि गुटबन्दी भयो। यसो हुनु पार्टी र प्रजातन्त्रका लागि घातक छ।’ स्थायी गुटको समस्या हल गर्न पार्टीका आन्तरिक सबै चुनाव एकल संक्रमणीय पद्धतिका आधारमा हुनुपर्ने उनले बताए।

कम्युनिस्टको सरकारले अधिनायकवादी शैली देखाएको आरोप उनले लगाए।

संघ, प्रदेश र स्थानीय तहबीच के गर्ने कुनै तालमेल हुन नसकेको उनले बताए। उनले सत्तारुढ दुई कम्युनिस्ट पार्टीको एकीकरण भइसकेको भोलिपल्टै विघटनको यात्रा सुरु हुने दाबी गरे।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.