मैदानबाट उडेलगत्तै खस्यो लेस्टर सिटीका मालिकको हेलिकोप्टर
काठमाडौं : इङ्गलिस प्रिमियर लिग पूर्वच्याम्पियन लेस्टर सिटीका मालिकको हेलिकोप्टर स्टेडियम नजिकै दुर्घटनामा परेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति वेस्टह्यामविरूद्धको खेल सकिएलगत्तै किङ पावर स्टेडियमबाट उडेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
किङ पावर स्टेडियममा वेस्टह्यामसँग लेस्टरले १-१ गोलको बराबरी खेलेपछि लेस्टरका मालिक विचाई श्रीवादधानप्रभाको हेलिकोप्टर स्टेडियमबाट उडेको थियो । उडेलगत्तै स्टेडियमकै कार पार्किङ क्षेत्रमा हेलिकोप्टर खसेको हो ।
दुर्घटनामा परेको हेलिकोप्टरमा विचाई रहे-नरहेको केही खुलेको छैन । हेलिकप्टर क्लबको कार पार्कमा दुर्घटनाग्रस्त भएर आगो लागेको थियो । हेलिकोप्टर दुर्घटना भएको थाहा पाएपछि लेस्टरका लेस्टरका गोलरक्षक क्यास्पर स्माइकलसहितका खेलाडीहरू कार पार्किङतिर कुदेका थिए ।
यो क्लबलार्इ थार्इ नागरिक विचाई श्रीवादधानप्रभाले सन् २००९ मा किनेका थिए । त्यसपछि क्लबले सफलता हात पार्दै गएको थियो । लेस्टरले सन् २०१५/०१६ को सिजनमा बलिया क्लबहरूलार्इ पछि पार्दै इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको थियो ।