सहकार्य गर्न सत्ता पक्ष तयार हुनुपर्छ : देउवा

सहकार्य गर्न सत्ता पक्ष तयार हुनुपर्छ : देउवा

काठमाडौं : प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय मेलमिलापका लागि सत्तापक्ष तयार हुनुपर्ने बताएका छन्। संविधान कार्यान्वयन, कानुन निर्माण र राजनीतिक सहमतिका लागि सत्तापक्ष तयार हुनुपर्ने उनको भनाइ छ।

सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना तथा चिपायान कार्यक्रममा देउवा सहभागी भए। संविधान कार्यान्वयनको चरणमा सत्तापक्ष-प्रतिपक्षबीच सौहार्दपूर्ण सम्वाद कायम हुन नसकिरहेको, प्रमुख दलहरू आफ्नै पार्टीभित्रका समस्यामा रुमल्लिरहेको र अन्तरराजनीतिक सम्वाद पनि पातलिँदै जान थालेको अवस्थामा नेकपाले आयोजना गरेको चियापानमा उनले देशलाई मेलमिलापको आवश्यकता रहेको औंल्याउँदै सत्तापक्ष त्यसका लागि तयार हुनुपर्ने संक्षिप्त धारणा राखेका थिए। ‘देश मेलमिलापमा जानुपर्छ। त्यसका लागि सत्तापक्षको हातमा छ सबै कुरा’, कांग्रेस सभापति देउवाले भने।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने कार्यक्रमको सुभारम्भमै सम्बोधन गर्दै देशलाई अब सांस्कृतिक, राजनीतिक सबै रूपमा एकताको सूत्रमा बाँध्ने र समृद्धिको दिशामा लैजानुपर्ने आवश्यकता औंल्याएका थिए। ‘भौगोलिक र जनसंख्याका हिसाबमा नेपाल ठूलो नभए पनि बहुसांस्कृतिक, बहुजातिय विविधता मौलिक प्रकारको छ। यो गर्व गर्न लायक विषय हो’, उनले भने, ‘अन्य राजनीतिक गतिविधि ढिलो भए पनि शुभकामना कार्यक्रमले समाजमा एउटा जीवन्तता पैदा गरेको छ।। हामीले अब सबैलाई एकताको सूत्रमा बाँध्ने र समृद्धिको दिशामा देश लैजाने उद्देश्यमा केन्द्रित हुनुपर्छ।’

नेकपा महासचिव विष्णु पौडेलले संविधान निर्माण भइसकेको सन्दर्भमा अब देशले विकास र समृद्धिका लागि एकता कायम गर्नुपर्ने बताए। उनले भने,‘संविधान निर्माण गरिसकेका छौं, अब समृद्धि, विकास तिरको गतिमा अगाडि बढ्नु छ। सामाजिक न्याय र समाजवादतिर अब हामीले मिलेर यात्रा गर्नुपर्छ।’

प्रधानमन्त्री अस्वस्थ्य भएपछि पुगेनन्, भट्टराई मानेनननेकपा केन्द्रीय समितिको आयोजनामा चियापानमा नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने उपस्थित हुन सकेनन्। ‘स्वास्थ्यमा सामान्य हल्का समस्या देखियो, छातीमा हल्का संक्रमण देखिएको छ। रुघाखोकी देखिएकाले उहाँ (प्रधानमन्त्री) नआउनु भएको हो’, महासचिव विष्णु पौडेलले भने, ‘उहाँ भौतिक रूपमा उपस्थित नभए पनि भावनात्मक रूपमा सहभागी हुनु भएको छ। उहाँको सुभकामना सन्देश सँगै छ।’

ओली स्वास्थ्यमा सधुार आए चियापानको अन्तिम समयसम्म भए पनि आउने जानकारी सुरुमा दिइएको थियो। पछि उनका प्रमुख स्वकीयसचिव राजेश बज्राचार्यले बिरामीका कारण प्रधानमन्त्री कार्यक्रममा नआउने सन्देश सञ्चारकर्मीलाई दिएका थिए।

उता पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भने नेकपाको चियापानमा आफू आउन नसक्ने जानकारी शनिबार बिहानै सामाजिक सञ्जालमा नै उल्लेख गरेका थिए।

चियापानमा ५० हजारलाई खुवाउने भोज उत्पादन क्षेत्रमा लगानी गरेको भए राम्रो हुने भन्दै भट्टराईले कार्यक्रममा आउन नसक्ने बताएका हुन्। ‘सत्तारुढ कमरेडहरू, एउटै खाममा ५४ वटा शुभकामना÷निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद। तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना। गरिब देशको सर्वहारावर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ। जय होस्।’ निम्तो अस्वीकार गरेका पूर्वप्रधानमन्त्री भट्टराई अशोक शर्माको फिल्म ‘जय भोले’ हेर्न सपरिवार सिनेमा हल पुगेका थिए।

येचुरीदेखि विप्लवसम्मका नेता चियापानमा

चियापानमा भारतीय कम्युनिस्ट पार्टी भाकपा (माक्र्सवादी)का महासचिव सीताराम येचुरीदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वमन्त्रीहरू, राजनीतिक दलका नेताहरू पुगेका थिए। दिउँसो ३ बजेसम्म पार्टीका नेता कार्यकर्ताका लागि र त्यसपछि राजनीतिक दलका नेता, विशिष्ट कूटनीतिक नियोगका प्रतिनिधि, प्रबुद्ध व्यक्तिहरूका लागि समय नेकपाले निर्धारण गरेको थियो।

सोहीअनुसार पूर्वप्रधानमन्त्री देउवा, राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणा, कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठलगायत अधिकांश राजनीतिक दलका नेताहरू चियापानमा पुगेका थिए।

चियापानमा नेकपाले अहिलेको सत्ता र व्यवस्थासँग असहमति राख्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासम्मलाई पनि निम्तो गरेको थियो। नेपालमै रहेका भाकपा (माक्र्सवादी)का महासचिव सीताराम येचुरी झण्डै एक घण्टा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका बीचमा उभिएरै सहभागीहरूसँग शुभकामना आदानप्रदान गरेका थिए। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समर्थित कानुन व्यवसायी एकराज भण्डारी पनि दलको प्रतिनिधित्व गर्दै चियापानमा पुगेका थिए।

असन्तुष्टको पर्चा भेटियो

चियापानमा नेकपाभित्रकै असन्तुष्ट समूहको नेतृत्व गर्दै युवराज पौडेल (सफल)ले कार्यक्रमस्थलमा ‘कथित चियापान बहिष्कार गरौं’ पर्चा छरेका थिए। पार्टी एकताका क्रममा सैद्धान्तिक राजनीतिक त्रुटी भएको भन्दै उनले ५०÷५० प्रतिशतका आधारमा एकता प्रक्रिया टुंग्याउनु पर्नेलगायत ५ बुँदे माग राखी चियापान बहिष्कारको पर्चा छरेका थिए।

सुरुमा उनलाई कार्यक्रमस्थलबाट हटाउन नेकपा कार्यकर्ताले प्रहरीसँग अनुरोध गरे पनि पछि भने आफैं हातपात गर्दै बाहिर निकालेका थिए। पौडेलले यसअघि पनि नेकपाका वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालगायत नेतासँग आफ्नो माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.