सीमा नाकामा काँडेतार
टीकापुर : कैलालीको टीकापुर नगरपालिका–८ तोलीगाउँका स्थानीयले जंगली जनावर रोक्न सीमा क्षेत्रमा काँडेतार लगाएका छन्। भारतीय सीमासँग जोडिएको तोलीगाउँका स्थानीयले बर्सेनि जंगली जनावरले बाली नष्ट गर्न थालेपछि काँडेतारसहितको विद्युतीय धराप निर्माण गरेका हुन् ।
भारतीय सीमावर्ती वनरिया संरक्षित जंगलबाट आउने जंगली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरले बर्सेनि किसानले लगाएको बाली नष्ट गर्न थालेपछि दसगजा क्षेत्रबाटै विद्युतीय धराप निर्माण गरेका हुन् । राति आउने जंगली जनावरले उखु, धान, केरा, गहुँ, तोरीलगायत बाली खानुका साथै नष्ट गर्दै आएका थिए। तोलीगाउँको बाटो भएर जंगली जनावर पानी पिउन कर्णाली नदीसम्म आउने गर्छन् ।
प्रायः राति आउने जंगली हात्तीलगायत जनावरले बर्सेनि बाली खाएर नष्ट गर्न थालेपछि विद्युतीय धराप निर्माण गरिएको स्थानीय अबकर मल्लाहले बताए । ‘कृषिमा आश्रित गाउँलेले लगाएको अन्नबाली जंगली जनावरले खान थालेपछि जनावरको आक्रमण रोक्न विद्युतीय धराप निर्माण गरेका हौं’, मल्लाहले भने। विद्युतीय धराप निर्माण गर्न टीकापुर नगरपालिका–८ ले गत वर्ष बजेट विनियोजन गरेको थियो ।
वडा कार्यालयले गत वर्ष कर्णाली नदीको पुल हुँदै बर्दियाको सीमावर्ती दसगजा क्षेत्रसम्म झन्डै ६ किलोमिटर विद्युतीय धराप निर्माण गरेको हो । विद्युतीय धरापसहितको काँडेतार गरिएपछि जंगली जनावरको आक्रमण रोकिएको कर्णाली आधारभूत विद्यालयका शिक्षक शेरबहादुर बुढाले बताए ।
धानखेती पाक्ने समयमा हात्ती आउने क्रम बढी हुने गरेको किसानको गुनासो आएपछि रोकथामका लागि विद्युतीय धरापसहितको काँडेतारबार गरिएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । जंगली जनावरको आक्रमण रोक्न स्थानीयले रातभर जाग्राम बस्ने, थाली ठटाउने, अग्लो टहरा निर्माण गरेर रातभर होहल्ला गर्दै आएका थिए। तीन सयभन्दा बढी घरपरिवार रहेको तोलीगाउँमा झन्डै २ हजार बिघा जमिनमा किसानले खेती गर्दै आएका छन् ।
सीमानाकामा सुरक्षा कडाइ
महेन्द्रनगर : कञ्चनपुरको गड्डाचौकीलगायत नाकाबाट तिहारका लागि पटाकाजन्य सामग्री नेपाल भित्रिन नदिन सशस्त्र प्रहरी बलले सुरक्षा कडाइ गरेको छ। नियमित चेकलगायत गस्ती, पेट्रोलिङ बढाइएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाउँले जनाएको छ। सशस्त्र प्रहरीले निगरानी बढाएसँगै पटाकाजन्य सामग्री बरामद गरेको छ।
यसैबीच, सशस्त्र प्रहरीले शनिबार १५ लाख रुपैयाँ बराबरको मोबाइल बरामद गरेको छ। महेन्द्रनगरदेखि काठमाडौं गइरहेको लु.२ ख १९४३ नम्बरको बसमा लुकाएर लैजान लागिएका स्यामसुङ र ओप्पो ब्रान्डका ४४ थान मोबाइल सेट बरामद गरेको प्रहरीले जनाएको छ।