डोल्पामा बुद्धका बहुमूल्य ४२ मूर्ति चोरिए
दुनै : हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको–४ नाम्दोको राहाप गुम्बाबाट बुद्धका मूर्ति चोरी भएका छन । साविकको साल्दाङ गाविसको नाम्दोमा रहेको राहाप गुम्बाका एक थान बौद्ध स्तूपासहित ४२ थान पूराना बुद्ध मूर्ति चोरी भएका हुन् ।
चोरी हुने खतराबाट जोगाउनका लागि लुकाएर राखेका स्तूपा र मूर्ति चोरी कति दिन पहिला भयो भन्नेबारे कसैलाई पनि जानकारी छैन। कम्तिमा पनि एकसाता पहिले नै चोरी भएको हुनुपर्ने स्थानीयहरु बताउछन ।
सयांै बर्ष पूराना बौद्धका मूर्तिहरु चोरी हुन थालेपछि स्थानीयबासी त्रसित भएका छन् । पुजारी र गाउँका जानमानको राहोवरमा सुरक्षित स्थानमा राखिएका मूर्ति स्तूपा कसरी चोरी भए भनी अचम्मित भएको स्थानीय क्याल्छेन गुरुङले बताए ।
गुम्बाका बहुमूल्य मूर्तिहरु २०६२ सालदेखि नै राहाप गुम्बाका पुजारी लामाहरु कुन्साङ लामा, सोनाम गुरुङ, पेमातोर्चे लामा र थुक्तेन बुढाको संरक्षणमा राखिएको स्थानीय बताउछन। राहाप गुम्बा नाम्दो गाउँ भन्दामाथि रहेकाले लामा पुजारीहरुले पालैपालो सुरक्षा गर्ने गरेका थिए।
सयैां बर्ष पूराना बौद्ध स्तूपा र बुद्धका मूर्तिहरु गत असारसम्म गुम्बामै रहेको स्थानीयहरु बताउछन । लामा पुजारीहरुको सुरक्षामा रहेका स्तूपा र बहुमूल्य मूर्तिहरु कसले कहिले चोरी भया? भन्नेबारे भने कसैलाई जानकारी नभएको वडा नं ४ का वडाअध्यक्ष पेमावाङछेन लामाले बताए ।
यही कार्तिक ७ गते गुम्बाका पुजारी लामा गुम्बाको बाटो भएर चौरी गोठालो जाँदा मूर्ति चोरी भएको आशंका गरेर स्थानीयलाई जानकारी गराएका थिए । त्यसपछि हेर्दा मूर्ति र स्तूपा राखेको ठाँउमा नभएको स्थानीयहरु बताउछन। मूर्ति राखिएको ठाउँमा कोदालोसमेत भेटिएको बताइएको छ ।
मूर्ति चोरी भएको खबर पाएपछि शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धाबासम्डुक गुरुङ घटनाबारे बुझन नाम्दो पुगेका छन् । प्रहरी आइतबार बिहान घटना स्थलतर्फ जाने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए ।
डिएसपी बिष्टका अनुसार सुरक्षामा राखेका बहुमूल्य मूर्तिहरु कसरी चोरी भए भन्नेबारे पत्ता लाग्ने दाबी गरेका छन् । ‘हामीले सुरक्षा सतर्कता बढाएका छौं चोरको खोजी हुन्छ र फेलापनि पर्छ’ उनले ढुक्कताका साथ भने।
उच्च हिमाली क्षेत्र भएका कारण सुरक्षाकर्मी असोजसम्म मात्र माथिल्लो डोल्पामा बस्ने गर्दछन । गुम्बा रहेकै स्थानमा प्रहरी चौकी रहेको छ तर चिसो बढेसँगै प्रहरी सदरमुकाम फर्किएको छ । प्रहरी फर्किएपछि नै चोरी भएको अनुमान स्थानीयले गरेका छन् ।
चीनसँग सीमाना जोडिएका डोल्पाका तीन गाउँपालिका सुरक्षाविहीन रहेका छन् । हरेक बर्ष माथिल्लो डोल्पाका गुम्बाहरुबाट सयौं बर्ष पूराना बुद्धका मूर्ति, स्तूपालगायत बुद्धका पुस्तक चोरी हुने गरेका छन् ।