बालविवाहले लुट्यो खुसी
सुर्खेत : सिम्ता– ६ का १५ वर्षीय लोकेन्द्र खत्री र गुर्भाकोट नगरपालिका–४ की १४ वर्षीया पद्मा वलीले भागीविवाह गरे। कक्षा ८ मा पढ्दै गर्दा उनीहरूले सँगै जिउने कसम खाएका थिए। प्रेम सम्बन्धमा जोडिएको केही महिनामै बिहे गरेको तीन वर्ष बित्न नपाउँदै जोडी अलग भयो।
पढ्ने उमेरमै बिहे। परिवारले स्विकार्ने कुरै भएन। प्रेमको जालोमा परेको त्यो जोडी आफन्तबाटै अलग्गियो। प्रेमले मात्र घर–व्यवहार नचल्ने। विस्तारै आर्थिक समस्याले सताउन थाल्यो। लोकेन्द्र रोजगारीका लागि मलेसिया गए। उनी नफर्कंदै पद्माले दोस्रो बिहे गरिन्। आफैंले रोजेको पत्नीले छाडेर गएपछि लोकेन्द्र निरास छन्। केही महिनाअघि मात्र स्वदेश फर्किएका लोकेन्द्र भन्छन्, ‘जसलाई खुसी राख्छु भनेर विदेश गएँ, प्रेम त्याग्न नसकेर पढाइ पनि छाडें। आज उसैसँगको सम्बन्ध टुट्यो, सबै सपना चकनाचुर भए।’
हतारमा बिहे गर्दा पढाइ नै छुटेको भन्दै उनले अब आफूसँग पछुतोबाहेक विकल्प नरहेको सुनाए। गुर्भाकोट नगरपालिका–४ निवासी सुमित्रा नेपालीले कक्षा ९ मा पढ्दै गर्दा बिहे गरिन्। १५ वर्षको उमेरमा बिहे गरेकी उनी १६ वर्षमै आमा बनिन्। पढ्ने उमेरमा बिहे गरेका कारण घरखर्च धान्न मुस्किल भयो। उनका पति रोजगारीका लागि विदेश गए।
घर व्यवहारमा पोख्त नहुँदा परिवारले सुमित्रालाई हेला गर्यो। परिवारसँग मिलेर बस्ने अवस्था नभएपछि दूधे बच्चा बोकेर सुमित्रा माइतीको शरणमा गइन्। सुमित्रा भन्छिन्, ‘हतारमै बिहे गरिएछ, न पढ्न पाएँ न त प्रेम नै सफल भयो।’ माइतीमा बसेर घरमा बेवास्ता गरेको भन्दै विदेशबाट फर्केर उनका पति उमेश परियारले पनि दोस्रो बिहे गरे। सुमित्रा भने काखको बच्चासहित माइतीमा अलपत्र परेकी छन्।
कलिलैमा बिहे गरेका कारण यो जोडीको प्रेम मात्र होइन, धेरै सपना र खुसी लुटिएका छन्। पढ्ने बेलामा भागेर बिहे गर्दा जीवन नै बर्बाद भएको सुमित्राले दुखेसो पोखिन्। उमेर नपुग्दै बिहे गर्दा पछुताएका जोडी धेरै छन्। हतारमा बिहे गरेका कारण अधिकांशको पढाइ बीचमै अलपत्र परेको छ। अर्कोतर्फ परिवार पनि टुक्रिएका छन्। हतारमा बिहे गर्ने र विस्तारै व्यवहारमा परिपक्व हुँदै गएपछि सम्वन्धबिच्छेद गर्ने क्रम बढेको छ। जिल्ला अदालत सुर्खेतको तथ्यांकले पनि बालविवाह गर्नेहरू नै सम्बन्धविच्छेदका लागि धाउने गरेको देखाएको हो।
बीचमै छुट्यो पढाइ
बालविवाहका कारण धेरैको पढाइ बीचमै छुटेको छ। विद्यालयमा पढ्दापढ्दै बिहे गरेका कारण घरव्यवहारमा व्यस्त हुनुपर्ने बाध्यताले पनि अधिकांशको पढाइ अधुरो भएको हो। उमेर नपुग्दै बिहे गरेका किशोरी आमा बन्ने र किशोरहरू रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यताले पनि उनीहरूको पढाइ बीचमै रोकिएको छ।
बराहताल–७ स्थित नेरामाविमा कक्षा ९ मा पढ्दै गर्दा बिहे गरेकी कमला सिंजालीको सरकारी जागिर खाने रहर थियो। तर, १४ वर्षमै उनले भागेर बिहे गरिन्। आर्थिक अभावका कारण परिवारले स्कुल छाडेर घरको काममा लगाए। अहिले दुई सन्तानकी आमा बनेकी कमला भन्छिन्, ‘उसबेला बिहे नै सबथोक लाग्यो, पढ्ने उमेरमा घरको काममा व्यस्त भएँ। चाहेर पनि पढ्न पाइनँ, मेरो पढेर जागिर खाने रहर अधुरो रह्यो।’
बालिकाको स्वास्थ्यमा समस्या
कलिलै उमेरमा बिहे गर्दा बालिकाको स्वास्थ्यमा समस्या देखिएको छ। शारीरिक रूपमा परिपक्व नहुँदै सन्तान जन्माउँदा उनीहरूको ज्यानसमेत जोखिममा पर्ने गरेको छ। अधिकांश बालिकामा पाठेघर खस्ने समस्या देखिएको छ। सानैमा बुहारीको भूमिकामा परिवारको बोझ थेग्नुपर्ने बाध्यताले पनि बालिका मानसिक रूपमा पीडित बन्ने गरेका छन्।
१६ वर्षको उमेरमै आमा बनेकी सुमित्रा भन्छिन्, ‘सुत्केरी भएका बेला पनि आराम गर्न पाइएन, बुहारी भएपछि घाँस–दाउरा बोक्नै प¥यो। कामले गर्दा रगत बग्ने र पेट दुख्ने समस्या देखियो, आराम गर्ने त कुरै भएन।’ हेरचाह नपुगेर पहिलो सन्तान खेर गएको उनले बताइन्। ‘गर्भवती अवस्थामा स्याहार पाइएन’, कमलाले भनिन्, ‘अहिले पाठेघरमा समस्या देखिएको छ, रगत बग्न छाडेको छैन।’
हरायो अभियान
बालविवाहविरुद्ध जिल्लामा पाँच वर्षसम्म ठूलै अभियान सञ्चालन भयो। तामझाम गर्दै जिल्लाका तत्कालीन दर्जनभन्दा बढी गाविस बालविवाहमुक्त घोषणा गरिए। अभियानकै क्रममा उमेर नपुग्दै बिहे गर्ने कलिला जोडी बिहेको जग्गेबाटै खोसिए। तर, जिल्लालाई नै बालविवाहमुक्त घोषणा गर्ने उद्देश्यसहित सुरु भएको उक्त अभियान अलपत्र छ।
आर्थिक सहयोग गर्दै आएको दातृ निकाय सेभ द चिल्ड्रेनले हात झिकेपछि अभियान नै हराएको हो।