एल क्लासिको : रियल मड्रिडमाथि बार्सिलोनाको गोलबर्षा, स्वारेजको ह्याट्रिक
काठमाडाडौँ : स्टार खेलाडीहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबिनाको एल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको ह्याट्रिक मद्धतमा रियल मड्रिडमाथि ५–१ को जित निकालेको हो ।
क्रिस्टियानो रोनाल्डो यसै सिजन युभेन्ट्स गएपछि अग्रपंक्ति अत्यन्त कमजोर बनेको रियल मड्रिडका लागि एक मात्रै सान्तवना गोल डिफेन्डर मार्सेलोले गरे । पुरै खेल आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाका लागि खेलको ११ औँ मिनेटमा जोर्डी अल्बाको पासमा फिलिपे कोटिन्होले गोल गर्दै १–० को अग्रता दिलाए ।
त्यसपछि मड्रिडको डी बक्स भित्र लुइस स्वारेजलाई लडाइदिँदा भिडियो एसिस्टेन्ट रेफ्रीले पेनाल्टी दिए । त्यसलाई स्वारेजले नै गोलमा परिणत गर्दै अग्रता २–० बनाए । पहिलो हाफ २–० मा टुंगिएको अवस्थामा रियल मड्रिड दोस्रो हाफमा खेलमा फर्किने कोशिश गर्यो । उसका लागि काउन्टर एट्याकमा डिफेन्डर मार्सेलोले गोल गर्दै अग्रता २–१ मा झारे ।
तर, कुममा चोटका कारण मेसीले बेन्चमा बसेर हेरिरहेको खेलमा चम्किने पालो थियो स्वारेजको । उनले खेलको ७५ औँ मिनेटमा सर्जियो रोबर्टोको पासमा हेडबाट गोल गर्दै अग्रता फेरि ३–१ मा पुर्याए ।
बार्सिलोना यतिमै रोकिएन । उसका लागि स्वारेजले नै खेलको ८३ औँ मिनेटमा गोल गर्दै अग्रता ४–१ मा पुर्याए भने व्यक्ति ह्याट्रिक पनि गर्न सफल भए । बार्सिलोनाले फराकिलो अग्रता बनाएपछि छिन्नभिन्न भएको रियलको लाइनअपमाथि अझै दबाब बढ्यो ।
खेलको ८४ औँ मिनेटमा मैदान छिरेका अर्ट्युरो भिदालले डेम्बेलेले दिएको उत्कृष्ट क्रस हाइ बललाई शक्तिशाली हेडमार्फत जाली चुमाएपछि बार्सिलोनाले एल क्लासिकोमा ५–१ को शानदार जित निकाल्न सफल भयो ।
यो जितसँगै बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै लिगको पहिलो स्थानमा कायमै छ । पराजित रियल भने १० खेलबाट १४ अंकसहित लिगको नवौँ स्थानमा खुम्चिन बाध्य भएको छ।