बुटवल ब्लास्टर्सको दोस्रो जित
पोखरा : पोखरा प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आइतबार भएको खेलमा एक्सपर्ट धनगढी र बुटवल ब्लास्टर्सले सफलता हात पारेका छन् । एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले हरायो भने बुटवल ब्लास्टर्सले पोखरा पल्टनमाथि ३३ रनको जित हात पार्यो ।
बुटवल ब्लास्टर्सको यो लगातार दोस्रो जित हो । आफ्नो पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले हराएको थियो । पोखरा पल्टनको भने यो पहिलो हार हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।
टस जिती पहिले ब्याटिङ गरेको बुटवल ब्लास्टर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको पोखरा पल्टनले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय १७ रनमात्र बनाउन सक्यो । बुटवल ब्लास्टर्सका लागि भीम सार्कीले ५४ र रोहन मुस्तफाले ४५ रन बनाए । भीमले ४६ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए ।
केवल २० रनको कूल स्कोरमा दुवै ओपनरलाई गुमाएको बुटवल ब्लास्टर्सका लागि भीम र रोहनले ७३ रनको साझेदारी गरे । रोहनले ३५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । कप्तान सोमपाल कामीले पनि रनआउट भई पेभेलियन फर्किनुअघि आठ बलमा एक छक्का र दुई चौकाको मद्दतले २२ रन बटुले । सिद्धान्त लोहनीले टोलीको खातामा १३ रन थपे ।
पोखरा पल्टनका बलर मोहम्मद नाभिदले तीन विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको पोखरा पल्टनका लागि ओपनर आसिफ शेखले सर्वाधिक २० रन बनाए । कप्तान शरद भेषावकर १९ रनमा पेभेलियन फर्किए भने रविइन्दर सिंह र मोहम्मद नाभिदले ११÷११ रन जोडे । रसिद खानले पनि १० रन बटुले । अन्य ब्याट्सम्यानले भने दोहोरो संख्यामा रन बनाउन सकेनन् ।
बुटवल ब्लास्टर्सका बलर सोमपाल कामी, ललित भण्डारी, विपिन खत्री र रोहन मुस्तफाले दुई÷दुई विकेट लिए । अर्को एक विकेट सागर पुनको पोल्टामा पर्यो । उक्त खेलमा रोहन मुस्तफा म्यान अफ दी म्याच घोषित भए । बुटवल ब्लास्टर्स चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुई अंकसहित एक्सपर्ट धनगढी दोस्रो, समान अंक बटुलेको हुलास काठमाडौं रोयल्स तेस्रो र समान अंकसहित पोखरा पल्टन चौथो स्थानमा छन् ।
अर्को खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एक्सपर्ट धनगढीले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको विराटनगर टाइटन्सले १६.४ ओभरमै अलआउट हुनुअघि एक सय चार रनमात्र जोड्न सक्यो । एक्सपर्ट धनगढीका लागि ब्याटिङतर्फ पिटर ट्रेगो र सौरभ खनाल तथा बलिङतर्फ डन लरेन्स र दीपेन्द्रसिंह ऐरीले महŒवपूर्ण योगदान गरे ।
इङ्ल्यान्डका खेलाडी ट्रेगोले ५३ रन बनाए । उनले केवल ३८ बलको सामना गरी चार छक्का र दुई चौका प्रहार गरे । तल्लो क्रमका ब्याट्सम्यान सौरभले ४१ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका सौरभले केवल १३ बलको सामना गरी पाँच छक्का र दुई चौका हिर्काए । कप्तान दीपेन्द्रले १९ बलमा एक छक्का र चार चौकाको मद्दतले २९ रन जोडे ।
रनआउट भई पेभेलियन फर्किनुअघि सन्दीप जोराले १२ रन बटुले भने रोविन क्षेत्रीले १० रन थपे । सन्दीप र रोविन दुवैलाई राजेश पुलामीले रनआउट गराएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो संख्यामा रन बटुल्न सकेनन् । विराटनगर टाइटन्सका बलर जितेन्द्र मुखियाले चार ओभरमा ४९ रन खर्चिएर चार विकेट लिए पनि त्यसले टोलीलाई हारबाट जोगाउन सकेन । किशोर महतो, सुनील धमला, कप्तान सन्दीप लामिछाने र मुहमद जैद आलमले पनि एक÷एक विकेट हात पारे ।
ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको विराटनगर टाइटन्सका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपन सुनील धमलाले सर्वाधिक २१ रन बनाए । अर्का ओपनर प्रदीप ऐरी केवल चार रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएपछि सुनीलले मुहमद जैदसँग ३९ रनको साझेदारी गरे । मुहमद जैद भने १९ रन बनाएर आउट भए ।
एन्ड्र््यु सुबिकसन १८ रनमा पेभेलियन फर्किए भने कप्तान सन्दीप पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । विराटनगर टाइटन्सका अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । एक्सपर्ट धनगढीका बलर डन लरेन्सले चार ओभरमा १७ रन खर्चिएर तीन विकेट लिए । दीपेन्द्र ऐरीले दुई विकेट लिए । पिटर ट्रेगो, कमलसिंह ऐरी र रोविन क्षेत्रीले पनि एक÷एक विकेट हात पारे । उक्त खेलमा एक्सपर्ट धनगढीका पिटर ट्रेगो म्यान अफ दी म्याच घोषित भए ।
जारी प्रतियोगितामा विराटनगर टाइटन्सको यो लगातार दोस्रो हार हो । दुई खेल खेलेको धनगढी एक्सपर्टको भने यो पहिलो जित हो । यसअघि पहिलो खेलमा धनगढी एक्सपर्टलाई हुलास काठमाडौं रोयल्सले पराजित गरेको थियो । सोमबारको खेल विराटनगर टाइटन्स र हुलास काठमाडौं रोयल्स तथा चितवन राइनोज र पोखरा पल्टनबीच हुनेछ ।