लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा मृत्यु
काठमाडौँ: इङ्गलिस प्रिमियर लिग पूर्वच्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे स्टेडियम नजिकै भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गएको छ ।
शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तरगत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर तत्कालै खसेको थियो ।
किङ पावर स्टेडियमको कार पार्किङ क्षेत्रमा खसेपछि हेलिकोप्टरमा आगो लागेको थियो । त्यही क्रममा सन् १९५८ मा जन्मिएका थाई नागरिक बिचाईसहित पाँचजनाको ज्यान गएको पुष्टि लेस्टर सिटीले पनि गरेको छ ।
शनिबार राति हेलिकोप्टर दुर्घटना भएको थाहा पाएपछि लेस्टरका लेस्टरका गोलरक्षक क्यास्पर स्माइकलसहितका खेलाडीहरू कार पार्किङतिर कुदेका थिए ।
यो क्लबलाई थाई नागरिक विचाई श्रीवादधानप्रभाले सन् २००९ मा किनेका थिए । त्यसपछि क्लबले सफलता हात पार्दै गएको थियो । लेस्टरले सन् २०१५र०१६ को सिजनमा बलिया क्लबहरूलाई पछि पार्दै इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको थियो ।