अस्पतालको शैयाबाट प्रधानमन्त्रीले भने, 'म ठीक छु'
काठमाडौं: अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको नेताहरुसँग बताएका छन्। ओलीको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललार्इ प्रधानमन्त्री ओलीले आफू ठीकठाक रहेको बताएका हुन्।
प्रधानमन्त्रीको स्थिति बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले 'म ठिक छु' भनेको बताए। अस्वस्थ्य प्रधानमन्त्रीलार्इ भेट्न नेता नेपालसँगै अन्य नेता कार्यकर्ता अस्पताल पुगेका छन्।
ओली सोमबार बिहान ४ बजेदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले भार्ना भएका छन्। उनको छातीमा संक्रमण देखिएको र शरीरमा चीनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएको छ।
अस्पतालका अनुसार यसबाहेक प्रधानमन्त्रीको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रधानमन्त्री ओली मौसमी रुघाखोकी र ज्वरोकाका कारण शुक्रबारदेखि नै बिरामी थिए।