जिरीमा गाईको आनुवांशिक स्रोत केन्द्र स्थापना
चरिकोट : दोलखाको पूर्वी जिरी पशु विकास फार्मलाई चालु आर्थिक वर्षदेखि गाई आनुवांशिक स्रोत केन्द्रका रूपमा विकास गरिएको छ। जर्सी गाईका नश्ल सुधार गरी उत्पादन गर्न पशु फार्मलाई गाई आनुवांशिक केन्द्रको रूपमा विकास गरिएको हो।
जिरी पशु विकास फार्ममा विशेषगरी जर्सी गाईको उन्नत नश्लका बाच्छा बाच्छी उत्पादन गर्ने गरिएको जिरी गाई आनुवाशिंक केन्द्रका नायव पशुसेवा प्राविधिक रामकृष्ण भण्डारीले बताए। उनका अनुसार, स्रोत केन्द्रमा गाईको जेनेटिक लगायतका सबै अध्ययन, अनुसन्धान र नश्ल सुधार लगायतका काम गरिनेछ। आनुवांशिक स्रोत केन्द्रमा सरकारको पशु सेवा विभागअन्तर्गत गाई, बंगुर लगायतका पशुको अध्ययन, अनुसन्धान र नश्ल सुधारको काम हुने सोत केन्द्रले जनाएको छ। हाल केन्द्रमा दुहुनो र थारो गरी सयभन्दा बढी जर्सी गाई छन्।
केन्द्रले उन्नत जातका बंगुरका पाठा–पाठी पनि उत्पादन गर्ने गरेको भण्डारीले बताए। स्रोत केन्द्रमा ड्यूरेक, योर्कसायर, लेन्डरेस जातका बंगुरका शुद्ध नश्लका पाठा पाठी उत्पादन हुने गरेको छ। दूध तथा मासुका लागि पालिने जनावरलाई सुख्खा महिनामा अत्यन्तै लाभकारी मानिने पोषणयुक्त जमारे घाँसको उत्पादन पनि यसै वर्षबाट उत्पादन गर्ने तयारी गरिरहेको स्रोत केन्द्रले जनाएको छ।
दोलखा जिल्लाको पर्यटकीय सहर जिरीका लिंकन बजारनजिक करिब ५६ वर्षअघि करिब एक हजार सात सय रोपनीमा स्थापना गरिएको पशु विकास फार्मलाई पशु स्रोत केन्द्रको रूपमा स्थापना गर्नु पर्नेमा पशु विज्ञहरूले माग गर्दै आएका थिए। करिब एक हजार ६ सय रोपनी चरन क्षेत्रसमेत रहेको स्रोत केन्द्रमा पाँच सयसम्म गाई तथा त्यत्तिकै संख्यामा बंगुर पालन गर्न सकिने क्षमता रहेको स्रोत केन्द्रले जनाएको छ।